|

विराटनगर : मोरङको लेटाङमा महिला प्रहरीको हत्या आरोपमा एक महिलासहित २० जना पक्राउ परेका छन्।

पहिलो चरणमा ९ र पछि थप ११ जना गरी प्रहरीले मोरङ अदालतमा २० जनालाई ‘कर्तव्‍य ज्यान मुद्दामा’ म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ अदालतले जनाएको छ।

चैत ६ गते मोरङको लेटाङमा प्रहरी र स्थानीयवासीको झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो।

सोही घटनामा  संलग्न भएको लेटाङ नगरपालिका ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन्।

यस्तै, मिक्लाजुङ गाउँपालिका २ घर भइ लेटाङ ५ का २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बु, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।  घटनाको अनुसन्धान भइरहेको  र अहिलेसम्म २० जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसिले जानकारी दिए।

महिला प्रहरीको ज्यानै जाने गरी भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ।

प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गरि घटनाको अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। अहिले यस घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका  डिएसपी मन्जिल मुकारुङ सहितका प्रहरीका अधिकारीहरूले अनुसन्धान गर्दै आएको छ।

यस घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले  एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.