दुई करोड मतपत्र छाप्नु पर्ने, ४५ लाख पुस्तक छाप्नै बाँकी

|

काठमाडौं : सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यतिखेर नयाँ पाठ्यपुस्तक छापिरहेको छ। लिमिटेडका अनुसार हालसम्म एक करोड ५५ लाख थान नयाँ पुस्तक छापि सकिएको छ भने ४५ लाख थान अझै छाप्न बाँकी छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी जेठ १ बाट पठनपाठन थाल्नू भनिसकेको छ। नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा समयमै पुस्तक छापेर विद्यालयमा पठाइसक्नुपर्ने दबाब लिमिटेडलाई छ।

यही बेला निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई नै दिएको छ। त्यसैले यतिबेला मतपत्र र पाठ्यपुस्तक दुवै समयमा छाप्नुपर्ने चटारो जनक शिक्षालाई छ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते सबै ७ सय ५३ वटै स्थानीय तहमा एकै चरणमा हुँदै छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार भएको पत्रकार सम्मेलनमा आवश्यक पर्ने सबै मतपत्र जनक शिक्षाले छपाइ गर्नेगरि आयोगबाट गत चैत ११ गते नै निर्णय भइसकेको जानकारी दिए।

उनका अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता कायम भएको छ। त्यसका लागि करिब २ करोड मतपत्र छाप्नु पर्नेछ। ‘डिजाइन आज भोलिमा कम्प्लिट हुन्छ, छपाई एक-दुई दिनमा थालिन्छ,’ उनले भने।

उनले छपाइका लागि पूर्वाधार आवश्यक तयारी अवस्थामा राख्न जनक शिक्षालाई निर्देशन दिइएको बताए। तर जनक शिक्षाका अधिकारीहरू भने मतपत्र छाप्न नभ्याइने हो कि भन्ने चिन्तामा छन्। 

आयोगमा मंगलबार भएको छलफलमा जनक शिक्षाका अधिकारीहरू समयमै मतपत्र छापिसक्नेमा ढुक्क देखिएनन्। 'उहाँहरु समयमै मतपत्रको छपाई सकिन्न कि भन्नेमा चिन्तित हुनुहुन्थ्यो', आयोग उच्च स्रोतले भन्यो। 

यही चैत १७ गते नमुना मतपत्र छाप्ने आयोगको तयारी छ। दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्रको छपाइ सक्ने आयोगको लक्ष्य छ। 

त्यसो हुँदा जनक शिक्षाले मतपत्र छपाइका लागि पुग नपुग एक महिना समय पाउनेछ। यो बीचमा आयोगले दैनिक झण्डै ७ लाखका दरले मतपत्र छाप्नुपर्ने हुन्छ।

के भन्छ जनक शिक्षा ? 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्य भने मतपत्र छपाइ र पुस्तक छपाइमा केही समस्या नआउने बताए। उनले भने, ‘मतपत्र छाप्न केही समस्या छैन, समयमै छाप्छौँ।’ उनले आवश्यक पर्ने जनशक्ति र पूर्वाधार पनि रहेको बताए।

उनका अनुसार मतपत्र छाप्ने ९ वटा मेसिन छन्। कर्मचारी अस्थायी र स्थायी गरि करिब ५ सय छन्।

‘हामीसँग दैनिक एक लाख किताब छाप्ने क्षमता छ, मतपत्र त पेजमा छापिने हो, यसको लागि हामी दैनिक ९ देखि १० लाख पेजसम्म छाप्न सक्छौँ, त्यसैले आयोगलाई चाहिने सबै मतपत्र छाप्न सक्छौँ, केही समस्या हुन्न,’ उनले भने।

आयोगले मतपत्रकाे डिजाइन फाइनल गरेपछि छाप्न शुरु गर्ने उनकाे भनाइ छ।

आयोग भन्छ : हामीलाई समयमा मतपत्र चाहिन्छ,अरु सरोकार छैन

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल मतपत्र छाप्न जनक शिक्षालाई समस्या पर्न सक्ने देखिए पनि आवश्यक पूर्वाधार थप गरेर छाप्नै पर्ने भएको बताउँछन्।

‘डिजाइन अनुसार कोही मतपत्र ठूला छाप्नु पर्छ होला, कुनै साना, त्यहीअनुसार मेसिनहरु पनि आवश्यक पर्छ, यस्तोमा केही समस्या पर्ला, तर जनक शिक्षाले सक्ने भएर नै दिएको होला, यस विषयमा प्रवक्तासँग नै बुझ्नुस न,’ उनले भने।

 आयोगका प्रवक्ता पौडेलले भने जनक शिक्षालाई छाप्न समस्या पर्ने र नपर्ने भन्ने विषयमा आयोगको कुनै सरोकार नरहेको तर्क गरे।

‘हामीले जनशक्ति तयार पार्न निर्देशन दिइसकेका छौँ, जनक शिक्षाले 'ओके' भनेपछि समयमा मतपत्र छापि सक्नुपर्छ', उनले थाहाखबरसँग भने, 'पाठ्यपुस्तक समयमा सकिएला नसकिएला त्यो हामीले हेर्ने होइन, हामीलाई समयमा मतपत्र चाहिन्छ।’

उनले मतपत्रको डिजाइन एक दुई दिनमा फाइनल गर्ने र लगत्तै छाप्न शुरु हुने बताए।

‘बाँकी सबै पुस्तक समयमा छापिसक्छौँ’

जनक शिक्षाका सूचना अधिकारी आचार्यले भने समयमै बाँकी नयाँ पाठ्यपुस्तक पनि छापिसक्ने दाबी गरे। ‘जेठबाट पठनपाठन हुने हो, यो समय अगाडि नै छापिसक्छौँ,’ उनले भने।

उनले समयमै सम्बन्धित ठाउँमा पाठ्यपुस्तक पुर्‍याउने पनि दाबी गरे। उनका अनुसार जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालय छ। यहाँ छापिएका पुस्तक त्यहाँ पठाएपछि ती कार्यालयले सम्बन्धित ठाउँमा वितरण गर्ने गरेको उनले बताए।

उनका अनुसार कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगिन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) पुस्तक छापिँदै आएको छ। 

जनक शिक्षाले बर्सेनि समयमै पाठ्यपुस्तक पुर्‍याउने दाबी गर्दै आए पनि शैक्षिक सत्र सकिन लाग्दा समेत पुस्तक नपाएको धेरै विद्यार्थीको अनुभव छ। यसपटक सबै स्रोतसाधन र जनशक्ति मतपत्र छपाइमा केन्द्रित गर्नुपर्ने भएकाले यो समस्या दोहाेरिन सक्ने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.