|
बझाङको जयपृथ्वी नगरपालिका कार्यालयको फाइल तस्वीर

बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले भर्ना गरेको नगर प्रहरीको छनोटमा निष्पक्षता नभएको भन्दै परीक्षार्थीले फेरि छनोट गर्न माग गरेका छन्। जयपृथ्वी नगरपालिकाले सोमबार छनोट भएका नगर प्रहरीको नामावली सार्वजनिक गरेको थियो।

परीक्षार्थीहरूले उक्त नामावलीमा नगरपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारीका आफन्त तथा नातेदार मात्र छनोट गरेको र भर्ना प्रक्रियामा जनप्रतिनिधिले नातावाद हाबी हुनेगरी छनोट गरेको भन्दै विरोध गरेको परीक्षार्थीमध्येका एक कलक खड्काले बताए। नगर प्रहरीका लागि आवेदन पेश गरेका १९ जना परीक्षार्थीले मंगलबार निष्पक्ष छनोट गर्न माग राख्दै हस्ताक्षरसहितको निवेदन जयपृथ्वी नगरपालिकामा पेश गरेका छन्।

उक्त निवेदनमा परीक्षाको नतिजा तथा नगर प्रहरीको छनोट प्रक्रिया दोहोर्‍याउन उनीहरूले माग गरेका छन्। नगर प्रहरीमा नाम निकालेकाहरूमा १ जना नगरपालिकाका सहायक अधिकृतका आफन्त रहेको आरोप छ। १ जना मेयरका छोरा र १ जना उपमेयरका आफन्त रहेको परीक्षार्थीहरूले बताएका छन्।

पुनः छनोट गर्न दिएको निवेदनमाथि छलफल नगरी अहिले छनोट गरिएकामाथि छानबिन नगरी वा नगर प्रहरीमा निष्पक्ष छनोट नगरेमा आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। नगर प्रहरीमा १२ जना छनोट गरिएको छ। जसमा नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरूका आफन्तहरु परेको भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ।

जनप्रतिनिधिहरूले नै आफ्नो कार्यकाल सकिन लाग्दा नगरपालिकामा आफन्तलाई भर्ती गरेको आरोप स्थानीयले लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.