६ दिनसम्म विद्यालय बन्द, अभिभावक आक्रोशित
६ दिनसम्म विद्यालय बन्द, अभिभावक आक्रोशित
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। परीक्षा आउन अब २२ दिनमात्र बाँकी छ। परिक्षार्थीहरू यो वेला परीक्षाको तयारी धमाधम गरिरहेकै छन्।
तर यही वेला शिक्षक सेवा आयोगको परीक्षाका कारण कतिपय विद्यालय बन्द भएको छ। यसबाट पठनपाठन प्रभावित भएको छ भने परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई समस्या भएको छ।
‘एसइई नजिकिँदै छ, यही वेला एउटा परीक्षाले विद्यालय नै बन्द गरिनु दुःखद हो, ३/४ दिनभन्दा बढी समय विद्यालय बन्द गरिएकाले परीक्षार्थीको परीक्षा तयारीमा असर पुगेको छ,’ नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले भने।
आयोगको मावि तहको परीक्षा मंगलबार शुरु भएको छ। यही परीक्षा दिन करारका शिक्षक आ–आफ्नो परीक्षा केन्द्रमा गएका छन्। त्यही कारण विद्यालय नै बन्द गरिएको हो। रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पटनादेवी मावि र चण्डेश्वरी माविमा यतिखेर पठनपाठन ठप्प छ।
६ दिन विद्यालय बन्द, अभिभावक आक्रोशित
शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले गत ११ गते नै आयोगबाट मावि, निमावि र प्रावि तहको खुला तथा बढुवाको प्रतियोगात्मक परीक्षाका लागि भन्दै सबै स्थानीय तहलाई ६ दिन बिदाको सिफारिश गरिसकेको थियो।
चैत १३ गतेदेखि १८ गतेसम्म आगामी वर्षे बिदाबाट अनिवार्य रुपमा कट्टा हुने गरि बिदा मिलाइएको सिफारिश पत्रमा उल्लेख छ। शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले पनि ५ दिन सबै स्थानीय तहका विद्यालय बन्दको व्यवस्था मिलाउन गत १३ गते नै सिफारिश गरेको छ।
पर्सा जिल्लाको पोखरिया नगरपालिकाले गत १० गते नै यही परीक्षाका लागि सबै विद्यालय १३ गतेदेखि १८ गतेसम्म बन्द गर्ने भनी सूचना नै जारी गरेको थियो। तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले चैत १० गते सूचना नै जारी गरि सबै शैक्षिक संस्था १३ गतेदेखि १८ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ।
यी मात्र नभई देशभरकै अधिकांश विद्यालय बन्द गरिएको छ, जसको प्रत्यक्ष मार भने विद्यार्थीलाई परेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारी समयमा अहिले जति करार शिक्षक छन्, त्यसमा विज्ञापन गरी स्थायी गरेको भए यसरी पठनपाठन प्रभावित नहुने बताउँछन्।
‘अझै पनि करार कर्मचारीकै भरमा विद्यालय चलेका छन्, अहिले उनीहरू परीक्षा दिन जाँदा यसरी विद्यालय नै बन्द गर्नुपर्छ, समयमा विज्ञापन खोलेर पदपूर्ति गरिए यो समस्या आउँदैनथ्याे, तर मन्त्रालयको पहिलै यसतर्फ सोच पुगेन,’ ती कर्मचारीले भने।
अभिभावक महासंघका अध्यक्ष भण्डारी कहिले लोक सेवा आयोग, कहिले शिक्षा सेवा आयोग त कहिले राजनीतिक कार्यक्रमका कारण विद्यार्थीको पढाइमा असर पुग्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘स्कुलको पढाइमा बाधा पुग्ने गरी कहिलै कार्यक्रम गर्न हुन्न, विकल्प खोज्नुपर्छ, शैक्षिक क्यालेन्डर प्रभावित गर्नु भएन।’
करारका शिक्षक परीक्षा दिन गए पनि विद्यालय बन्द गर्न नमिल्ने उनले बताए। ‘स्कुलको प्रधानाध्यापकलगायत केही शिक्षक त स्थायी हुन्छन् नि, उनीहरूले पढाउनुपर्छ, स्कुल बन्द गर्ने हो र ? नेता आउँदा पनि स्वागत गर्न स्कुल बन्द गर्ने, यस्तै यस्तै कारणले स्कुल बन्द गरियो भने के पढाउने? परिमार्जन गर्दै जान आवश्यक छ,’ आक्रोशित हुँदै उनले भने।
कति छन् देशभर करार र स्थायी शिक्षक ?
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७७ को सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको ७ वटै प्रदेशगत विवरणअनुसार कुल १ लाख ५६ हजार १ सय ७६ जना शिक्षक छन्।
सबै प्रदेशको आधारभूत कक्षा(१–५), आधारभूत कक्षा(६–८), माध्यमिक कक्षा(९–१०), माध्यमिक कक्षा(११–१२) का गरेर स्थानीय शिक्षक १ लाख २३ हजार ६४ जना मात्र छन्। १० हजार ७ सय ७० अस्थायी शिक्षक छन् भने ४३ हजार ४२ जना राहत शिक्षक रहेको तथ्यांकमा उल्लेख छ।
तर यस वर्षको शिक्षकको तथ्यांक र विवरण भने शिक्षा मन्त्रालयसँग छैन। शिक्षक विवरण विकास केन्द्रसँग माग गरेको शिक्षा मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले बताए। ‘हामीले पनि विकास केन्द्रले तथ्यांक दिएपछि मात्र जानकारी पाउँछौं, यस वर्षको विवरण हामीकहाँ आएको छैन, माग गरेका छौँ,’ उनले भने।
यसो भन्छ मन्त्रालय
शिक्षा मन्त्रालयका सहायक प्रवक्ता श्रेष्ठले अहिले बिदा लिएका शिक्षकहरूको वर्षे बिदा कट्टा गरिने बताए। उनले भने, ‘शिक्षकहरूले वर्षमा ४५ दिनसम्म बिदा पाउँछन्, त्यो समयमा पढाउन त्यही बिदा कट्टा गरिन्छ, अब परीक्षा रोक्ने पनि कसरी?’
रिक्त पद पूर्तिका लागि अहिले परीक्षा सञ्चालन भइरहेको उनको भनाइ छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले प्रावि, निमावि र माविको स्थायी शिक्षक पदपूर्तिका लागि १७ हजार ४ सय ५५ जनाको माग गरेको र अहिले त्यसैको परीक्षा सञ्चालन भइरहेको जानकारी दिए।
‘अहिले विज्ञापन जतिको खुलेको हो, त्यति मात्र होला रिक्त पद पनि, त्यही पदपूर्ति गर्न अहिले धमाधम परीक्षा चलेको छ,’ शिक्षामन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक विमल खड्काले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।