वातावरणविद् भन्छन् : हुरी वा वर्षाबिना विषालु तुँवालो हट्दैन

|

काठमाडौं :  विश्वकै प्रदूषित शहरको मापन गर्ने आइक्युएयर डटकमका अनुसार पछिल्ला ३ दिनमा नेपालको राजधानी शहर काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष पाँच शहरमा परिरहेको छ।

कहिले पहिलो त कहिलो दोस्रो तेस्रो अनि चौथो नम्बरमा काठमाडौं घुमिरहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ देखि १ सय ५० माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सलाई अति प्रदूषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदूषण भए खतरनाक परिस्थितिका रूपमा हेरिन्छ।

पछिल्ला ३ दिनमा १ सय ५० देखि १ सय ८२ माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सको मात्रा मापन गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो  खराब सूची हो।

यही कारणले काठमाडौंको आकाश प्रदूषणका कारण धुम्म छ। दिउँसोको समयमा घाम लागे पनि सूर्यको प्रकाश अघिपछि जस्तो चहकिलो देखिएको छैन।

भारतीय सीमा क्षेत्रमा बालीनाली सपार्न बालिएको आगोको धुँवा, नेपालकै विभिन्न जंगलमा लागेको डढेलोबाट निस्किएको धुँवा र भारतको थार मरुभूमिबाट आएको धुलोका कण तथा बंगालको खाडीबाट आएको जलवाष्पले काठमाडौं उपत्यकामा तुवाँलो बढेको विज्ञ तथा मौसमविद्हरुले बताएका छन्।

'सुक्खा समय भएकाले विभिन्न जंगलमा डढेलो लागेको र ती नियन्त्रण गर्न नसक्दा त्यसबाट आएका धुँवा वायुमण्डलमा आएर हावाका माध्यमबाट उपत्यकासम्म आइपुगेको छ', वातावरणविद् एवं राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले भने, 'कचौरा आकारको उपत्यका भएकाले यही प्रदूषण घुमिरहेको छ।' 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका अनुसार भारतको राजस्थान तराई र भारतीय सीमा क्षेत्रका खेतमा लगाउने बाली नाली सपार्न त्यहाँ रहेका अनावश्यक झारपात र सुकेका मकैका बोट आदि जलाउँदा त्यसको धुँवा पनि उपत्यकासम्म आइपुग्ने गरेको छ।

यस्तै, जल तथा मौसम विज्ञान विभागका अनुसार राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थर मरुभूमिबाट आएको धुलो र अहिले बंगालको खाडीबाट आएको जलवाष्पले पनि काठमाडौंको तुवाँलो बन्नमा भूमिका खेलेको हो।

कचौरा आकारको काठमाडौं उपत्यकामा माथि माथि हावा बहने तर तलपट्टि एउटै खाले हावा स्थिर हुने हुँदा तुवाँलोको जोखिम हुने गरेको पाइएको छ।

उचाइ बढेपछि तापक्रम घट्नुपर्नेमा अचेल माथि माथि तापक्रम बढी भएकाले तलबाट गएको वाफ सेलाउन नपाएर त्यत्तिकै धुलो र धुँवासँग रंगिएर तुवाँलो बढी भएको विज्ञहरुले बताएका छन्।

'उचाइ बढेपछि तापक्रम घट्नुपर्ने हो, तर अहिले त जमिनभन्दा माथिल्लो भाग तातो हुन थालेको छ', जल तथा मौसम विज्ञान विभागका पूर्व-महानिर्देशक डा ऋषिराम शर्माले भने, 'कचौरा आकारको उपत्यकामा माथि माथि हावा बहन्छ, तल एउटै खाले हुन्छ।'

प्रदूषण हट्न हुरी वा वर्षा हुनुपर्छ

ठूलो पानी नपरुञ्जेल र आँधी हुरी नआउन्जेल उपत्यकाको प्रदूषण नहट्ने मौससविद् समीर श्रेष्ठ बताउँछन्। 'ठूलो पानी नपरुन्जेल यस्तो भइरहन्छ, आँधी हुरीले उपत्यकामा भएका फोहोर प्रदूषणलाई नहटाउन्जेल तुवाँलो घट्दैन', मौसमविद् श्रेष्ठले भने, 'यसरी तुवाँलो बढ्नुमा सबैभन्दा ठूलो कारण नै प्रदूषण हो।'

कसरी तुवाँलो बढ्छ?

तुवाँलोका कारण घामबाट प्राप्त हुने तापसमेत कमजोर हुन जाने श्रेष्ठको भनाइ छ। 

हावा वा वायुमण्डलमा तैरिएका धुलोका कणहरू तुवाँलो हो।  स्थानीय तवरमा पछिल्लो समय सडक विस्तार अभियानका क्रममा फैलिएको धुलो, पुराना सवारी साधनबाट आएका धुँवा तथा कलकारखाना र उद्योगबाट आएको धुँवा जम्मा भएर पनि तुवाँलो बढ्ने गर्छन्।

विशेषगरी जमिनको पानी तातेर बाफ भएर माथितिर जाने र प्रदूषणका कारण तुवाँलो लाग्ने गरेको विज्ञहरू बताउँछन्।

'एक दिन दुईदिन बिराएर पानी पर्नाले जमिनको पानी माथि आकाशतर्फ बाफ उड्न खोज्दा तुवाँलो लाग्छ', जल तथा मौसम विज्ञान विभागका पूर्व-महानिर्देशक शर्माले भने, 'ससाना धुलाका कणहरू वाफिलो हावामा टाँसिदा पनि तुवाँलो लाग्छ।'

तुवाँलोले गर्दा भिजिविलिटी कमजोर हुन गई हवाई उडानमा समेत समस्या पैदा हुने गरेको उनी बताउँछन्।

स्वास्थ्यमा कस्तो असर?

प्रदूषणबाट बढ्ने तुवाँलोले मानवीय स्वास्थ्यमा समेत गम्भीर असर पर्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्।

'यसले मानवीय स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ, कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड लगायतका ग्यासको संयोजनबाट मिश्रित भएको तुवाँलोले बढी असर गर्छ', छाती रोग विशेषज्ञ डा नीरज बमले भने, 'ब्रोन्काइटिस, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग र मुटुसँग सम्बन्धित रोग लाग्न सक्छ।'

उनका अनुसार प्रदूषणले अल्पकालीन र दीर्घकालीन स्वास्थ्यमा असर पर्न जान्छ। रोगसँग लड्ने प्रतिरोधी क्षमता पनि घट्न सक्छ, दम रोगीलाई बढी असर परेर अक्सिजनको कमी भई बेहोस हुने सम्भावना पनि रहन्छ', उनले भने, 'धुलो फोक्सोबाट रक्तसञ्चार हुँदै अन्य अंगमा पनि पुग्न सक्छ।'

धुलोका कणहरू मिश्रित तुवाँलोले भन्दा उद्योगधन्दा र सवारी साधनबाट आउने धुँवाले बन्ने तुवाँलोले बढी असर गर्ने उनको भनाइ छ। मानिसहरुले   आँखा पोल्ने, नाक सुक्खा हुने र घाँटी खसखसाउने लगायतका समस्या महसुस गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.