|

काठमाडौंः चिसो एष्ट्रेको मदनले जस्तै अभिनेता दिव्य देवले पनि १७ वर्ष अगाडि काठमाडौंमा इन्ट्री हाने। मदन जस्तै उनी पनि काठमाडौंमा आफूले खोजेको गल्ली पहिल्याउन नसकेर धेरै समय रुमल्लिरहे। मदन पात्र मार्फत बाहिरबाट काठमाडौं छिर्ने धेरै युवाहरूको कथा भनेका दिव्य देवले मदनमा आफ्नै कथा पनि मिसाएका छन्। 

उनले भेटेको एउटा गल्ली नाटक घरसम्म गयो। उनलाई आफूले खोजेको गल्ली भेटे जस्तो लाग्यो। अभिनयको कखरा त्यतै सिके। नाटकघरसँग उनको छुट्टै लगाव छ। समय समयमा नाटक गर्न नपाए उनलाई केही छुटे जस्तो लाग्छ। उनी भन्छन्, ‘जे छु, जति सिकेको छु थिएटरबाटै सिकेको छु। अहिले पनि वर्षमा एउटा दुई वटा नाटक गर्न नपाउँदा इनकम्प्लिट जस्तो फिल  हुन्छ।’ 

दुई दर्जन नाटक र केही फिल्ममा अभिनय गरिसकेका उनलाई चिसो एष्ट्रेले धेरै सम्भावना भएको अभिनेताको रुपमा स्थापित गरिदिएको छ। उनी अभिनित तीन फिल्म राधा, हिजो आजका कुरा र रुदाने प्रदर्शन हुन बाँकी छन्। त्यसअघि एउटा नाटक मञ्चनको तयारीमा उनी छन्। 

चिसो एष्ट्रेले समीक्षक, फिल्मकर्मी तथा फिल्म हेरेका दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाए पनि व्यवसायिक रुपमा भने त्यति राम्रो प्रदर्शन गर्न सकेन। तर, भूपी शेरचनको कवितामा आधारित फिल्मले मेकिङ तथा निर्देशक, कलाकारको प्रस्तुतिमा एउटा उदाहरण चाहिँ बनेको छ। 

चिसो एष्ट्रेमा उनले निभाएको पात्र, पात्रले लिएर अनि दिएर जाने कुरा, अभिनय लगायतका विषयमा दिव्य देवसँग गरिएको कुराकानीको सम्पादित अंशः

मदनको तयारी 

मदन मेरो व्यक्तिगत जीवनसँग पनि मेल खाने पात्र थियो। घटनाहरू त फरक फरक छ तर ट्रान्सफर्मेसन, एसेन्स उस्तै हो। त्यसैले मदनलाई बुझ्न धेरै समय लागेन। तर, पोट्रे गर्दा कसरी गर्ने भन्नेमा सुरुको हप्ता अलिकति कन्फ्यूजन थियो। त्यो हट्दै गयो

यसमा आफ्नो कथासँग मेल खाने भएर पनि छुट्टै क्यारेक्टराइजेसन गर्नु परेन। निर्देशकले पनि तिमी आफ्नो फेजहरू सम्झ तिमी तिमी नै बन्देउ न भने। त्यसपछि आफ्नै कथाका भाव मिसाउँदै सजिलोसँग काम गरियो। 

चिसाे एष्ट्रेपछिकाे दाैडधुप

यो एकदमै नयाँ अनुभव। मैले इन्जोए नगरेको होइन यसलाई नेगेटिभली लिएको पनि होइन। यो पार्ट अफ द बिजनेस हो। तर एउटा पोइन्टमा आएपछि आफैलाई पनि एउटै कुरा रिपिट गरे जस्तो हुने रहेछ। 

रिलिज अघिसम्म  यो सब कुरा ब्याक अफ द हेड थियाे। धेरै नयाँ अडियन्ससम्म जाँदैछु भनेर एक किसिमको उत्साह पनि थियो। तर रिपिटेड्ली त्यही भइराखेपछि धेरै गर्न नसकिने रहेछ फिल भएको छ।

थिएटरमा ग्राउन्डेड भएर काम गर्छौँ। अर्काको कथा सुन्ने सुनाउने काम हुन्छ। मिडियाको त्यतिधेरै अटेन्सन हुँदैन। अनि हामीलाई ओहो! आफ्नो कुरा मात्रै कति धेरै गरेको भन्ने लाग्ने रहेछ। बानी नभएर होला। बरु काम नै गर्न पाए हुन्थ्यो, स्टेजमै गएर बोल्न पाए हुन्थ्यो भन्ने लाग्ने रहेछ। 

दर्शक प्रतिक्रिया

यसपाली पनि नचिनिने गरी अडियन्ससँग बसेर फिल्म हेरेको थिएँ। मेरो सिन आउँदा अडियन्सहरू कनेक्ट गरिरहनु भएको थियो। फिल्म हेर्ने अरु दर्शकले पनि कामको तारिफ नै गर्नुभएको छ। 

त्यसले अलि इमोसनल फिल हुँदो रहेछ। मैले त अगाडि नै छ्या भनेको पनि सुनेको हो नि त। आखिर एउटा एक्टरले चाहने भनेको आफूले गरेको कामसँग अडियन्स कनेक्ट भइदियोस् भन्ने न हो। ताली पनि पछिको कुरा हो। अडियन्स कनेक्ट भइदिनु, त्यो कुरालाई पत्याइदिनु, त्यो क्यारेक्टरमा आफू पाइदिनु, त्यो जर्निलाई बुझिदिनु नै हाम्रो सफलता हो। हामीले मेहनत गर्ने नै त्यसकै लागि त हो। 

क्यारेक्टर समात्ने र छोड्ने प्रोसेस

क्यारेक्टर वील्डअप गर्नेदेखि पफर्म गर्ने बेलासम्म यति इनर्जी खर्च हुन्छ काम सकिसक्दा इनर्जी पनि सकिन्छ। मैले फिल्म या नाटक सकिने बित्तिकै क्यारेक्टर पनि त्यहीँ छाड्ने गर्छु। एउटा काम गरिसकेपछि केही बानी व्यहोराहरु मेन्टल्ली रहन्छ नरहने होइन। साइकोलोजिकल्ली त्यहाँबाट निस्किन केही समय त लाग्छ। तर, मेरो इमोसनल एट्याचमेन्ट भने रहँदैन। नेक्स्ट के हो भन्ने कुराले नै मलाई सँधै एक्साइट गर्छ। 

पात्रकाे क्षमता

केही पात्रले एउटा एक्टरलाई नै बदल्ने क्षमता राख्छन्। थिएटरमा मैले अहिलेसम्म २४/२५ वटा नाटक गरेँ हुँला। सबैले त भन्दिन तर केही क्यारेक्टरहरूले केही न केही दिएर जाने, केही न केही लिएर जाने हुन्छ। मेरो जीवन प्रतिको बुझाइ, मेरो व्यक्तित्व सबै कुराहरूमा क्यारेक्टरहरूले प्रभाव छोड्दै छोड्दै गएका छन्। त्यो भएन भने मजा पनि आउँदैन। 

मेराे पहिले पात्रको भित्री संसार बनाएर त्यसको माग अनुसार बाहिरको काम गर्ने बानी छ। कुनै क्यारेक्टर डेभलप गर्दा पहिले म त्यसको आत्मा र माइन्डमा क्लियारिटी खोज्छु। त्यसले गर्दा पनि काम गर्दा अलि डिप नै गइन्छ। गहिराइमै नगएर पनि धेरै काम गरिएको छ। पात्रको गहिराइमा पुगेर गरेको काम र सतही रुपमा गरेको काममा फरक छुट्टिहाल्छ।

अहिले पनि अफरहरू आइरहेका छन्। त्यसमा गहनता भएन अथवा त्यसले तानेन भने एक्साइटमेन्ट नै नआउने रहेछ। त्यो नाटकले गर्दा पनि हुन सक्छ। मैले गरेका सबै जसो नाटक गहन विषय बोकेका, संसारभर धेरै पटक देखाइएका, मन पराइएका नाटक छन्। त्यही कुरा यता फिल्ममा अपेक्षा गर्दा डिसपोइन्ट भइँदो रहेछ। ​

अभिनय, अभिनेता र अभिव्यक्ति

अभिनय एउटा एक्टरको अभिव्यक्तिको माध्यम हो। एउटै क्यारेक्टरलाई लेखकले कसरी लेखेको छ, डिरेक्टरले के देखेको छ भन्ने कुरा फरक एक्टरले फरक तरिकाले गर्छन्। त्यो एक्टरको अभिव्यक्ति हो। नत्र त त्यो रोललाई सबैले एउटै तरिकाले गर्थे होला।

कुनै क्यारेक्टर लिँदा त्यहाँ एक्टरको व्यक्तित्व, उसको सोचाइ, उसको भोगाइ, उसका अनुभवहरू सबै जोडिएर आएको हुन्छ। लेखेको अरु कसैले होला, बोलेका शब्द अरुका होलान् तर शब्द कसरी बोल्छ, त्यसले दर्शकलाई कुन फिल जेनेरेट गर्छ भन्ने एक्टरमा भर पर्ने कुरा हो। एक्टरलाई महत्व  दिनुको कारण पनि त्यही नै हो। 

अर्काे कुरा अभिव्यक्तिलाई कसरी बुझ्ने भन्ने पनि हो। केही लेख्नु, केही बोल्नु, आफ्नो विचार राख्नु मात्रै अभिव्यक्ति हो कि त्यो विचारमाथि रंग छर्नु, आफ्नो प्रभाव छोड्नु पनि अभिव्यक्ति हो भन्ने कुरा हो।

ह्यामलेट अहिलेसम्म हजारौँ पटक पफर्म भएको छ। कथा थाहा छ, डाइलग कण्ठ छ तर पनि मानिसहरू किन हेर्न जान्छन्? मानिसहरू त्यो एक्टरको अभिव्यक्ति हेर्न जान्छन्। 

कविता लेख्नु, विचार पोख्नु, बोल्नु एउटा हार्ड फर्म अफ अभिव्यक्ति भयो भने अभिनयलाई अभिव्यक्तिको सफ्ट फर्म मान्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.