प्रत्येक तीन महिनामा बिरामीको बैंक खातामै रकम जम्मा हुने

|

काठमाडौं : सरकारले गम्भीर प्रकारका दीर्घ रोग (मिर्गौलासम्बन्धी, क्यान्सर र मेरुदण्डको पक्षघात) का बिरामीलाई मासिक ५ हजार रूपैयाँ दिने निर्णय गरेको छ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि बनाएर पारित गरिसकेको छ। यो कार्यविधि पारित भएसँगै अब मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएर उपचार गराइरहेका बिरामीले यही महिनादेखि मासिक ५ हजार पाउने भएका छन्। यसका लागि मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका सरकारलाई परिपत्र गरिसकेको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले १३ चैतमा मन्त्रालयले तयार पारेको ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउने कार्यविधि – २०७८’ स्विकृत गरेका थिए। यो कार्यक्रमका लागि १ अर्ब ४५ करोड रकम छुट्याइएको छ।

 यसअघि पनि २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री रहेको र दिपक बोहोरा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएको बेला मिर्गौला, क्यान्सर रोग,स्पाइनल प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन भत्ता उपलव्ध गराउनेसम्बन्धी कार्यविधि २०७४ जारी गर्दै मासिक ५ हजार रूपैयाँ दिने निर्णय गरेको थियो।

सोहीअनुसार तत्कालीन समयमा  देउवाले राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर यो कार्यक्रम शुभारम्भसमेत गरेका थिए। तर त्यसपछिको निर्वाचनपश्चात बनेका कुनै पनि सरकारले यो कार्यक्रमलाई निरन्तरता दिएका थिएनन्। अहिले २०७४ सालको सो कार्यविधि खारेज गरेर नयाँ कार्यविधि ल्याएर सोही कार्यक्रमलाई पुनः शुरु गरिएको छ।

कसरी पाइन्छ?

मन्त्रालयले तयार पारेको कार्यविधिमा मासिक ५ हजार पाउने बिरामीले राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकको सिफारिश, मेरूदण्ड पक्षाघातको हकमा अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनु पर्नेछ। वडा कार्यालयले प्रमाणित गरेपछि बैंकमार्फत बिरामीले रकम पाउनेछन्। यसरी रकम पाउने बिरामीको विवरण भने हरेक स्थानीय तहले राख्नु पर्नेछ।

३/३ महिनामा बैंक खातामा रकम जम्मा हुने

कार्यविधिअनुसार सरकारले तोकेको मासिक ५ हजार रूपैयाँ बिरामीका लागि बैकिङ प्रणालीबाट भुक्तानी गरिनेछ। चिकित्सकको निरन्तर निगरानीमा रहेका बिरामीहरुलाई हरेक ३/३ महिनाको अन्तिम दिन स्थानीय तहले उक्त रकम पाउने बिरामीको बैंक खातामा रकम जम्मा गरिदिनेछ।

यस्ता बिरामीले पाउने छैनन् रकम

सरकारले तयार पारेको कार्यविधिमा मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएर निरन्तर चिकित्सकको निगरानीमा रहेको भए पनि केही बिरामीले भने सो रकम पाउने छैनन्। जसमा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन, संस्थाबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी पेन्सन प्राप्त गरिरहेको व्यक्ति, विदेशी सरकारबाट पेन्सन खाइरहेका तथा रोजगारी गरिरहेकाले पनि यो मासिक उपचार खर्च नपाउने कार्यविधिमा उल्लेख छ।

सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपांग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एउटा रोज्नुपर्नेछ भने एकै बिरामीलाई मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात रोग एकै पटक लागिरहेको छ भने पनि दोहारो भत्ता पाउने छैनन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.