|

म्याग्दी : विदेश गएर मनग्ये कमाएका पनि धेरै छन् त  कतै रित्तै हात फर्केर गाउँमै व्यवसायको थालनी गरेका पनि प्रशस्तै भेटिन्छन्।

तर, विेदशबाट ऋण बोकेर गाउँ फर्किएका यहाँका केही व्यक्तिहरुले भने नपत्याउँदो प्रगति गरेका छन्। ती व्यक्ति मध्येका प्रतिनिधिमूलक व्यक्तिहरु हुन् बेनी नगरपालिका–३,भकिम्लीका धनबहादुर श्रीष र बेनपा–६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल।

भकिम्लीका श्रीषको बाख्रा फार्ममा साढे ३ लाख मूल्य पर्ने बोएर बोका छ। दुईवटा गोठमा खैरो र सेतो रङ मिसिएको बोका, बाख्रा र पाठापाठीको बजार मूल्य १ करोडभन्दा बढी छ।

श्रीष पशुपालन तथा बहुद्देश्यीय कृषि फार्ममा शतप्रशित शुद्ध बोएर बाख्रा मात्रै छन्। एकदशक अगाडि खाडीबाट फर्किंदा बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष रित्तै थिए।

उनले अन्तराष्ट्रिय ढुवानीमा काम गर्दा समेत कमाई गर्न सकेनन्। विदेशको धनले उँभो लाग्न नसके पछि गाउँमा फर्किए श्रीष। आँगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाट व्‍यावसायिक बाख्रापालनको सोच बनाएका श्रीषले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोयर बाख्रा खदिर गरे।

सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका श्रीषको सोचअनुसार लगानी जुट्न सकेन। स्थानीय जातका बाख्रामा क्रस गदैं बोएर बाख्राको स्रोतकेन्द्र सम्म आइपुगेका श्रीष अहिले बाख्रापालनबाट करोडपति भएका छन्।

‘डेढ लाखभन्दा तलको एउटा पनि बोयर छैन,‘अब बल्ल कमाइ हुन थालेको छ’श्रीषले भने। उनले गतबर्ष ३५ लाखको बोयर बिक्री गरेकोमा यस वर्ष करिब ५० लाखको लक्ष्य रहेको बताए। ‘बोयरको विशषेता नै  छिटो छिटो बढ्नु र हुर्कनु हो, ‘महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ’ श्रीषले भने।

नेपाल व्‍यावसायिक बाख्रापालक महासंघको केन्द्रीय उपाध्यक्ष गण्डकी प्रदेश संयोजकसमेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीहरूलाई समेत तालिमसहित आवश्यक सहयोग गर्ने गरेका छन्।

हाल श्रीषको फार्ममा डेढ लाखदेखि साढे ३ लाखसम्मको ३० माउ, २ बोका र २२ पाठापाठी छन्। उनले अवलोकन भ्रमणमा आउनेलाई समेत सहज हुने गरी गोठ विस्तार गरेका छन्।

बोयर बाख्राका लागि उनले करिब ६० रोपनी जमिनमा घाँस खेतीसमेत गरेका छन् भने बाख्रापालन गर्न चाहने किसानलाई निशुल्कसमेत दिने गरेका छन्। श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका छन्।

जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायतका विशेषताहरु अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उनको अनुभव छ।

विदेशभन्दा राम्रो कमाइ

बेनपा–६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पैसा कमाउने रहरले केही वर्ष विदेशमा बिताए। विदेशमा सुपरभाइजर सम्मको जिम्मेबारी पाएका मल्ल घर फर्किएपछि अष्ट्रेलिया जाने हुटहुटीले मल्लको दिमागमा पनि तातियो।

अष्ट्रेलिया जाने सोच बनाएका मल्लको घरमा बुबाले पालेको बाख्रापालनमा ध्यान गयो।

करिब २ वर्ष साउदी र ४ वर्ष इराकमा पसिना बगाएका मल्ल विदेशको दुःखसँग परिचित थिए। विदेशको सपना त्यागेर आफ्नै गाउँठाउँमा केही गर्ने सोचमा बनाए। स्थानीय जातका बाख्राबाट सुरु गरेको व्‍यवसायलाई उनले अहिले बोयर जातका बाख्रापालन गरेका छन्।

‘विदेश जाने मुड चेन्ज गरेर बाख्रापालन गरेको छु,अहिले नाफा कमाएको छैन, बेचेर लगानी थपेको छु’ मल्लले भने। करिब ११ लाखबाट सुरु गरेको बाख्रापालन अहिले करिब ८० लाखभन्दा बढीका बोयर छन् भने ठूलो क्षेत्रफलमा उन्नत जातको घाँससमेत लगाएका छन्।

वार्षिक १४ लाखसम्मको बिक्री गर्ने गरेको मल्लको भनाइ छ। उनको फार्ममा ३ लाखसम्म पर्ने बोयर बोका छ।

‘विदेशमा जाने बेलाको लगानी यही व्यवसायमा लगानी गरेर घरमा बस्न सोच आएर मैले यो बाख्रापालन सुरु गरेको हो’ उनले भने। छिमेकी र बाँझो जमिन लिजमा लिएर घाँससमेत विस्तार गरेका छन्। पछिल्लो समय बोएर जातको बाख्रापालनमा युवाको आकर्षण देखिएको छ।

उता, बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ्ग बानियाँले कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा अगाडी बढेकाले आवश्यकताअनुसार सहयोग गर्ने गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.