एक साता पठनपाठन बन्द हुन्छ : आयोग, केन्द्र भन्छ - जेठ १ बाटै पढाउँछाैं

|

काठमाडौं : कोभिड-१९ का कारण २०७६ सालबाटै शैक्षिक सत्र लयमा फर्किन नसकेका बेला फेरी स्थानीय तह निर्वाचनले पढाईमा प्रभावित पार्दैछ। सरकारले आगामी जेठ १ देखि नयाँ शैक्षिक सत्र सुरु गर्नू भनेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही चैत मसान्तसम्म पठनपाठन सञ्चालन गर्ने, वैशाखमा परीक्षा सकेर नतिजा प्रकाशन गरी जेठ १ बाट पठनपाठन थाल्ने निर्णय गरिसकेको छ।

तर,वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनले नयाँ शैक्षिक सत्र बिथोलिने भएको हाे। निर्वाचन आयोगका अनुसार निर्वाचनकै लागि वैशाख २९ गतेदेखि  जेठ ४ गतेसम्म विद्यालयमा पठनपाठन बन्द हुने छ।

जसकारण जेठ १ बाट देशभरका अधिकांश विद्यालयमा पठनपाठन नहुने निश्चित नै छ। देशभर विद्यालय, खाली स्वास्थ्य चौकीलगायत स्थानमा २१ हजार ९ सय ९५ मतदान केन्द्र तोकिएको छ।

‘विद्यालय नै मतदान केन्द्र तोकिएपछि पठनपाठन हुने त कुरै छैन,कम्तिमा एक साता पठनपाठन प्रभावित हुन्छ,’आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने। 

उनका अनुसार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा करिब ९ हजार सामुदायिक विद्यालयमा मतदान स्थल तोकिएको थियो। तर,यसपाली मतदाताको संख्या बढेकाले मतदाता केन्द्र पनि बढाइएको हो।

यसपाली १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर २८ हजार ८ सय ३३ सरकारी विद्यालय छन्।

५० हजारभन्दा बढी शिक्षक खटाइने

आयोगका अनुसार निर्वाचनलाई मर्यादित बनाउन देशभर दुई लाख बढि जनशक्ति खटिनेछन्। जसमा सामुदायिक विद्यालय, विश्वविद्यालयका ५० हजार बढी शिक्षकहरु खटिने छन्।

उनका अनुसार मतदान केन्द्रमा अधिकृत, सहायक अधिकृत र केही सहयोगी कर्मचारीका रुपमा उनीहरुलाई परिचालित गरिन्छ।

यसरी शिक्षकहरुलाई निर्वाचनमा खटाएपछि विद्यालयमा पढाउने शिक्षक नै हुँदैनन्। एक साता त आयोगले बन्द नै गर्ने भनेको छ। तर गाउँघरका विद्यालयमा मतगणना सकिएर विजय जुलुस नभएसम्म पठनपाठन सहज हुन मुश्किल हुने भुक्तभोगी बताउँछन्। 

​नेपाल शिक्षक महासंघका प्रमुख सल्लाहकार बाबुराम थापा पनि मतगणना नसकिउञ्जेल पठनपाठनमा समस्या हुने स्वीकार्छन्। उनका अनुसार ०७४ सालको निर्वाचनमा करिब ३० हजार शिक्षक परिचालित भएका थिए। 

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि पहिलो पटक ०७६ चैत ११ गतेदेखि लकडाउन भएको थियो। त्यही सालबाट पहिला जस्तै शैक्षिक क्षेत्र चलायमान हुन सकेन। ०७७ सालमा वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइयो। 

०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरियो। ०७८ सालको  चालु शैक्षिक सत्र घटाएर असार १ गते सुरु भई चैत मसान्तसम्म कायम गरियो। तर,यो समयमा पठनपाठन नसकिने भएपछि समय थपेर वैशाखसम्म पुर्‍याइएको छ। अब झनै निर्वाचनले शैक्षिक सत्र धकेलिने देखिन्छ।  

 स्रोत विकास केन्द्र भन्छ : जेठ १ बाटै पढाइ हुन्छ

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र लानुपर्ने छ। तर,ठाउँ अभाव अथवा सुरक्षित भए विद्यालयमा पनि मतगणना हुनसक्छ। त्यस समयसम्म पठनपाठन बन्द नै हुन्छ।

०७४ मा भएको निर्वाचनको बेला पनि अधिकांश विद्यालयमै मतगणना भएको थियो। तर,शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेल भने जेठ १ बाटै पठनपाठन थालिने जिकिर गर्छन्।

उनले भने,‘वैशाख ३० गते निर्वाचन सकिन्छ,मतपत्र विद्यालयमा गनिँदैन,त्यसैले जेठ १ बाट नै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन्छ।’ उनले केही विद्यालयमा मतगणना गरी पढाई रोकिएमा पछि शैक्षिक सत्र व्यवस्थापन गरिने बताए।

‘निर्वाचनले पढाई रोकिएर समयमा कोर्ष सकिएन भने विदा कटाएर पनि कोर्ष सकाइन्छ,’उनले भने।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.