६ महानगर र प्रभावशाली क्षेत्रमा यसरी हुँदैछ भागबण्डा

|

काठमाडौं : पाँच दलीय सत्तारूढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी निर्वाचनमा हुने गठबन्धनको मोडालिटीबारे छलफल थालेको हो। 

सत्ता गठबन्धनमा रहेका दलहरूबीच मात्रै चुनावी तालमेल गर्ने सहमति गरेपछि दलहरूले आआफ्नै स्वार्थ केन्द्रित दाबी गरिरहेका छन्। 

तर,आजको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका निमित्त अब निमित्त गठबन्धनमा सहभागी दलहरूका प्रदेशस्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलको निर्णय गर्ने भएको छ। 

बैठकपछि मन्त्री कार्कीले भने, ‘वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ। त्यसका निमित्त आ–आफ्ना दलहरूका प्रदेशस्तरीय प्रमुखहरू हुनुहुन्छ, उहाँहरूको एउटा समिति बनेको छ, त्यसले प्रदेशस्तरीय काम प्रारम्भ गर्छ। त्यस्तै, गरेर जिल्लास्तरमा जिल्लास्तरीय प्रमुखहरूको एउटा समिति बन्छ। त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ।’

पालिकास्तरमा गाउँपालिकाका प्रमुखहरूको संयन्त्रले अध्ययनपछि २२ गतेभित्रमा आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा ५ दलको अवस्थाबारे जानकारी गराइसकेपछि तालमेलको मापदण्ड तय हुने उनको भनाइ थियो। 

उनले भने, ‘तल्लो तहबाट केन्द्रलाई विस्तृत रुपले आफ्नो प्रतिवेदक पेश गर्दछ। त्यसको आधारमा राष्ट्रियसभाको झैँ एकै ठाउँमा उभिएर चुनाव लड्नेछौँ।’

पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छ। अमेरिकी सहयोग परियोजना सरकारले पास गरेको भन्दै बाहिरिएको भएपनि चुनावी तालमेलको क्रममा जनमोर्चा पनि सामेल भएको छ। 

आगामी निर्वाचनमा सत्ता गठबन्धन बाहेकका दलसँग सहकार्य नगर्ने समझदारी बनेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।  उनले भनिन्, ‘यसअघि एमसिसी अनुमोदन गरेपछि हामी बाहिरिएका थियौँ। तर, प्रतिगमनविरुद्ध एकजुट हुने भएपछि फेरि चुनावी तालमेल गर्न राजी भएको हौँ।’ 

केन्द्रबाटै निर्णय लाद्‍‍ने तयारी 

आगामी निर्वाचनसम्म गठबन्धन जाने बताउँदै बिहीबार नै गृहजिल्ला चितवन पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महानगरको निर्णय केन्द्रले नै गर्ने बताएका थिए। 

‘आगामी तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुन्छ। चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही हुँदैन। गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि जान्छ। चितवन कांग्रेसले भनेर केही हुँदैन। केन्द्रबाटै निर्णय हुन्छ’ प्रचण्डको भनाइ थियो। 

स्थानीय तहहरूको भागवण्डा पालिकाको त्यहीँ टुंग्याउने भएपनि ६ वटा महानरपालिकाको केन्द्रले नै टुंग्याउने उनको भनाइ थियो। प्रचण्डले ०७४ सालको निर्वाचनमा पनि कांग्रेससँगको सहकार्यमा आफ्नी छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरमा जिताएका थिए। केन्द्रले जिल्ला तहमा छलफल नगरि गरेको निर्णयप्रति चितवन कांग्रेस अझै असन्तुष्ट छ। 

गठबन्धन भागबण्डाको विषयमा उपमहानगरपालिका/नगरपालिका/गाउँपालिकाको निर्णय तलबाटै गर्ने भए पनि महानगरको निर्णय केन्द्रबाटै गर्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए। 

उनले भने, ‘गठबन्धनको बैठकले आगामी निर्वाचनमा सबै एकताबद्ध भएर जाने निर्णय गरिसकेको छ। अब भागबण्डाको लागि संयन्त्रको अध्ययनपछि मोडालिटी तय हुन्छ। तर, महानगरको हकमा केन्द्रले नै निर्णय गर्ने सहमति भएको छ।’

आ-आफ्नो दाबी 

उपमहानगरपालिका/नगरपालिका/गाउँपालिकामा संयन्त्रको अध्ययनपछि भागबण्डामा प्रवेश गर्ने भएपनि महानगरमा मुख्यत तीन ठुला पार्टीले आफ्नो दाबी गरिसकेका छन्। 

६ वटा महानगरमा ०७४ को निर्वाचनमा कांग्रेसबाट महानगरपालिकामा दुई प्रमुख र पाँच उपप्रमुख, एमालेबाट दुई प्रमुख र एक उपप्रमुख, माओवादी र जसपाले एक/एक प्रमुख जितेको थियो। 

गठबन्धनमा मोडालिटीबारे छलफल हुँदै गर्दा प्रचण्डले चितवनमा माओवादीको दाबी रहने बताइसकेका छन्। बुधबार चितवन पुगेका प्रचण्डले भनेका थिए, ‘गठबन्धनका बीच तालमेलको कुरा त छँदैछ। तर, भरतपुरमा हाम्रो दाबी रहन्छ।’

अहिले पनि प्रचण्डले भरतपुर महानगरमा रेणुलाई नै दोहोर्याउन प्रयास गर्दैगर्दा कांग्रेस केन्द्रीय सदस्य तथा चितवन कांग्रेस नेता दिनेश कोइराला अहिले माओवादीलाई छाड्न नसक्ने बताउँछन्। 

उनी भन्छन्, ‘अहिलेको निर्वाचनमा भरतपुर महानगर माओवादीलाई छाड्ने एक प्रतिशत पनि सम्भावना छैन। हामीले किन छाड्ने? एउटा आलोपालो आधारमा पनि छाड्नु पर्दैन। किनभने एउटै पार्टीभित्र त एउटै मान्छेलाई जनताले भोट हाल्न गाह्रो मान्छन्। भने, अर्को पार्टीलाई चुनावी तालमेल भएपनि पटक पटक दिन सकिँदैन। चितवनको भरतपुर महानगर ०७४ सालमा छलफल नै नगरी एक्कासि भएकाले त्यो दुर्घटना भएको हो।’

उनको भनाइअनुसार चितवनमा कांग्रेस पहिलो पार्टी भएकाले गठबन्धनकै आवश्यक नपर्ने दाबी गरे। पाँच दलीय गठबन्धनलाई चुनावी तालमेलको झमेला टार्न समस्या भए पनि सबैले आआफ्नै दाबी छाडेका छैनन्। ०७४ सालको निर्वाचनमा ज-जसले जितेको त्यही स्थान दिएर एमालेले जितेको ठाउँमा भागबण्डा गर्नेगरी गठबन्धनमा छलफल चलेको छ। 

महानगरको भागबण्डाको दाबी चलिरहेको बेलामा एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले काठमाडौँ र पोखरा महानगरको दाबी गरेको छ। एक सार्वजनिक कार्यक्रममार्फत अध्यक्ष नेपालले काठमाडौँ या पोखरा महानगरमा आफ्नो पार्टीको दाबी रहने बताइसकेका छन्। 

ललितपुर र विराटनगरमा महानगर ०७४ मा कांग्रेसले जितेको थियो भने वीरगञ्जमा जसपाले जितेको थियो। तर, जसपाबाट जितेको मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरिसकेका छन्। 

भागबण्डाको मोडालिटी तय गर्दै गर्दा यसअघि आ-आफूले जितेको महानगर आफ्नै भागमा राखेर एमालेले जितेको काठमाडौ र पोखरामध्ये एउटा कांग्रेसले लिएर अर्को समाजवादीलाई दिनसक्ने आँकलन गर्न थालिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.