|

काठमाडौं : यतिखेर बजारमा धेरै विषयको चर्चा छ। हुनुपर्ने विषयको चर्चा एकातिर, नहुनुपर्ने चर्चा अर्कोतिर। जेहोस् बजारमा चर्चामा आउनुपर्ने विषयको कमी छैन।

यही चर्चाबीच अर्को विषयको चर्चा छ, जो नेपाली फिल्ममा समावेश गीतसँग सम्बन्धित छ। केही दिनअघि कबड्डी-४ मा समावेश 'केशरी' गीत सार्वजनिक भयो। उक्त गीतले अहिले फेसबुकदेखि टिकटकमा आफ्नो उपस्थिति जबर्जस्त रूपमा उभ्याएको छ। अफिसियल गीतलाई  करिब ४० लाखभन्दा बढीले हेरिसकेका छन्।

उक्त गीतमा आएका प्रतिक्रिया सकारात्मक छन्। यसका गीतकार राम अविरल विष्टले बेला बेलामा उक्त गीतमा लिंकमा पुग्छन्। आएका प्रतिक्रिया हेर्छन्। अनि मक्ख पर्छन्।

'मलाई चिन्ने साथीहरू मेरो सिर्जना कमजोरीसहित मन पराउने कुरा स्वाभाविक नै लिएको छु। तर, एक किसिमका श्रोता हुन्छन्, जसले मलाई चिनेका छैनन्, उनीहरूले दिएको प्रतिक्रिया मेरो सफलता हो भन्ने लागेको छ', बुधबार भेटिएका विष्टले भने।

करिब ५ वर्षदेखि काठमाडौंमा पढ्दै, साहित्य सिर्जनामा रमाउँदै आएका छन् उनी। ४ वर्षअघि भूपू पाण्डेको स्वरमा रहेको 'छाता' बोलको गीतमा उनी गीतकारका रूपमा नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका हुन्। त्यो गीतको चर्चा भयो। गीतकारको खोजी भने खास्सै गरिएन।

यो अवधिमा उनले करिब २५ वटा गीत लेखे। १० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने 'केशरी'ले भने उनको क्षमतालाई देखाएको छ। 'यो गीत सार्वजनिक भएपछि अग्रज फिल्मकर्मीले गीत राम्रो लाग्यो भन्दै फोन गर्नुभएको छ', उनी सुनाउँछन्, 'जसलाई म कहिल्यै भेट्छु भनेर कल्पना गरेको थिइनँ, उहाँहरूको फोन आउँदा मेरो खुशीको ग्राफले आकाश चुमेको छ।'

यसरी सुरु भयो 'केशरी'को लेखन

नेपालमा हरेक दिन लोक, आधुनिक, पप, फिल्मि गीत आउँछन्। बज्छन्, हराउँछन्। ज्यादातर नेपाली सांगीतिक दुनियाँमा आउने गीत किन आउँछन्?  किन हराएँ?  ती गीतले दिने योगदान के हो?  न श्रोतालाई चासो छ, न संगीतकर्मीलाई पिरलो। आयो। बस्! एकदुई बजार ततायो। सकियो। अहिले नेपाली संगीतले रहर मेटाउने र क्षणिक चर्चा कमाउने माध्यमका रूपमा बदमानी कमाएको संगीतकर्मीहरू स्वयं अनौपचारिक चिया गफमा स्विकार गर्छन्।   

तर, कैयौं व्यक्ति आज पनि नेपाली संगीतलाई मिहिन ढंगले अध्ययन गरिरहेका छन्। मिहिनेत गरिरहेका छन्। 'केशरी गीतका गायक तथा संगीतकार एसडी योगी पनि मिहिनेत गर्ने संगीतकर्मीका रूपमा चिनेका हुन विष्टले।

 'मलाई उहाँको संगीत र स्वर मन पर्छ। संगीतमा उहाँको गहिरो लगावको म प्रशंसक हुँ', विष्ट योगीको प्रशंसामा बोल्छन्।

राम्रो काम गर्नेहरूलाई भेटौं भन्ने लोभ सबैलाई हुन्छ। यो मानवीय विशेषतासँग जोडिने विषय पनि हो सायद। विष्ट योगीलाई भेट्न चाहन्थे।  योगीको प्रशंसक विष्टले संयोगवश एक दिन भेट उनलाई भेटे। कुराकानीको बीचमा गीतका कुरा भए। विष्टले आफूले लेखेका गीत पनि सुनाए।

विष्ट सुनाउँछन्, 'उहाँले संगीतबारे गरेको कुराकानीले मलाई गीत लेखनमा अझ ऊर्जा दिएको हो। हाम्रो विचार मिल्ने रहेछ। स्वभाव मिल्ने रहेछ।' त्यसपछि कहिलेकाहीँ भेट भइरहन्थ्यो। एउटा सुन्दर सिर्जना गरौं भन्ने दुवै जनाको हुटहुटी सुरु भयो। त्यसपछि उनले यो गीत लेख्न सुरु गरे।  करिब एक वर्षअघि विष्टले यो गीत योगीलाई सुनाए। योगीले कम्पोज गरे। उक्त कम्पोज विष्टको दिल हर्‍यो।

त्यसपश्चात् योगीले एक दिन यो गीत निर्देशक रामबाबु गुरुङसम्म सुनाए। 'दाइले नै रामबाबु दाइलाई सुनाउनुभएको रहेछ। रामबाबु दाइले मलाई सकारात्मक प्रतिक्रिया दिनुभयो', उनले भने।

गुरुङले फिल्मको कथाअनुसार गीत बनाउनुपर्ने  सुनाएपछि गीतलाई थप सम्पादन गरेको उनी सुनाउँछन्। गीतको बढ्दो चर्चाले सिनेमालाई पनि केही टेवा पुग्नेमा विष्ट विश्वस्त देखिन्छन्।

गजल लेखनसँगै गीत लेखन

उनी बजारमा गजलकारको रूपमा परिचित छन्। गजल लेखनले भाषा माझ्न सहज बनाउने उनको अनुभव छ। गजलमा एक सीमामा बसेर भन्नुपर्ने विषयवस्तु अटाउनुपर्ने नियम हुन्छ। त्यो नियमले उनलाई कुनै पनि विषयवस्तु कम शब्दमा सेरमा कसरी अटाउने भन्ने सिकाएको स्वीकार्छन्।

गजल लेखनमा हुँदा,गीत लेखन सहज काम हो भन्ने लाग्थ्यो उनलाई। अहिले गीततर्फ आकर्षण बढ्दा गीत लेखन सहज काम रहेनछ बुझेका छन् उनले।  हरेक मान्छेलाई आफूले बोकिरहेको भारी गह्रौं लाग्नु स्वाभाविक हो।

'पहिले एक श्रोताका रूपमा गीत सुनिन्थ्यो। सजिलै र सरल तरिकाले अभिव्यक्त गर्ने त रहेछ नि भन्ने लाग्थ्यो', उनी भन्छन्, ' कुनै पनि विषयलाई सरल तरिकाले अभिव्यक्त गर्न सार्है गाह्रो रहेछ। गीत लेखनमा सरल अभिव्यक्ति एकदमै महत्वपूर्ण कुरा रहेछ।'

अलि अलि कल्पना, अलि अलि भोगाइ

गीतमा 'केशरी', 'फुलानी' शब्दहरू छन्। जुन बोलीचालीमा खासै प्रयोगमा आएको विष्टले सुनेका छैनन्। तर, यी शब्द उनले लोक गीत र उपन्यास पढेका हुन्, सुनेका हुन्। उनलाई यी शब्द 'ड्याम सोलिड' लागेको थियो।  'मलाई यी शब्दले आकर्षित गरेपछि टिपोट गरेर राखेको थिएँ, ती शब्दहरू म कुनै न कुनै दिन गजल वा गीतमा राख्छु भन्ने सोचेको थिएँ', उनले भने।

२३ वर्षमा लाग्दै गरेका विष्टले गीतलाई अलि अलि कल्पना र अलि अलि अनुभवको मिश्रण रहेको बताए। 'राम्रा मान्छेहरू राम्रो लाग्नु ह्युमन नेचर हो। अझ आफ्नै भइदियोस् भन्ने लाग्नु सुन्दर स्वार्थ पनि हो', रुमानी प्रेमको चित्र अनुहारमा पोत्दै उनले थपे, ' प्रत्यक्ष भन्न सकिएन अलग कुरा हो। त्यहि कुरा अप्रत्यक्ष रुपमा अभिव्यक्तिको माध्यमबाट गीत बन्यो।'

अन्त्यमा उनले यस गीतबाट खुड्किलो पार गरेका छन्। नेपाली सिने क्षेत्रमा गीतकारका रूपमा उनको यो डेब्यु गीत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.