|

म्याग्दी : समय परिवर्तनशील छ। आउँछ–जान्छ। ल्याउँछ अनि लैजान्छ। यो प्राकृतिक चक्रलाई चुडाल्न सक्ने कुनै वैज्ञानिक हतियार बनेको छैन।

तर, ठूल्ठूला फलामका दाँत भएको डोजर नामक हतियारले मानिसहरुको अनुमति लिई प्राकृतिक सम्पदाहरुलाई भने छिन्नभिन्न पारिदिएको छ।

सुविधा पुर्‍यादिएको हो कि सास्ती थपिदिएको हो त्यो त भुक्तभोगीलाई मात्र थाहा होला। तर, प्राकृतिक सम्पदाहरुको विजोग बनाइदिएको कुरा भने सबैलाई थाहा छ। थाहा भए पनि मौन रहनु मानिसहरुको नियति बनेको छ।

गाउँ, गाउँजस्ता छैनन्। न त गाउँ, शहर जस्ता नै बन्न सकेका छन्। सन्तानहरुले आफ्नै पुर्खाका पाइलाका डोबहरुलाई विर्सेका छन्।खर र ढुंगाले छाएका घरका धुरीहरु भत्केका छन्। पिँढीँ र आँगनमा झार बढेर झाडी  बनेका छन्। वाँझै रहेका खेतबारीमा बनमारा र उन्यु फैलिएको छ। कंक्रिण र फलामे रडका भवन ठडिएका छन्। सडक बनेर मोटर गुडेका छन्। तर,गाउँलेहरु भने खुसी भएका हुन् की दुःखी भएका हुन् छुट्टाउनै नसकिने अवस्थामा देखिन्छन्।

कस्तो  थियो पहिले?

गोरेटो बाटामा स्याउलाले बारेका र खरले छाएका छाप्रे चिया पसल। एक मोहोर तिरेपछि एक गिलास चिया पिउन पाइने।

मान्छेको कोलाहल र खच्चड हिँड्दा घाँटीमा झुण्डाइएका घण्टी बजेपछि आउने चर्को आवाजले बिहान ४ बजेदेखि नै गुन्जायमान हुने बाटो र  सुरुहुने बाटाको दायाँवायाँ बनाइएका अस्थायी छाप्रामा घुम्ती व्यापारीहरुको दिनचर्या।

सरकारी कर्मचारी, गाउँका साहु महाजन र मुक्तिनाथ दर्शनकालागि आएका धनीमानी व्यक्तिहरु घोडामा सवार। भरिया,तीर्थयात्री र मजदुरी गर्न ओहोर दोहोर गर्ने व्यक्तीहरु पैदल।

तीर्थयात्री, ढाक्रे र मजदुरी गरेर परिवार पाल्नेहरूको पिठ्यूँमा डोकोभरिको सामान। भरिया र ढाक्रेहरु भारी बोकेर हिड्दा हिड्दै जहाँ रात पर्छ त्यही भारी बिसाउने। पाए ठाँटी नपाए चौतारी वा रुखको फेदमा नै खाना पकाउने,खाने अनि सुत्ने। खल्तीमा पैसा हुने र घोडामा सवार भएकाहरु होटलमा बास बस्ने।

यो अवस्था अहिलेको होइन, आजभन्दा करिब ४०-४५ वर्ष पहिलेको हो। अहिलेको बेनी–जोमसोम सडक बन्नुभन्दा पहिलाको वास्तविकता हो यो। जति बेला म्याग्दी र मुस्ताङमा कुनै पनि सडकहरू खनिएका थिएनन्।

उहिले नेपाल–भोट व्यापारको प्रमुख नाका थियो बेनी । बेनीमा बजार विस्तार भैसकेको थिएन। खर र ढुङ्गाले छाएका केही घरहरु मात्र थिए। अस्थायी मण्डी र साप्ताहिक हाटबजार लाग्ने गर्दथ्यो।

त्यही मण्डी र हाटबजारमा खदिर विक्री गर्न बुटवलबाट स्याङ्जाको सेती दोभान र पर्वतको कुश्मा हुँदै सामानहरु आयात गरिन्थ्यो। म्याग्दी र मुस्ताङमा दैनिक उपभोग्य देखि निर्माण सामग्रीहरू पु¥याउनको लागि प्रयोग हुने मुख्य नाका नै बेनी बजार रहेको त्यतीबेलाका जानकारहरू बताउँछन्।

मदन पुरस्कार प्राप्त गर्न सफल ऐतिहासिक उपन्यास महारानीका लेखक एवम्ं इतिहासका जानकार चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७ औं शताब्दीमा स्थापना भएको हो। विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भयो। १६ हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए।

यस्तो भयो अहिले

तर, अहिले यहाँको अवस्था फेरिएको छ। पैदल हिँड्ने बाटोको नामोनिसान छैन। फराकिलो सडक बनेको छ। सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोव मेटिएका छन्।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी–जोमसोम सडकमा गाडी गुड्न थाले।

बेनी–जोमसोम सडकको क्षेत्रमा रहेका आधा दर्जन बढी अस्थायी बजारहरु नासिए। पदमार्ग मासिए।तर, म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो।

पहिले पहिले ठाँटी,सत्तल र स्याउले बजार रहेका बेनी–जोमसोम सडक क्षेत्रका गलेश्वर, चमेरे, भुरुङ तातोपानी,दाना,लेते लगाएतका दर्जनबढी ठाउँहरुमा बजार विस्तार भएका छन्।

पहिलो पटक बेनी– जोमसोम सडक बनेपछि भने सवारी साधनमा ओसारपसार र यात्रा हुन थाल्यो। नदी छेउमा मानव सभ्यता विकास भए जस्तै सडक छेउमा बस्ती बस्न थाले अनि सुरु भयो बजारीकरण।

अनुभवीहरुका अनुभव

बेनीबाट भारी बोकेर मुस्ताङ र मुस्ताङबाट नुन र स्याउ बोकेर बेनी ल्याउन पटक पटक ओहोरदोहोर गरका बेनी नगरपालिका २ का ९६ वर्षिय खड्गबहादुर थापा सडक बनेपछि मोटर चढेर एक पटक मुस्ताङ पुगे।

भरियाको रुपमा पहिला कैयौं पटक मुस्ताङ पुगेका थापालाई सडकमा गाडी चढेर मुस्ताङ जाँदा अनौठो लाग्यो।

‘त्यो बेलाको कुरा सुनाउने हो भने अहिलेका नयाँ पुस्तालाई पत्याउनै कठिन हुन्छ। चार÷पाँच रुपैयाँ भयो भने टन्न खान पाइन्थ्यो। पिठ्यूँमा भारी बोकेर बेनी–जोमसोम गर्न एक हप्ताभन्दा बढी लाग्थ्यो। डोको बोकेर हिँड्दै जाने जहाँ पुग्दा रात पर्छ त्यहीं बस्ने गर्थे। ठाँटी भएको ठाउँमा पुगे त्यही ठाँटीमा नत्र यसो रुखमुनि भारी बिसाउने, त्यही भारीको छेउमा निदाएर बिहानै ४ बजे फेरि भारी बोकेर हिड्थ्यौं।’ थापाले भने।

थापाका अनुसार त्यो बेलामा मुस्ताङमा मात्रै होइन उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा भारी बोकेर खाद्यान्न लगाएतका सामाग्रीहरु लैजाने भरियाहरू बढी हुन्थे। चामल, चिनी, चियापत्ति, नुन, तेल लगायतका सबै सामानहरू बोकेका हुन्थे।

समयसँगै विकास आयो र विकाससँगै सुविधा

नदी किनारबाट मानवीय सभ्यता र बाटोको छेउबाट व्यापारको सुरुवात भएको मानिन्छ। बेनी जोमसोम सडकको पुरानो अवस्थालाई अध्ययन गर्ने हो भने कालीगण्डकीको छेउछाउबाट नै थकाली र मगर संस्कृति मौलाएको पाइने बेनीका ८० वर्षिय नैनकुमार श्रेष्ठले बताए।

‘मानवीय सभ्यताहरू नदी छेउछाउबाट सुरु भएका छन्। विस्तारै मान्छेहरू छिरिएर बस्न थाले पछि ती सभ्यताहरु पनि बसाइसरे वा फैलिए’ श्रेष्ठले भने ‘समयसँगै विकास आयो र विकाससँगै सुविधा। सुविधा पाए पछि मान्छेले सबै भुल्यो,गोरेटो बाटो भुल्यो,चौतारी र ठाँटी विर्सियो,आफ्ना पुर्खाका पैतालाका डोबहरुलाई फलामे दाँत भएको डोजर लगाएर कोप¥र्यो,सडक बनायो,गाडीमा हुइँकियो,सबै भुल्यो।’

बेनी बजारको इतिहास

यता, बेनी बजार विस्तारको कथा भने विकाससँग भन्दा बढी तत्कालीन राजनीति र ऐतिहाँसिक पृष्ठभूमिसँग जोडिएको छ।  तत्कालीन बाइसे–चौबिसे राजाका पाला पर्वत राज्यको मुकाम बेनीबजार १७ औं शताब्दीमा स्थापना भएको हो।

अरु बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहेको भएपनि बेनी बजारमा व्यापारको  जग कामी समुदायका व्यक्तिहरुले राखेको पाइन्छ।

बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुहरुको व्यापार सुरु भएको इतिहाँसकार बानियाँको भनाइरहेको छ।

इतिहासकार बानियाँका अनुसार अहिलेको म्याग्दीमा पर्ने बेनीबजार सुरुमा बगर थियो।

करिब ५ सय वर्षको इतिहास रहेको बेनीबजारले अहिलेसम्म पनि आफ्नो शाख जोगाइरहेको छ।  पैदल हिँडे घोरेपानीको बाटो हो नत्र म्याग्दी, मुस्ताङको एक मात्रै नाका हो बेनी बजार।   पछिल्लो समय जिल्लाका गाउँगाउँसम्म सडक पुगेका छन्। राज्यको पुनसंरचना भएपनि पालिका मुकामहरु बनेका छन्। तर, बेनी बजारले भने यी सबै परिर्वतनसँग अनुकुलित हुने गरेको म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ बताउँछन्।

२०१७ सालमा म्याग्दी बेनी र पर्वत बेनीलाई जोड्नेगरी म्याग्दी खोलामा पुल बनेपछि बेनी बजारको व्यापारले गति लिएको श्रेष्ठको भनाइरहेको छ।

व्यापारमा उस्तै

अहिले पनि बेनी बजारको व्यापारमा कुनै कमी आएको छैन। गाउँगाउँमा बजार विस्तार भएपनि ट्रान्जिट प्वाइन्ट भएको हुँदा बेनीबजार सदाबहार नै छ।

मुस्ताङको स्याउ र च्यांग्राको मुख्य बजार बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्न भण्डारण पनि बेनीबाट नै वितरित हुने गर्दछ। बेनी–जोमसोम खण्डमा पर्ने पोखरेबगर बजारले पनि आफ्नै लय समातेको छ।

विकासको क्रमसँगै गाउँ गाउँमा सडकहरू खनिन थाले। सडकका कारण बजार बन्न थाल्यो र मानिसहरू गाउँ छाडेर बजारमा सर्न थाले। जसका कारण ऐतिहासिक नाका र पुराना बजारहरूको मुहार अहिले देख्न नपाइने भए पनि बेनीबजार अपवादको रुपमा रहेको स्थानीयहरुको भनाइरहेको छ।

संघीयताको आधार मानिएको विकेन्द्रीकरणको नीतिले गाउँहरु बजारसंग जोडिएका त छन् तर गाउँको मौलिकता र पुख्र्यौली पहिचानहरु हराएकोमा बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.