केन्द्रको निर्णय मान्‍ने मोडमा देखिए वीरबहादुर बलायर

|

कञ्चनपुर : सत्तारूढ नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि नेकपा (एमाले) अप्ठेरो अवस्थामा पुगेको छ।

पार्टी विभाजनपछि कमजोर देखिएको एमालेलाई सत्ता गठबन्धनको चुनावी तालमेलले झन् अप्ठेरो पारेको छ।

कांग्रेसले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। त्यसपछि गठबन्धन आबद्ध दलहरुमा भने उत्साह देखिएको छ। उनीहरू तालमेलका लागि छलफल अघि बढाउने मनस्थिति बनाएका छन्।

सत्ता गठबन्धनबीच चुनावी तालमेलमा सहमति भएपछि एमाले राप्रपासित तालमेल वा एक्लै चुनावी मैदानमा जानुपर्ने देखिएको छ। राप्रपासित चुनावी तालमेलका लागि छलफल भएको छैन।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा केही स्थानमा एमालेले राप्रपासित तालमेल गरेको थियो।

२०७४ को स्थानीय निर्वाचनमा एमालले ५ स्थानीय तह निर्वाचन जितेर सबैभन्दा ठूलो दल बनेको थियो। सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले दुई-दुई पालिका जितेका थिए।

सत्तारूढको चुनावी तालमेलपछि एमालेलाई पाँच वर्ष अघि जितेका पालिकामा फेरि जित हासिल गर्न चुनौती देखिएको छ। त्यसका लागि एमालेले चुनाव रणनीति फेर्न पर्ने र पार्टीलाई एक ढिक्का बनाउनको विकल्प नभएको नेताहरू बताउँछन्।

पार्टी विभाजनले पाँच वर्षअघि जितेकामध्ये पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा नेकपा एकीकृत समाजवादीमा गएका छन्। पार्टी विभाजनपछि समाजवादी गएका नेताहरुका कारण एमालेलाई सबैभन्दा ठूलो क्षति पुगेको छ।

कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबाहेक अन्य सबै पालिकामा एमालेलाई विभाजनबाट सबैभन्दा ठूलो क्षति पुगेको छ।

माओवादी छाडेर आएका नेता कार्यकर्ताबाट त्यसलाई पूर्ति गर्ने अपेक्षा गरिए पनि सम्भव नहुने नेताहरु बताउँछन्।

पाँच वर्षअघि एमालेलाई जिताउन सक्रिय रुपमा लागेका तत्कालीन अध्यक्ष तारालामा तामाङ, उपाध्यक्ष जीवनराज थापा, नेताहरू लालबहादुर खड्का, प्रकाश रावल, कुलवीर चौधरीलगायत नेता पार्टीबाहिर छन्।

उनीहरूसँगै स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि पनि पार्टी छाडेर समाजवादी गएका छन्।

नेकपा (एकीकृत) समाजवादीका नेता लोकविक्रम थापाले सत्ता गठबन्धनसित एमालेले चुनाव जित्न सम्भावना नभएको बताए। ‘चुनाव लडे अन्तिमसम्म पनि जित्छु त भन्छन् नै, त्यो ठूलो कुरा होइन’ उनले भने,‘अब गठबन्धन चुनाव जित्छ, एमालेसित जित्छौ भन्नुबाहेक अरू केही छैन।’

सत्ता गठबन्धन आबद्ध दलका नेताहरू छलफल गरी तालमेलका लागि अघि बढ्ने नेता थापाले बताए। ‘कांग्रेसबाट निर्णय भएको छ, अब नेताहरू बसेर सबै टुंगो लगाउँछौ’ उनले भने,‘त्यसका आधारमा अघि बढ्छौँ।’

सत्तारूढ गठबन्धनमा चुनावी तालमेल भएपछि एमाले थप बलियो हुनपर्ने चुनौती थपिएको छ। त्यसका लागि एमालेले आफ्नो चुनावी रणनीति बलियो बनाएर अघि बढ्नुपर्ने नेताहरुको भनाइ छ।

कांग्रेसको निर्णयपछि तालमेलविरुद्ध देखिएका कांग्रेस नेताहरुले पार्टी निर्णय मान्ने मनशाय देखाउन थालेका छन्। सुदूरपश्चिम गठबन्धन हुन नपर्ने अडान राख्दै आएको कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर पार्टी निर्णय मान्नुपर्ने पक्षमा देखिएका छन्। उनीसहित तालमेलविरुद्ध देखिएका अन्य नेता पनि पार्टी निर्णयपछि मौन बसेका छन्।

तालमेलविरुद्ध देखिएका कांग्रेसका नेता कार्यकर्ता शान्त बसेपछि एमालेलाई थप असहज भएको छ। तालमेलविरुद्ध देखिएका असन्तुष्ट नेतालाई आफ्नो जितमा प्रयोग गर्ने एमाले रणनीति तत्काललाई असफल हुन पुगेको छ।

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सभापति केशव चन्दले पार्टीको निर्णयअनुसार चुनावी तालमेलमा अघि बढ्ने बताए। ‘पार्टीले तालमेलको निर्णय गरिसकेपछि नेता कार्यकर्ता त्यसविरुद्ध जाने कुरा हुँदैन’ उनले भने,‘पार्टी निर्णय कांग्रेसका सबै नेता कार्यकर्तालाई लागू हुन्छ।’

अहिले कांग्रेसको सबै स्थानीय तहमा निर्वाचन जित्ने अवस्था रहे पनि पार्टी निर्णयका आधारमा अघि बढ्ने उनले बताए। ‘अब आवश्यकता हेर्छौं, त्यसका आधारमा अघि बढ्छौँ, यद्यपि अहिले कांग्रेसको सबै तहमा चुनाव जित्ने अवस्था छ’ उनले भने।

कांग्रेसको चुनावी तालमेलपछि एमाले नेताहरू दबाबमा परेका छन्। उनीहरू एमालेलाई जिताउन आन्तरिक छलफलमा लागेका छन्। कृष्णपुरमा एमालेले गठबन्धनलाई हराउने गरी चुनावी प्रचारसहितका कार्यक्रम अघि बढाएका छन्। एमाले कृष्णपुरका अध्यक्ष गणेश सिह ऐरीले कृष्णपुरमा चुनावी चुनाव जित्ने लक्ष्य राखेर चुनावी प्रचार गरिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.