|

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यहि चैत २७ देखि २९ गतेसम्म स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै छ।

यस अगाडि सातवटा शिखर सम्मेलन भइसकेका छन्। तर, त्यसको उपलब्धी आम नागरिकले अनुभूति गर्न पाएका छैनन्। परिषदले वर्षेनी गर्ने अनुसन्धानले सार्थकता नपाउने गरेको भन्दै आलोचना हुदै आएको छ। अझै नेपालमा भएका अनुसन्धानलाई अन्तर्राष्ट्रिय हैन राष्ट्रिय जगतले नै मान्यता दिएको छैन।

यस्तो बेला परिषदले गर्न लागेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन यस अगाडीको भन्दा के फरक छ? नेपालमा हुने स्वास्थ्य अनुसन्धानहरूले किन सार्थकता पाउँदैनन्?  लगायतका विषयमा परिषद्का कार्यकारी प्रमुख डाक्टर प्रदीप ज्ञवालीसँग सविना खनालले गरेको कुराकानी :

परिषद्ले वर्षेनी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै आएको छ,  स्वास्थ्य वैज्ञानिक सम्मेलनको उद्देश्य के हो ?

हामीले विगत सात वर्ष देखि देशभित्र रहेका धेरै स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिरहनु भएका स्वास्थ्य वैज्ञानिकहरूलाई एकै ठाउँमा भेला पारेर सम्मेलन गर्दै आएका छौँ। यस पटक गर्न लागेको हाम्रो सम्मेलन आठौँ हो।

सम्मेलनमा देशका प्राय धेरै र केही विदेशका स्वास्थ्य वैज्ञानिकहरुले समेत सम्मेलनमा भाग लिने भएकाले हाम्रो लागि यो एक उत्सव जस्तै हो। हाम्रो मुख्य उद्देश्य  भनेको स्वास्थ्य क्षेत्रलाई आधार मानेर विभिन्न विधामा अनुसन्धान गरिरहनु भएका वैज्ञानिकहरूलाई एकै ठाउँमा भेला गरेर उनीहरुले गरिरहेको अनुसन्धान सुन्ने र  गुणस्तरीय र विश्वसनीय अनुसन्धानमा प्रेरित गर्ने हो।

यसरी आएका अनुसन्धानले स्वास्थ्य क्षेत्रको निति निर्माणमा टेवा पुगोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको हुन्छ। यस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलन गर्दा हामीलाई मुख्यत: के फाइदा हुन्छ भने, अन्तर्राष्ट्रिय रुपमा कस्ता खालका अध्ययन अनुसन्धान भइरहेका छन् र हामी कहाँ छौं भन्ने बुझ्न सहयोग पुग्ने देखिन्छ यस्तै  स्वास्थ्य क्षेत्रमा भएका नयाँ नयाँ विषय बारेमा धेरै कुरा सिक्ने र जान्ने अवसर मिल्छ।

 नेपालमा हुने यस्ता स्वास्थ्य अनुसन्धानहरूले अन्तराष्ट्रिय मान्यता पाएको पाइदैन किन?

हो, हामीले हालसम्म गरेका अनुसन्धानहरूले अन्तराष्ट्रिय मान्यता पाउन सकेको छैन। यसको मुख्य कारण भनेको राज्यले अनुसन्धानमा कम लगानी गर्नु हो। यस्तै हामीसँग अनुसन्धानमा पोख्त जनशक्ति नहुनु पनि अर्को कारण हो। भएका जनशक्तिलाई हामीले लामो समय सम्म यही क्षेत्रमा तल्लिन राख्न पनि सकिरहेका छैनौँ।  विकसित देशमा अनुसन्धानले राज्यका नीति परिवर्तन गर्छन तर, नेपालमा नीतिले अनुसन्धानलाई परिवर्तन गराउँछ।

यो हाम्रो लागि विडम्बनाको कुरा हो। राज्यले नै अनुसन्धानको महत्व बुझ्दैन जसले गर्दा यो क्षेत्रमा बजेट, अनुसन्धान गर्ने स्रोत साधन नै कम छ भने हामीले गुणस्तरीय अनुसन्धान खोजेर हुदैन। त्यसैले अहिले हाम्रो मुख्य काम भनेको गुणस्तरीय अनुसन्धान र त्यसको आधारमा बन्ने निति नियमको प्रभावकारिताको बारेमा बुझाउनु हो।

कोरोना महामारीको दुई वर्षमा परिषद्ले के गर्‍यो, महामारी नियन्त्रणमा कसरी सहयोग गर्‍यो त?

हामीले कोरोना महामारीको समयमा धेरै काम गर्‍यौँ त म भन्दिन तर सबैभन्दा ठूलो काम चाही राज्यलाई अनुसन्धानको महत्व बुझायौँ भन्ने लाग्छ। किनभने ३ वर्षयता हामीले गरेका धेरै विषय कोभिड-१९ सँगै  केन्द्रित भए र हामीले गरेका अनुसन्धानले कोरोना संक्रमण नियन्त्रणमा धेरै प्रभावकारी भूमिका खेलेको थियो।

जस्तो हामीले गरेको आरडिटी परिक्षणको प्रभावकारिता, कोरोना संक्रमितको उपचारमा रेमडिसिभिर औषधीको प्रभावकारिता  जनस्वास्थ्यको मापदण्डको पालनाले गर्दा संक्रमणको जोखिम कम हुने जस्ता अनुसन्धान हामीले यस समयमा गरेका थियौँ जसले कोरोना महामारी नियन्त्रणको लागि बन्ने नीतिमा अर्थपूर्ण सहयोग गरेको थियो। यसले गर्दा पनि कोरोना महामारी समयमा हामीले गरेको कामले अनुसन्धानको महत्वबारे बुझाउन सकियो भन्ने लाग्छ।

कोरोना महामारीमा परिषदलाई कोरोना विरुद्धको खोप बनाउँने ठूलो अवसर थियो, त्यो त गुमाउनु भयो हैन त ?

राज्यले अनुसन्धानमा कम लगानी गर्नु हो। यस्तै हामीसँग अनुसन्धानमा पोख्त जनशक्ती नहुनु पनि अर्को कारण हो। भएका जनशक्तिलाई हामीले लामो समय सम्म यही क्षेत्रमा तल्लिन राख्न पनि सकिरहेका छैनौँ।  विकसित देशमा अनुसन्धानले राज्यका नीति परिवर्तन गर्छन तर, नेपालमा नीतिले अनुसन्धानलाई परिवर्तन गराउँछ।

हो, हामीले कोरोना महामारीमा कोरोनाविरुद्धको खोप बनाउने ठूलो अवसर गुमायौँ।​यो समयमा अन्तर्राष्ट्रिय रुपमा धेरै ठूला अनुसन्धान भए, खोप बने तर हामीले यसमा घरेलु केही अनुसन्धान बाहेक केही गर्न सकेनौं। यसको मुख्य कारण भनेकै हाम्रो स्रोत साधान कम हुनु हो। हामीले अब के सिक्न पर्छ भने भोलिका दिनमा यस्ता प्रकारका महामारी आउँदा आफ्नै देशमा खोप निर्माण गर्न सक्ने क्षमता विकास गर्नु पर्छ त्यसको लागि आवश्यक पूर्वाधारहरुको विकास अहिल्यैदेखि गर्दै जानुपर्छ।

कोरोना बाहेक हाल नेपालमा हुने स्वास्थ्य अनुसन्धान के मा आधारित छन त?

हाल हामीले गर्दै आएको अनुसन्धान स्वास्थ्य मन्त्रालयले भने अनुसार विभिन्न नीतिहरूमा केन्द्रित छ। नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण, मातृ स्वास्थ्य, स्वास्थ्य नीति, संक्रामक रोग लगायतका विषयमा हाल हामीले गर्दै आएका अनुसन्धान केन्द्रित छन्। नियमित बजेटमा हुने अनुसन्धान भइरहेका तर अब हामीले गर्ने नीति निमार्णमा परिवर्तन ल्याउने खाले अनुसन्धान अब गर्न आवश्यक छ। जसको लागि स्रोत साधन नै मुख्य कुरा हो।

यसपटक हुने स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनमा के कस्ता अनुसन्धान पेश हुदै छ त?

यस पटकको सम्मेलनमा धेरै अनुसन्धानहरू कोरोना महामारीसँगै केन्द्रित हुने छ।  तीन दिनको उक्त सम्मेलनमा १० भन्दा बढी विधामा प्रस्तुति हुनेछ जसमा कोभिड र अनुन्धान, नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण, मातृ स्वास्थ्य, स्वास्थ्य नीति, संक्रामक रोग लगायतका विषय छन्।

यसपटक हामीले धेरै पोलिसी र सिस्टम रिसर्चमा केन्द्रित रहेका छौँ। सम्मेलनमा अनुसन्धानकर्ताहरुले आफ्ना खोज तथा अनुसन्धानबारे ११२ वटा अनुसन्धानका मौखिक प्रस्तुति तथा ४१ पोस्टर प्रस्तुत गर्ने हालसम्मको योजना रहेको छ।

यस्तै आमन्त्रित विज्ञबाट स्वास्थ्य अनुसन्धानबारे विषयमा प्रस्तुतीकरण तथा छलफल हुनेछ। हालसम्म १५३ वटा अनुसन्धान पेपर आएका छन्। सम्मेलनमा जर्मन, भारत,बेलायत अमेरिकाबाट पनि स्वास्थ्य अनुसन्धान गरिरहनु भएका स्वास्थ्य वैज्ञानिकहरुको सहभागिता हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.