कसैलाई पार्टीले न्याय गर्ने आस त कोही आलोपालो माग्दै

|

हेटौंडा : आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। २०७४ सालको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ जनप्रतिनीधि चुन्न वैशाख ३० मा चुनाव हुन लागेको हो।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै यतिबेला मकवानपुरमा  राजनीतिक दलहरूको धपेडी बनेको छ। निर्वाचनबाट स्थानीय तहको विभिन्न पदमा उम्मेदवार बन्न चाहनेहरू पनि आ–आफ्नो पार्टीमा लविङ गर्ने र चुनाव लक्षित कार्यक्रम गर्नमा व्यस्त छन्।

आगामी निर्वाचनमा स्थानीय तहको जनप्रतिनिधि बन्न स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेताहरू आकांक्षी देखिरहेका छन्।

धेरै नयाँ अनुहारहरू यो निर्वाचनबाट स्थानीय तहको नेतृत्व हाँक्ने दाउमा छन्। तर,२० वर्षपछि २०७४ सालमा भएको निर्वाचनबाट एक कार्यकाल स्थानीय तहको नेतृत्व गरिसकेका जनप्रतिनिधिहरू नै पुनः दोहोरिन चाहेको पनि देखिन्छ।

अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएका मकवानपुरमा महिला जनप्रतिनिधिहरू आगामी निर्वाचनबाट स्थानीय तहको प्रमुख पदमा दाबी गरिरहेका छन्।

५ वर्षको कार्यकालमा आफूहरूले प्रशस्त अनुभव बटुलेको र प्रमुख पदमा रहेर स्थानीय तह हाँक्न सक्ने भन्दै उनीहरूले प्रमुख पदमा दाबी गरिरहेका हुन्।

हाल मकवानपुरमा रहेको १० वटा पालिकामध्ये एउटा उपमहानगर, एउटा नगरपालिका र ८ वटा गाउँपालिका छ। तीमध्ये ९ वटा पालिकामा महिला उपप्रमुख छन् भने थाहा नगरपालिकामा पुरुष उपप्रमुख रहेका छन्। २०७४ को निर्वाचनमा एमालेले १० वटा स्थानीय तहमध्ये ६ वटामा प्रमुख र ८ स्थानीय तहमा उपप्रमुख पद जितेको थियो।

एमालेले हेटौंडा उपमहानगरपालिकासहित मनहरि गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको थियो भने बकैया गाउँपालिका र बागमती गाउँपालिकामा उपप्रमुख पद जितेको थियो।

त्यस्तै, नेपाली कांग्रेस र माओवादी केन्द्रले २-२ वटा स्थानीय तहमा नेतृत्व लिएका थिए। कांग्रेसले राक्सिराङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुखसहित बकैया गाउँपालिकामा प्रमुख पद जितेको थियो। माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिकामा पालिका प्रमुख पद जितेको थियो।

'प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौ

जिल्लाको ९ वटै स्थानीय तहका उपप्रमुखले महिला पनि पालिका प्रमुखको जिम्मेवारी लिन सक्षम रहेको बताएका छन्। पार्टीले अवसर दिएको खण्डमा पुरुषसरह जिम्मेवारी लिएर काम गर्न महिला पनि सक्षम रहेको उनीहरूको भनाइ छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपम्रमुख मीना कुमारी लामा, बागमती गाउँपालिकाकी धनमाया स्याङ्तान, बकैयाकी सरला बोलखे, मकवानपुरगढीकी हर्कमाया रुम्बा, इन्द्रसरोवरकी उमाकुमारी लामा, कैलाशकी सुकुमाया थिङ, राक्सिराङकी निर्मला हिम्डुङ, मनहरीकी मनिला विष्ट र भीमफेदीकी पार्वती रानाले पालिका उपप्रमुख भएर काम गर्दै आएको अनुभवले पनि आफूहरूले अब प्रमुखको भूमिका पाउनुपर्ने दाबी गरेका हुन्।

उनीहरूले पार्टीले विगतको कामको मुल्याङ्कन गरेर लैंगिक विभेद नगरी पालिका प्रमुखको भूमिकामा महिलाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन्। पालिका प्रमुखको काम कुनै एउटा विशेष लिङ्गले नभई आफ्नो जिम्मेवारी र लगनशिलताले गर्ने भएकाले त्यसलाई सबै दलले विचार गर्नुपर्ने उनीहरूको भनाइ छ।

मकवानपुरको विकट कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ आगामी स्थानीय तहको निर्वाचनमा आफू गाउँपालिका अध्यक्ष पदको दाबेदार रहेको बताइन्। विगत केही महिनादेखि गाउँपालिकाको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्दै आएकी उनले आफूले गाउँपालिका हाँक्न सक्ने बताएकी छिन्।

‘मैले गाउँपालिकाको कार्यवाहक अध्यक्षको रुपमा पनि काम गरिसकेको छु। कुनै पनि काम देखेर यो काम गर्न सक्दिनँ जस्तो लाग्दैन। म गाउँपालिकाको प्रमुख पदमा रहेर काम गर्न सक्षम छु’,उनले भनिन्। अख्तियारमा मुद्दा परेर गाउँपालिकाको अध्यक्ष निलम्बनमा परेपछि उनले पालिका प्रमुखको रुपमा समेत काम गर्दै आइरहेकी छन्।

अध्यक्ष पदमा टिकट ल्याउने विषयमा आफू पार्टी नेतृत्वसँगको छलफलमा रहेको उनको भनाइ छ। २०७४ को निर्वाचनमा उनी एमालेबाट पालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। २०७४ को निर्वाचनमा एमालेबाट मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी मनिला विष्ट अहिले नेकपा एकीकृत समाजवादीका आवद्ध छिन्।

आगामी निर्वाचनमा उनी पालिका अध्यक्षमा उम्मेदवार बन्ने भन्दै लविङ गरिरहेकी छन्। पार्टीले विगत ४ वर्षदेखिको काम र सक्रियताको आधारमा आगामी निर्वाचनमा आफूलाई अध्यक्षको उम्मेदवार बनाउने उनले विश्वास व्यक्त गरिन्।

यद्यपि, राजनीतिक दलहरूमा महिलाले नेतृत्व पाउने विषय अलि कठिन हुने उनको भनाइ छ।

भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना पनि यतिबेला गाउँपालिकाको प्रमुख पदमा उठ्नको लागि लविङ गरिरहेकी छन्। विगतको निर्वाचनमा एमालेबाट भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित रानाले आफू पालिका प्रमुखको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी छन्। विगतको निर्वाचनमा एमालेबाट भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित रानाले आफ्नो दाबी अध्यक्षमा रहे पनि पार्टीले टिकट दिनेमा भने विश्वस्त नरहेको बताइन्।

बकैया गाउँपालिकाको उपाध्यक्ष सरला बोलखेले पनि अध्यक्ष पदमा दाबी गरिरहेकी छन्। उनले पुनः उपाध्यक्ष पदमा उठ्ने इच्छा नभएको भन्दै अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेको बताएकी छन्।

हेटौंडा उपमहानगरपालिकाको उपमेयर मीनाकुमारी लामाले आफू मेयरको दाबेदार भएको बताएकी छन्। उनले आफू कर्ममा प्रतिबद्ध भएकाले पनि आगामी निर्वाचनमा पार्टीले आफूलाई मेयरमा अघि बढाउने विश्वास व्यक्त गरिन्।

२०७४ को निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयरमा निर्वाचित भएकी उनी हाल नेकपा एकीकृत समाजवादीमा छन्। उपमेयरका रूपमा आफूले हासिल गरेको अनुभवले पनि आफू मेयरका लागि सक्षम रहेको उनको भनाइ छ।

महिलाले नेतृत्व पाउनेमा आशंका

मकवानपुरको ९ वटा पालिकाको महिला उपप्रमुखहरू आगामी निर्वाचनबाट प्रमुख जिम्मोरीमा आउन चाहेको भए पनि उनीहरूले नेतृत्व गर्न पाउनेमा आशंका गरिएको छ। पछिल्लो ५ वर्षमा नेपालको ३ तहको सरकारमध्ये स्थानीय सरकार सबैभन्दा बढी प्रभावकारी देखिएपछि आगामी निर्वाचनमा स्थानीय तहको उम्मेददवार बन्न धेरै आकांक्षी देखिएका छन्।

५ वर्ष स्थानीय तहको प्रमुखको जिम्मेवारी सम्हालेकाहरू पुनः सोही पदमा दोहोरिन लविङ गरिरहेका छन्। जिल्लाको १० वटै पालिकाको मेयर तथा अध्यक्षहरू पुनः अर्को कार्यकाल पनि सोही पदमा दोहोरिन आकांक्षी देखिएका हुन्।

प्रमुख पदमा पुरानै अनुहार दोहोरिन चाहेपछि अघिल्लो निर्वाचनबाट उपप्रमुख बनेका महिला जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनमा प्रमुख नेतृत्व पाउन मुस्किल पर्ने भएको छ।

विशेषरी २०७४ को स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै एउटै पार्टीले जितेको स्थानीय तहका महिला उपप्रमुखहरूमा यो समस्या देखिएको हो। २०७४ को निर्वाचनमा एमालेले १० वटा स्थानीय तहमध्ये ६ वटामा प्रमुख र ८ स्थानीय तहमा उपप्रमुख पद जितेको थियो। एमालेले प्रमुख जितेको ६ पालिकामध्ये अधिकांशमा प्रमुख र उपप्रमुख दुवै एमालेकै हुँदा उपप्रमुखहरूलाई पार्टीबाट आफूले टिकट पाउनेमा आशंका रहेको छ।

भीमफेदी गाउँपालिकाको दुवै पदमा एमालेले जित हासिल गरेको थियो। एउटै पार्टीबाट अध्यक्ष बनेका हिदम लामाले पुनः सोही पदमा दोहोरिने आकांक्षा राखेपछि उपाध्यक्ष पार्वती रानालाई अगाडि बढ्न समस्या हुने  देखिएको छ।

लामाले अध्यक्ष पदको दाबी नछोडे पार्टीबाट आफूले टिकट नपाउने उनी बताउँछिन्। ‘अध्यक्षज्यू र म एउटै पार्टीका हौँ। उहाँले फेरि अध्यक्षमा उठ्ने चाहना राख्नु भएको रहेछ। म पनि अध्यक्ष पदको दाबेदार हो ,उहाँ अगाडि नबढे मैले अगाडि बढ्न  पाउँथेँ’,उनले  भनिन्।

राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङ पनि गाउँपालिका अध्यक्ष पदको दाबीबाट राजकुमार मल्ल पछि हटे आफूले अघि बढ्ने अवसर पाउने बताउँछिन्। राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पालिका अध्यक्ष राजकुमार मल्लले छाडेमा अध्यक्ष बन्ने पालो आफ्नै भएको बताएकी छन्। उनले पालिका अध्यक्षमा आफ्नो दाबी भए पनि आगामी निर्वाचनमा अध्यक्ष मल्लले दोहोरिने इच्छा राखेका कारण आफू पुनः उपाध्यक्षमै उठ्ने बताइन्।

अध्यक्ष मल्लले माथिल्लो नेतृत्वमा जाने इच्छा गरेमा भने आफू अध्यक्ष पदमा दाबी गरेर अघि बढ्ने उनले बताइन्। २०७४ सालको निर्वाचनमा राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो।

‘आगामी निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उठ्ने मेरो ईच्छा हो। तर, अहिलेको अध्यक्षज्यूले पनि दोहोर्‍याउन चाहनुभएको छ भन्ने सुनेको छु। उहाँ माथिल्लो तहमा गए मेरो पालो आउँथ्यो’,उनले भनिन्।

जिल्लाको अन्य स्थानीय तहको अवस्था पनि यस्तै छ। स्थानीय तहको नेतृत्व सम्हाल्न महिलाहरू सक्षम भएपनि एउटे पार्टीबाट विजयी भएकाहरू पुनः प्रमुख पदमा दोहोरिन चाहँदा महिलाले नेतृत्व गर्न पाउनेमा आशंका गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.