|

मन्थली : राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनाले गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन्। राप्रपा नेपाल रामेछाप जिल्ला समितिले आज (सोमबार) सदरमुकाम मन्थलीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको स्वीकार गरे।

उनले सत्ताकेन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन हुन पुगेकाले पहिलेका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरि जनताको माझमा आएकोसमेत दाबी गरे। नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनाउने खेलअनुसार काम भैरहेको आरोप लगाउँदै थापाले ठूला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रह्मलुटमा केन्द्रित भएको आरोपसमेत लगाए।

भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने वेला आएको बताएका थापाले राप्रपा नेपाल नै अरु असफल दलको विकल्प हुनसक्ने दाबी गरे। धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्वतर्फ जानसक्ने चिन्तासमेत थापाको थियो।

राप्रपा नेपालले आगामी दिनमा राजतन्त्र पुनर्स्थापनालाई कार्यनीति बनाउन नसक्ने भन्दै पार्टीको एजेन्डा सम्बर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि मात्र हुने उनले स्पष्ट पारे। कार्यक्रममा पार्टीका उपाध्यक्ष लाक्पा तामाङ र महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल आगामी दिनमा मुलुकको बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्नेहरूलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.