मेयर सुब्बाको निधनसँगै ढलेको थियो वामपन्थी 'किल्ला'

|
फाइल तस्वीर

विराटनगर : २०१५ सालको निर्वाचनपछि २०१७ मंसिर १६ गते राजपत्रमा एउटा सूचना प्रकाशित भएको थियो, जुन सूचनाले धरानलाई नगरपालिका बनाएको थियो।

नगरपालिका घोषणा भएसँगै भएको तत्कालीन निर्वाचनमा वामपन्थी उम्मेदवार केदारनाथ खनाल सभापति र कृष्णप्रसाद श्रेष्ठ उपसभापतिमा निर्वाचित भएका थिए। तत्कालिन समयको स्थानीय तहको चुनावदेखि ०७४ सालको स्थानीय तहको चुनावसम्म आइपुग्दा धरानमा वामपन्थीको नै एकछत्र राज थियो।

त्यसपछि पञ्चायतकालमा गोविन्द मोक्तान, कृष्णकुमार राई र बम देवान क्रमशः धरान नगरको प्रधानपञ्च निर्वाचित भएका थिए। उनीहरू तीनैजना कम्युनिष्ट पार्टीका थिए।

०४८ सालमा ध्यानबहादुर राई र ०५४ मा मनोज मेयाङ्बोले वामपन्थी जितको सफल यात्रा गरेका थिए। अर्थात त्यो समय पनि वामपन्थी उम्मेदवारकै जित भएको थियो।

पछिल्लो चुनाव अर्थात ०७४ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राईलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार तारा सुब्बा मेयर चिर्वाचित भए । मेयरमा विजयसँगै वामपन्थीको लगातार जितलाई सुब्बाले निरन्तरता दिए।

सुब्बाले २० हजार ९ सय ७५ मत ल्याउँदा तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए। अर्थात ४ हजार ८ सय ७३ मतान्तरले राईलाई हराउँदै सुब्बा धरान उपमहानगरका मेयर चुनिएका थिए। उनको जितले वामपन्थीको विजय यात्रालाई निरन्तरता दिन सफल भए पनि नेतृत्वमा पुगेको एक वर्ष पनि नबित्दै उनी जनताको अपेक्षा र प्रतिबद्धता पूरा गर्नै नपाइ सधैँका लागि अस्ताए अर्थात् ०७५ साउन १ गते उनको निधन भयो।

सुब्बाको निधनसँगै ढल्यो वामपन्थी 'लालकिल्ला'

सुब्बाको निधनपछि मेयरको पद करिब डेढ वर्ष खाली नै रह्यो। उनको निधनपछि कार्यवाहक मेयर एमालेबाटै निर्वाचित उपमेयर मञ्जु भण्डारीले सम्हालिन्। डेढ वर्षपछि सरकारले ०७६ मंसिर १४ गते उपनिर्वाचन घोषणा गरेको थियो। उपनिर्वाचनमा पनि एमालेको जितसँगै वामपन्थी विजयको विरासतलाई निरन्तरता दिनेमा  विश्वस्त रहेका भए पनि कम्युनिस्ट पार्टीको अपेक्षाविपरीत बन्यो। अर्थात परिस्थितिले कोल्टे फेर्‍यो।

०७४ को निर्वाचनमा करिब ४ हजार बढी मतअन्तरले पराजित तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदै एमालेको 'लालकिल्ला' ढालेका थिए। कम्युनिस्ट पार्टीको बलियो पकड क्षेत्रलाई तिलक राईको जितले भंग गरेसँगै पछिल्लो समय धरानको राजनीतिक परिदृश्य फेरिएको छ। योसँगै यसपालिको स्थानीय निर्वाचनमा धरान उपमहानगरको नेतृत्व कसको पक्षमा जाला भनेर चर्चा चलिरहेको छ।

यस्तो छ धरानको चुनावी माहोल

केन्द्रीय राजनीतिमा कांग्रेस, माओवादी, नेकपा समाजवादी र जसपाको गठबन्धनअनुसार नै धरानमा पनि गठबन्धन हुने हो कि भन्ने चर्चा भइरहेको छ। गठबन्धन भइहाले कांग्रेसलाई मेयर दिएर माओवादीलाई उपमेयर दिने तयारी रहेको नेताहरूको आँकलन छ। कांग्रेसले उपनिर्वाचनमा जित हासिल गरेसँगै पुनः जितको अपेक्षा बटुलेको भए पनि नेकपा एमाले भने उपनिर्वाचनमा ढलेको वामपन्थी किल्लालाई यसपटक फेरि ठड्याउने दाउमा छ।

पछिल्लो समय पार्टीभित्रको आन्तरिक मतभेदका कारण एमाले टुक्रिए पनि चोइटिएको असर भने धरानमा खासै नदेखिएको स्थानीयहरू बताउँछन्। प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्यको निर्वाचन क्षेत्रसमेत रहेको सुनसरीमा एकीकृत समाजवादीको उपस्थिति खासै बाक्लो नहरेको धरान–१२ का हर्क लिम्बू बताउँछन्। उनी सेवानिवृत्त ब्रिटिस आर्मी हुन्। उनको भनाइअनुसार जसपाको भने धरानमा दरिलै उपस्थिति देखिन्छ।

धरानमा सकस छ एमालेलाई : भवानी बराल

०७४ को स्थानीय निर्वाचनमा एमाले एक्लैले कांग्रेसलाई करिब ५ हजार मतले पराजित गरेको पत्रकार तथा विश्लेषक भवानी बराल बताउँछन्। तर यसको २ वर्षपछिको उप–चुनावमा अघिल्लो गणितलाई पछाडि छाड्दै नेकपालाई आश्चर्यजनक ढंगमा कांग्रेसले पराजित गरेको बताउँदै उनी भन्छन्, ‘जबकि माओवादी र एमाले दुई पार्टी एकीकरण भएपछि नेकपाको कुल मत कांग्रेसभन्दा १६ हजार बढी हुन्थ्यो,’ उनी थप्छन्, ‘मतदाताको जनप्रतिनिधि परिवर्तन गर्ने ट्रेण्डलाई यहींनेर आएर बुझ्न सकिन्छ।’

पहिलो स्थानीय निर्वाचनमा मेयर, उप–मेयरसहित १२ वडामा एमालेले सहज जित हासिल गरेको बताउँदै उनले त्यो निर्वाचनमा कांग्रेस ७ वटा वडामा मात्र सीमित भएको र माओवादीले एउटा मात्र वडामा जित हासिल गरेको बताए।

पछिल्लो समय एमाले विभाजनको पहिलो असर धरान नगर निर्वाचनमा पर्ने पक्कापक्की रहेको उनको दाबी छ। ‘दोस्रो, नगरको खानेपानी समस्या, सार्वजनिक जग्गामा भू–माफियालाई सुम्पन गरेको दुस्साहससहित अनेकौं अनियमिततामा एमाले नराम्रोसँग फसेको छ,’ उनी भन्छन्, ‘तेस्रो, नगरमा परिवर्तनको चाहना एमालेको विपक्षमा छ। चौथो, एमालेबाट उम्मेदवार बन्ने आकांक्षीमध्ये पूर्वमेयर मनोजकुमार मेयाङ्बोले केही मत सुरक्षित गर्न सक्छन्। तर एमालेले उनलाई उम्मेदवार बनाउने सम्भावना झिनो छ।’

वर्तमान उपमेयर मञ्जु भण्डारी एमाले ओली गुटको वफादार केन्द्रीय सदस्य भएको बताउँदै उनले नै उम्मेदवारी पाउने सम्भावना बढी रहेको उनले बताए। ‘भण्डारी खानेपानी, महेन्द्र कलेजको जग्गा भू–माफियालाई दिन गरेको सिफारिशमा नराम्रोसँग चुकेकी छिन्। यसकारण एमालेको सबैभन्दा कमजोर उम्मेदवार भण्डारी नै हुन्,’ उनले दाबी गर्दै भने, ‘एमालेइतर समूहमा गठबन्धन नै भएन भने पनि उनलाई पराजित गर्न कठिन हुन्न।’

एमालेमा अन्य आकांक्षीहरू त न्यून तौल भएकाहरू रहेको बताउँदै उनले एमालेले धरान नगरको निर्वाचनमा धेरै मुख मिठ्याईरहनु तर्कसंगत नरहेको उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.