विद्यार्थीको चाप थेग्नै सकस

|

काठमाडौं : हरेक अभिभावक आफ्ना छोराछोरी राम्रै विद्यालयमा अध्ययन गरेर नयाँ व्यावहारिक ज्ञान आर्जन गरून् भन्ने चाहन्छन्। त्यही कारण सामुदायिक विद्यालयमा पढाइको गुणस्तर राम्रो छैन भन्ने सोच राख्छन् र महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउँछन् अभिभावकहरू। यो होडबाजी अझै समाजमा कायमै छ।

उपत्यकाभित्रकै केही यस्ता सामुदायिक विद्यालय छन् जसले निजीभन्दा पनि अब्बल  शिक्षा दिने सामुदायिक विद्यालय छन्। यसले गर्दा विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। अभिभावकहरूको पनि रोजाइमा पर्छ। अहिले यही कारण अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ– जनकल्याण माध्यमिक विद्यालय। 

काठमाडौं महानगरपालिका वडा–६ बौद्ध महाँकालस्थित जनकल्याण २०१० सालमा स्थापना भएको हो। सोही विद्यालयमा अहिले विद्यार्थीको चाप थेगी नसक्नु छ।दुई हजार विद्यार्थीलाई मात्रै पढाउन सकिने क्षमताको विद्यालयमा अहिले क्षमताभन्दा बढी विद्यार्थी छन्।

अहिले नर्सरीदेखि कक्षा १२ सम्म २ हजार ७७ जना विद्यार्थी रहेको जनकल्याण माविकी प्रधानाध्यापिका कुमारी कमला राईले बताइन्। उनले भनिन्, ‘ठाउँको अभावले एउटै कक्षा कोठामा ८५ जनासम्म विद्यार्थी राखेका छौँ। एउटा कक्षा ए, बी, सी र डी सेक्सनसम्म छुट्याएर पढाइरहेका छौँ।’

२०७२ पछि फेरिएको विद्यालय

प्रधानाध्यापक राईका अनुसार २०५१ सालको जेठ २ गते त्यस स्कुलमा आउँदा विद्यालय अगाडि पाटीमात्र थियो। शौचालय थिएन। खानेपानी र बस्ने बेन्च थिएन। त्यसैले सुकुल बिछ्याएर पढाइ हुन्थ्यो। ‘म २०६३ देखि ०६५ सम्म निमित्त प्रअ बनेर यो विद्यालय चलाएँ,२०७२ मंसिरदेखि मात्रै म पूर्ण रूपमा प्रअ भएँ’, उनले भनिन्।

तीनतले एउटा मात्र विद्यालयको भवन थियो तर उक्त भवन २०७२ मा आएको भूकम्पले क्षति पुग्यो। ‘विभिन्न संघसंस्थासँग पैसा माग्न गयौँ, विभिन्न राजनीतिक पार्टीका नेतालाई बोलाएर छलफल पनि गर्‍यौँ, सहयोग उठेपछि १० कोठाको टहरा बनायौँ,’ उनले भनिन्। टहरा बने पनि राम्रोसँग पठनपाठन हुन सकेन। वर्षातका वेला पढाइ प्रभावित हुन्थ्यो।

‘भवन बनाइ माग्न सरकार लगायत विभिन्न निकायमा मागपत्र पेश गर्‍याैँ,’प्रअ राईले सुनाइन्, ‘त्यसपछि चिनियाँ नागरिक यहाँ आए,उनीहरूलाई कमल पौडेल दाइले स्कुलको स्थितिबारे देखाउनु भयो, एक हजार विद्यार्थी देखेर छक्क परे, सबै प्रक्रिया मिलाएपछि उनीहरूले आफै भवन बनाउने निर्णय गरे।’

तर, यहाँका विभिन्न नीतिगत झमेलाका कारण उनीहरूले एक वर्षसम्म भवन बनाउन सकेनन्। ‘उहाँहरू बोलीमा पक्का हुनुहुँदो रहेछ,आफैले बनाउन नसके पनि उहाँहरूले निर्माण समिति गठन गर्नु, त्यसपछि खाता नम्बरमा पैसा हाल्छौँ, हाम्रो निगरानीमा काम गर्नु भनेपछि हुन्छ भन्यौँ,’ उनले भनिन्। 

समिति गठन गरेपछि चीनबाट इन्जिनियर आए। महानगरपालिकाबाट नक्सापास गरी भवन सगरमाथा नामक दिई नयाँ भवन बन्यो। ‘चीनले करिब चार करोड सहयोग गर्‍याे, त्यही पैसाले नयाँ भवन बनायौँ,पहिला भएको भवन इटा र सिमेन्टमात्र थियो, झ्याल ढोका थिएन, त्यसमा रङरोगन गर्‍याैँ। त्यसपछि विद्यार्थीहरूको चाप बढ्यो,’उनले भनिन्।

अहिले त्यहाँको विद्यालयभित्र प्रवेश गरेपछि जो कोहीलाई भवन संरचनाले आकर्षित गराउँछ। विद्यालय गमलाले सजाइएको छ। २ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको स्कुलमा साइन्स ल्याब, कम्युटर ल्याब, नाच हल, पुस्तकालय, म्याथ ल्याब लगायत छन्। कोल, डोको, ढिकी लगायत परम्परागत सामग्री सजाएर राखिएको छ।

‘विद्यार्थीहरू टन्न खाजा खान पाउँछन्, खेल्न पाउँछन्। त्यसैले बालबालिका घर जानै मान्दैनन्,’ प्रअ राईले भनिन्। हामी सोमबार विद्यालय पुग्दा विद्यार्थीहरू मस्तले अध्ययन गरिरहेका थिए। नर्सरीका बालबालिका साथीभाइसँग जिस्किँदै रमाइरहेको देखिन्थे। कोही पढिरहेका थिए। 

भवनका भित्तामा विज्ञहरुको भनाइ लेखिएका छन्,‘इमान्दार मानिसको सोचाइ सधै न्यायपूर्ण हुन्छ,शान्ति मुस्कानबाट सुरुवात हुन्छ।’ लगायत सन्देशमूलक भनाइ लेखिएको छ। कक्षा कोठाहरू चिरी च्याट्ट सजाइएका देखिए।

‘पहिला धुलै धुलोमा पढाउनुपर्ने बाध्यता थियो, अहिले सगरमाथा, माछापुच्छ्रे लगायत चार आकर्षक भवन बनाएका छौँ। यहाँ आउनेहरू यो सामुदायिक विद्यालय हो र? भन्दै चकित पर्नुहुन्छ,’ उनले भनिन्।

यही वातावरणदेखि पढाइमा समेत गुणस्तर बढेपछि महानगरपालिकाले ०७७ सालमा जनकल्याणलाई नमुना विद्यालय घोषणा गर्‍याे।

‘यो नमुनाको रूपमा विद्यालय घोषणा गर्दैगर्दा हाम्रो यहाँ धेरै त्याग, तपस्या र मेहनत परेको छ। मैले मात्र हो भने गर्न सम्भव थिएन। यहाँका सबै शिक्षकहरूले मलाई साथ सहयोग गर्नुभयो। उहाँहरूको सहयोगलाई उच्च सम्मान गर्दै गौरवान्वित महसुस गरेकी छु,’ उनले भनिन्। 

स्पिकरबाट पढाइ

विद्यार्थी धेरै भएपछि पढाउन सहज होस् भनी अहिले स्पिकरबाट पढाइन्छ। ‘एउटै कक्षामा ८८ जनासम्म विद्यार्थी छन्, परसम्म आवाज पुग्दैन। त्यसैले ३५ वटा माइक शिक्षकलाई दिएका छौँ, उनीहरूले बोलेको आवाज स्पिकरबाट बज्छ  र सहजै विद्यार्थीले पनि सुन्छन्,’ उनले भनिन्। 

उनका अनुसार कक्षा १० मा मात्रै १४४ विद्यार्थी छन् भने कक्षा ९ मा १७० जना छन्। विद्यार्थी चाप बढेकै कारण थप १४ कोठा थप्न संरचना बनाइरहेको उनले जानकारी दिइन्। प्रअ राईका अनुसार चालू शैक्षिक सत्रमा विद्यार्थी धेरै भर्ना हुन थालेपछि एक महिनामै भर्ना अभियान बन्द गरिएको थियो। 

विद्यार्थीलाई पर्वको ज्ञान

जनकल्याणले कोर्षमा भएको नेपाली चाडपर्वको बारेमा मात्र पढाउँदैन। व्यवहारिक रूपमै पर्व मनाएर विद्यार्थीहरूलाई जानकारी गराइन्छ।

‘दशैँ, तिहार,राईको साकेला,लोसार लगायत पर्वका वेला हामी परिकार खाँदै जानकारी दिन्छौँ, पर्वअनुसार आ–आफ्नो जातका वेषभूषा लगाइदिन्छौँ, ’उनले भनिन्। धर्म संस्कृति जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यसो गरिएको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘यस्तो अभ्यास अरू स्कुलमा भएको देख्दिनँ, विद्यार्थीलाई ज्ञान मात्र होइन, हामी चाहिँ राष्ट्र भाव जगाउने संस्कार सिकाउँछौँ, राम्रो वातावरणमा प्रविधिलाई जोड्दै पढाउने मात्र नभई संस्कार र संस्कृतिबारे दीक्षित बनाउन चाहन्छौँ,’ 

विद्यालयले वेला–वेला चित्रकला, हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्छ। शैक्षिक भ्रमण, सम्पदा भ्रमण,सरसफाइ अभियान सिकाउने लगायत क्रियाकलाप पनि सिकाइरहेको छ जनकल्याणले। 

महिलाले के गर्न सक्छन् भन्ने देखाइदिइन् उनले

अहिले पनि अधिकांश महिला चुलाेचौकामा सीमित छन्। महिलाले केही गर्न सक्दैनन् भन्ने अझै पनि समाजमा यदाकदा सुनिन्छ। तर महिला प्रअको नेतृत्वले कति फरक पार्छ भन्ने जनकल्याणमा देखिन्छ।

२०४५ सालबाट शिक्षण पेशामा लागेकी प्रअ राई भन्छिन्, ‘यो पेशा गहन र जिम्मेवार पेशा हो,अझ महिलाहरूले समय व्यवस्थापन गर्न निकै चुनौती छ, बाधा अड्चन आइरहन्छ तर त्यसलाई सामना गर्नबाट पछि हट्न भएन,अहिले जनकल्याण स्कुल कहाँदेखि कहाँ पुर्‍यायाै भन्दै बधाई दिनेको ओइरो छ।’ 

विद्यालयको शैक्षिक गुणस्तरमा अब्बल बनाएको भन्दै उनले विभिन्न संस्थाबाट सम्मान र पुरस्कार समेत पाएकी छिन्। कक्षा ११ र १२ लाई स्थायी शिक्षक दरबन्दी नभएकाले निजी शिक्षक राख्न बाध्य रहेको उनले बताइन्।

‘यहाँ जम्मा ७३ शिक्षक कर्मचारी छौँ, ३३ जना निजी शिक्षक राखेका छौँ, उनीहरूलाई तलब दिन वार्षिक १३ हजारसम्म शुल्क लिन पनि बाध्य छौँ, पैसा दिन नसक्ने करिब तीन सयलाई निःशुल्क पढाइरहेका छौँ, ड्रेस पनि दिन्छौँ,’उनले भनिन्।

उनका अनुसार यही शुल्कबाट बिहान ६ बजेदेखि साँझ ६:४० सम्म पठनपाठन हुन्छ। अबको नयाँ शैक्षिक सत्रमा कसरी भर्नालाई व्यवस्थापन गर्ने भनी अभिभावकसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ।

‘यो विद्यालयले त्यसै चर्चा कमाएको होइन, म सधैँ बिहान साढे पाँचदेखि साँझ ६ बजेसम्म बसेर खट्छु, अझै थप नयाँपन ल्याउने सोचमा छु,अरू विद्यालयका प्रअहरूले पनि यसैगरी सोच र योजना बनाए सामुदायिक विद्यालय अब्बल बन्छ,’ उनले सुझाइन्। 

सबै तस्बिर : शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.