|
विद्यालय जाँदै गरेका बालिकाहरु

हेटौंडा : चैत्रको चर्को घाम, दायाबायाँ भीर भएको ओरालो बाटो भुईँमा लत्रिनै लागेको लामो फ्रकमाथि घुँडासम्म आइपुगेको सर्ट एउटा हातमा लौरो अनि अर्को हातले पिठ्युँमा ३ वर्षको बच्चा च्याप्दै एक घण्टा हिँडेपछि बल्ल घर पुग्छिन्, राक्सिराङ गाउँपालिकाकी रोजिना चेपाङ।

मकवानपुरको विकट गाउँको अति सीमान्तकृत समुदायकी रोजिनाको यो विद्यालयबाट आउजाउ गर्ने दैनिकी हो। राक्सिराङ–९ घर भएकी उनी सिमलटारस्थित श्री प्राथमिक विद्यालयको कक्षा २ मा अध्ययनरत छिन्।

उनको घरबाट विद्यालय पुग्न डेढ घण्टा उकालो लाग्नुपर्छ जंगल,खोल्सा र उकालो बाटो चढेर दैनिक उनी आफू मात्रै विद्यालय जादिनन्, उनको बुईमा ३ बर्षीया बहिनी सधैँ हुन्छिन्।

रोजिनालाई आफू कति वर्षको भएँ भन्ने थाहा छैन गाउँलेहरूका अनुसार उनी ८ वर्षकी भइन् घरबाट विद्यालय टाढा भएकोले ढिला भर्ना भएकी उनी भर्खर २ कक्षामा पढ्दैछिन्। विद्यालय जान उकालो ओरालो हिँड्नुपर्ने भएकोले उनी बहिनीलाई सधैँ बोकेर स्कुल जान्छिन्।

किताब कपी च्याप्ने उनको कलिला हातहरूले बहिनीलाई च्यापेर दिनहुँ उकालो ओरालो गर्छन् । स्कुल जाँदा उकालो बाटो भएकोले डेढ घण्टा लाग्ने भएपनि फर्किदा ओरालो झरेर उनी एक घण्टामै घर पुग्छिन्।

बहिनी सानै छ, भीरको बाटो हिड्न सक्दिन त्यही भएर मैले बोकेर लैजाने गरेको छु’, उनले भनिन्। बहिनीलाई पिठ्युँमा बोकेर दैनिक एक घण्टा उकालो चढ्ने उनी स्कुल पुग्दा थकाइले निन्द्रा लाग्ने गरेको बताउँछिन्।

उनले पढ्ने गरेको स्कुलमा ३ कक्षासम्म मात्रै पढाई हुन्छ, ४ कक्षामाथि पढ्न अझै टाढा जानुपर्ने हुन्छ त्यसैले आफूले ३ कक्षासम्म मात्रै पढ्ने उनी बताउँछिन्।राक्सिराङ–९ तलाङ घर भएकी कोपिला चेपाङ पनि विद्यालय पुग्न दैनिक ५ घण्टा हिड्ने गर्छिन्।

कक्षा ६ मा अध्ययनरत उनी विद्यालय आउ जाउ गर्न दैनिक ५ घण्टा हिड्ने गरेकी हुन् १० बजे स्कुल पुग्न उनी घरबाट बिहान साढे ७ बजे नै निस्किन्छिन् बिहान सबेरै उठेर खाना पकाएर खाइसके पछि उनी साथीहरुसँग साढे दुई घण्टा बगरको बाटो हिडेर विद्यालय पुग्छिन्।

‘स्कुल धेरै टाढा छ सुनसान खोला र बगरको बाटो हिडेर जानुपर्छ’,उनले भनिन् ‘साथीहरु नहुँदा स्कुल जान पनि सकिदैन’। गाउँमा नजिकै स्कुल नहुँदा पढ्नलाई समस्या भएको उनले गुनासो छ।

उनले आफू वर्षातमा विद्यालय जाने गरेको भएपनि हिउँदमा भने पढ्न जान नपाउने गरेको सुनाइन्। ‘हिउँदमा पानी परेपछि बगरमा ठूलो बाढी आउँछ, स्कुल जाने बाटो नै हुदैन त्यसैले हामी वर्षामा मात्रै पढ्न जान्छौँ’, उनले गुनासो गरिन्।

घरबाट स्कुल जाने बाटो बगर र जंगल भएकोले जंगली जनावरको समेत डर भएको उनले बताइन्। उनले २/४ जना साथमा नलिइकन विद्यालय जान सक्ने अवस्था समेत नरहेको बताइन्।

स्कुल टाढा भएकै कारण आफ्ना धेरै साथीहरुले पढाई छोडेको उनको भनाई छ। बिहान बेलुका घरमा पनि काम गर्नुपर्नेमा स्कुल टाढा भएकोले काम गर्नै नभ्याउने भएपछि पढाई छोड्नेहरूको संख्या धेरै रहेको उनी सुनाउँछिन्।

‘३ कक्षासम्म एउटा स्कुल पढेपछि ५ कक्षासम्म अर्को, ८ कक्षा र १० कक्षासम्म अर्को गरेर विद्यालय पनि फेरिरहनु पर्छ’,उनले भनिन्। उनका अनुसार कक्षा बढेसँगै स्कुल पढ्न जाने दुरी पनि बढ्ने गरेको छ। स्कुल टाढा भएकोले पढ्ने जोश पनि हराउने गरेको उनले दुखेसो गरिन्।

यस्तो अवस्था रोजिना र कोपिलाको मात्रै होइन राक्सिराङ गाउँपालिकाको अधिकांश बालबालिकाहरु विद्यालय टाढा भएकै कारण पढाइबाट वञ्चित छन्।त्यहाँका बालबालिकालाई घरबाट विद्यालय पुग्नै सास्ती पर्ने गरेको छ।

पातलो बस्ती भएको राक्सिराङमा सहज रुपमा विद्यालयको पहुँच नहुँदा बालबालिकाहरु पढाईबाटै बञ्चित हुने गरेका हुन्। अति सीमान्तकृत समुदायका चेपाङहरु अशिक्षा र गरिवीको मारमा भएकोले पढाई उनीहरुको प्राथमिकतामा समेत रहेको पाइदैन।

त्यसमा पनि विद्यालय पुग्नै घण्टौँ हिँड्नुपर्ने भएपछि माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु कमै भेटिने गरेका छन्।

राक्सिराङका बालबालिकाहरूले विद्यालय पुग्न भीर, उकालो, खोला,बगर र जंगल छिचोल्नु पर्ने हुन्छ।

त्यसैले त्यहाँका बालबालिका पढाई छोडेर घरमा अन्नको अभाव हुने भएकाले गिट्ठा भ्याकुर र कन्दमुल खोज्न जाने गरेका छन्।

शिक्षाको ज्योतीबाट निकै टाढा रहेका राक्सिराङको चेपाङ समुदायमा अविवाहित २० वर्षको किशोरी भेटिन पनि मुस्किल पर्ने गर्छ त्यहाँका अधिकांश बालिकाहरुले पढाई छोडेर सानै उमेरमा विहे गर्ने गरेका छन् भने बालकहरु ट्याक्टर चलाउने, ढुंगा,गिट्टी, बालुवा लोड/अनलोड गर्ने, कामको खोजीमा बाहिर जानुको साथै गाँजा ओसारपसारमा समेत फस्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.