|

विराटनगर : स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै यतिबेला देशै चुनावमय भएको छ। शहर आसपास रहने नेता तथा कार्यकर्ता चुनावी अभियान लिएर गाँउ फर्किन थालेका छन्।

घरदेखि चिया पसलसम्म कुन दलले कुन पद पाउने भन्ने चर्चा र बहसको विषय बन्दै गएको छ। 

यस्तै पछिल्लो समय मोरङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट विराटनगर महानगरपालिकाको नेतृत्वको बाघडोर सम्हाल्न को जाने भन्ने विषयमा चर्चा चलिरहेको छ।  मेयर पदका लागि एकीकृत समाजवादीबाट जिल्लादेखि केन्द्रीय नेता समेतको दाबी रहेको छ।

विराटनगरमा कसको छ चर्चा ?

नेकपा (एस) का पोलिटब्युरो सदस्य महेश रेग्मीको पनि विराटनगर महानगरपालिकाको मेयर पदका लागि नाम चर्चामा रहेको छ। उनले यसअघिको निर्वाचनमा तत्कालीन एमालेबाट मेयर पदमा दाबी गरेका थिए। तर, विनोद ढकालले मेयरको टिकट पाएसँगै उनी ब्याक हटेका थिए।

यस्तै, मेयर पदका लागि  ओसिम आलमको समेत नाम चर्चामा  रहेको छ।  नेकपा (एस) मोरङ जिल्ला उप–सचीव तथा अनेरास्वविययु केन्द्रीय सह–अध्यक्ष रहेका आलम  विराटनगरमा लामो समयदेखि सामाजिक काममा सक्रिय छन्।

पार्टीले टिकट दिए आफू मेयर पदमा लड्न पछि नहट्ने आलम बताउँछन्। धेरैवटा पालिकामा पार्टी बलियो रहेको दाबी गर्दै उनले भने,‘बलिया भएका पालिकामा हाम्रै पार्टीबाट उमेदवार रहनेछन्।’

यस्तै,  नेकपा (एस) विराटनगर महानगर अध्यक्ष पारुल क्षेत्री पनि महानगर प्रमुखको आकांक्षी हुन्। महानगरको अध्यक्ष भएका कारण पनि आफू  मेयर पदको आकांक्षी रहेको उनी बताउँछन्।

नगर र गाउँपालिकामा क-कसको  चर्चा?

रतुवामाई नगरपालिकाको  मेयर मेयर पदका लागि टंक ढकाल आकांक्षी रहेका छन्। उनी रतुवामाई वडा–१० मा  तत्तकालीन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। भने उनी हाल नेकपा (एस) का पालिका उपाध्यक्ष हुन्।

यस्तै, मोरङकै सुनवर्सी गाउँपालिकामा कपिलेश्वर राजबंशी आकांक्षी देखिएका छन्।  नेकपा (एस) प्रदेश कमिटी सदस्य रहेका राजबंशी सुनबर्सीमा लोकप्रिय नेताका रुपमा मानिन्छन्।

बुढिगंगा गाउँपालिकामा जिल्ला सचीव राजन केसी र वडा नं. ४ का निर्वाचित वडा अध्यक्ष कासिम मिया गाउँपालिका प्रमुखमा आकांक्षी रहेका छन्।

मियाँ एमालेबाट निर्वाचित  हुन् भने उनी पार्टी विभाजनपछि समाजवादीतर्फ रहेका थिए।

यस्तै, कानेपोखरी गाउँपालिका अध्यक्षमा भूमि दुलाल आकांक्षी रहेका छन् भने रंगेली नगरपालिकामा नगर अध्यक्ष प्रल्हाद खतिवडा मेयर पदका लागि आकांक्षी रहेका छन्।

उत्तरी मोरङमा कसको छ चर्चा?

उत्तरी मोरङको पथरी नगरपालिकामा नेकपा (एस) बाट मेयर पदका लागि चण्डी राईको नाम चर्चामा रहेको छ।  जिल्ला कमिटी उपाध्यक्ष रहेका राई  जितको अपेक्षा सहित आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान सुरु गरिसकेका छन्।

त्यस्तै, उर्लाबारी नगरपालिका प्रमुखमा नेकपा (एस)बाट मानबहादुर श्रेष्ठ आकांक्षी रहेका छन्। लामो समयबाट राजनीति क्षेत्रमा सक्रिय रहेका उनी  उर्लाबारीमा जित हासिल गर्न सक्ने उम्मेदवारको रुपमा हेरिएको उनी निकटका एक नेताको दाबी छ।  श्रेष्ठ प्रदेश कमिटी सदस्य हुन्।

यस्तै, उर्लाबारीको नगर प्रमुखमा  पार्टीका नगर अध्यक्ष डिबी थापा पनि आकांक्षीको रुपमा रहेका छन्।

त्यस्तै,  बेलबारीमा नेकपा (एस)बाट भुपाल बस्नेत मेयरको आकांक्षी रहेका छन्। यस्तै, सुन्दरहरैचा नगरपालिकाबाट  पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सह–इन्चार्ज चन्द्रबहादुर गुरुङको नाम चर्चामा छ।

संविधानसभा सदस्यसमेत भइसकेका उनी  भूमिगत कालमा लामो समय जेलजीवन बिताएका पंचायत कालमा तत्कालीन इन्द्रपुर गाउँ पञ्चायतको जनपक्षीय उम्मदेवार भई प्रधानपञ्चमा निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.