'महिलालाई रोक्न खोज्‍ने पुरुषको सोच दिमागबाटै हट्नुपर्छ'

|

काठमाडौं : सरकारले तोकेको स्थानीय निर्वाचनको मिति वैशाख ३० नजिकिँदै गर्दा देशभर चुनावी चर्चा पनि बढ्न थालेको छ। अहिले सबैतिर उम्मेदवार र चुनावी गठबन्धनका कुरा सुनिन्छन्।

ललितपुर जिल्लामा रहेका ६ वटा स्थानीय तहका उपप्रमुखमध्ये अधिकांशले प्रमुखमा आकांक्षा व्‍यक्त गरेका छन्।

आफ्नो ५ वर्षे कार्यकालमा प्रमुखसँग कुनै मनमुटाव बाहिर नल्याएका ती उपप्रमुखहरु अहिले भने प्रमुखका लागि दाबी गर्न थालेका छन्।

एउटै पार्टीका भएकाले पनि ललितपुर महानगरमा काठमाडौं महानगरमा जस्तो प्रमुख र उपप्रमुखबीच कुनै टकराव देख्ने सुन्ने गरी बाहिर आएन। स्थानीय तहको निर्वाचन आउन एक महिना र केही दिन मात्र बाँकी छँदा ती उपप्रमुखले आफूहरू पनि अब पुरुषसरह योग्य रहेकाले प्रमुख बन्न योग्य रहेको दाबी गरेका छन्।

जिल्लामा १ महानगरपालिका, २ वटा नगरपालिका र ३ वटा गाउँपालिका रहेका छन्। ती सबैमा प्रमुख पुरुष नै भए पनि उपप्रमुख भने महिला रहेका छन्। ललितपुर महानगरपालिकामा, गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा कांग्रेसको नेतृत्व छ भने महालक्ष्मी नगरपालिका र महाङ्काल गाउँपालिकामा नेकपा एमालेले जित हाँसिल गरेको थियो। यद्यपि, एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि महालक्ष्मी नगरपालिकाकी उपमेयर समाजवादीमा गएकी छन्।

कोन्ज्योसोम गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै माओवादी केन्द्रका छन्। दलहरु गठबन्धन गरेर चुनावमा जाँदा ती स्थानीय तहमा महिला सहभागिताको ग्यारेन्टी हुने नहुने आशंका छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ को उपदफा ४ मा ती स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेद्वार हुने गरी मनोनयन पत्र दर्ता गर्नुपर्ने व्यवस्था छ।

यस्तै, फरक दल भएमा स्थानीय तह निर्वाचन ऐनमा प्रमुख-उपप्रमुखमा दलले एक जनामात्रै उम्मेद्वारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था लागू हुने छैन भनी उल्लेख छ।

सत्तारूढ गठबन्धन दलले स्थानीय तहमा उम्मेद्वारको तालमेल गर्ने तयारी गरेका छन्। २०७४ सालको निर्वाचनको मतपरिणाम, ती दलको सदस्य संख्या, सम्बन्धित स्थानमा दलको पकड आदिका आधारमा उनीहरुले तालमेल गर्ने बताएका छन्।

यसरी भागबण्डा हुँदा प्रमुख र उपप्रमुख नै फरक–फरक दलको भागमा पर्नेछन्। एउटा दलले एउटामात्रै उम्मेद्वारी दिँदा महिला अनिवार्य नहुने भएपछि त्यसमा महिला सहभागिता कतै ओझेलमा पनि पारिने होकी भन्ने शंका छ। ललितपुरका वर्तमान उपमेयर तथा उपप्रमुखहरू मेयर तथा अध्यक्ष पदका लागि आकांक्षा व्‍यक्त गरिरहेका छन्।

आफूहरूले अब प्रमुखकै जिम्मेवारी पाउनुपर्नेमा उनीहरू छन्। महिला पनि पुरुषसरह नै रहेको र जिम्मेवारी पाए सहजै स्थानीय तह हाँक्न सक्ने उनीहरूले बताएका छन्। उनीहरूको भनाइ  र  छोटो परिचय छुट्टाछुट्टै :

कमला लामा तामाङ

महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष कमला लामा वैशाख ३० मा हुने निर्वाचनमा अध्यक्षमै लड्ने सोच बनाएकी छन्।

उपाध्यक्षमा बसेर गाउँठाउँको सेवा गरिसकेकाले अब अध्यक्ष भएर कार्यकारी रुपमै जनताको सेवा गर्ने उनी बताउँछिन्। पालिकामा न्यायिक सम्पादन र महिला उद्यमीको विकासका लागि आफूले सक्दो प्रयास गरेको बताउने कमला नकारात्मक सोचलाई सकारात्मक सोचले बदल्नुपर्ने तर्क गछिन्।

बालविवाहको समस्या र आत्महत्याका समस्या आफ्नो पालिकाबाट धेरै घटाउन सफल भएको उनको दाबी छ। ५ वर्षमा जग बसालेकाले अब निर्माण गर्नका निम्ति अध्यक्षमा आफू सक्षम रहेको उनको भनाइ छ।

आफू एमालेको कायकर्ता भएकाले पार्टीले आफ्नो योगदानलाई कदर गर्दै महिला नेतृत्वका निम्ति आफूलाई अगाडि सार्ने उनको विश्वास छ।

मिङ्मा लामा

कोन्ज्योसोम गाउँपालिकाकी उपप्रमुख मिङ्मा लामाले आफ्नो ५ वर्षे कार्यकालबाट धेरै कुरा सिकिसकेकाले अब प्रमुखका लागि आफ्नो दाबी रहेको बताउँदै आएकी छन्।

हामी महिलाले केही गर्न सक्छौँ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्न पनि अध्यक्षमा आउनुपर्ने उनको तर्क छ।  महिलालाई अगाडि बढ्न नदिने सोच जबसम्म दिमागबाट डिलेट हुँदैन तबसम्म महिलाहरु नेतृत्वमा आउन सक्दैनन्, उनले भनिन्, 'मैले उपप्रमुख भएर गाउँपालिका कसरी सम्हाल्ने विषयमा धेरै अनुभव लिइसकेँ, अब नेतृत्व लिन पनि सक्छु।' उपत्यकामा एक मात्र स्थान कोन्ज्योसोममा जितेको माओवादीले टिकट दिए अध्यक्षमै लडेर चुनाव जित्ने कोन्ज्योसोमकी उपाध्यक्ष लामाले बताइन्।

यदि तालमेलका नाममा महिलालाई नसमेटी अगाडि बढ्न खोजे स्वतन्त्र तबरले पनि पनि महिलाले अध्यक्षमा उठ्न सक्ने क्षमता प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिइन्।

मुना अधिकारी

गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीलाई भने मेयरको आकांक्षा छैन। उनी यसपटक पनि उपमेयरमा दोहोर्‍याउने धुनमा छिन्। उपमेयर हुँदाका थुप्रै काम यत्तिकै बाँकी रहेको बताउँदै उनले ती कामहरु पूरा गर्न पनि उपमेयरकै आकांक्षी बनेको बताइन्।

'मेयरमै आउन पनि म योग्य नभएको पक्कै होइन तर म कांग्रेसको कार्यकर्ता भएको हिसाबले पनि मैले पार्टीको निर्णय मान्नुपर्छ', उनले भनिन् 'मेयरकै आकांक्षाभन्दा पनि यसपटक मैले उपमेयर भएर बाँकी रहेका महिला, बालबालिका र जेष्ठ नागरिकका पेन्डिङमा रहेका विषयलाई सक्काउनु छ।'

गीता सत्याल

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालाई मेयरमै चुनाव लड्ने चाहना छ। ५ वर्ष उपमेयर भएर धेरै अनुभव संगालेकी गीतालाई अब मेयरपट्टि नै ध्यान गएको छ।

'पार्टीले दिएको खण्डमा म मेयरकै आकांक्षी हुँ, ५ वर्षमा विभिन्न काम गरेको अनुभव मसँग प्रशस्तै छ', उनले भनिन्,  'उपमेयर पद कार्यकारी पद होइन अब म कार्यकारी पदमा बसेर काम गर्न चाहन्छु।' चुनाबी तालमेलमा प्रमुख र उपप्रमुखमा महिला नै गुम्न सक्ने चर्चा भइरहँदा उनले यसका निम्ति दरिलो आवाज बनाइरहेको उनले बताइन्।

निर्मला थापा

२०७४ सालको चुनाव लड्दा नेकपा एमालेबाट महालक्ष्मी नगरपालिकामा उपमेयरमा जितेकी निर्मला थापा कार्यकालको अन्तिम वर्ष एमालेबाट अलग्गीएर बनेको एकीकृत समाजवादीमा गइन्। उनले पनि ५ वर्ष उपप्रमुख बनेको अनुभवबाटै धेरै कुरा सिकेकाले अब मेयरकै दाबेदारका रूपमा आएको बताएकी छन्।

गठबन्धन दलले चुनावी तालमेल गर्दा समाजवादीको भागमा यो नगर पर्ने हुँदा आफू नै मेयरको बलियो प्रतिस्पधी भएको बताइन्। यद्यपि, पार्टीको निर्देशनअनुसार नै आफू चल्ने बताइन्।

'अब त मेयर भएर काम गर्न सक्ने ल्याकत राख्न सक्छु', उनले भनिन्, 'नयाँ पुस्तालाई पनि पदमा आउने वातावरण र सिक्ने मौका दिनुपर्यो नि।'

रन्जना घिमिरे

बाग्मती गाउँपालिकाकी उपप्रमुख रन्जना घिमिरेलाई पनि प्रमुख बन्ने आकांक्षा छ। उनी त्यसका लागि पार्टी भित्रबाटै सहमति जुटाउँदै अध्यक्षको निम्ति टिकट तान्न लागेकी छन्। उनले सधैँ पुरुष मात्रै अगाडि बढ्ने तर महिला चाहिँ सधैँ उपप्रमुख मात्रै बन्नुपर्ने भन्ने छ र? भन्दै प्रश्‍न गरिन्।

उनले भनिन्, '५ वर्षको सिकाइले धेरै काम गर्न सहज भएको छ अब सहजै पालिका हाँक्न सक्छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.