बाजागाजा र हर्ष बढाइँका साथ सडक उद्घाटन

|

म्याग्दी : उत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८ कुईने गाउँ  सडक सञ्जालसँग जोडिएको छ। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटर सडक निर्माण भएर बुधबार उद्घाटन गरिएको छ।

गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने कुइने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे।

ठाडाखानी–भेडिखाल्टा–कुईने सडकखण्डअन्तर्गत थिरबाङ-तारेबिसौना मोटरबाटो निर्माण समितिले सडक विस्तारमा चालू आवमा ९१ लाख १२ हजार ३ सय ९ रूपैयाँको लागतमा गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख, गाउँपालिकाको ३३ लाख ५० हजार गरी कुल १ करोड ७० लाखमा सडक बनाइएको निर्माण समितिका अध्यक्ष चबहादुर छन्त्यालले बताए।

उद्घाटनमा प्रमुख अतिथि गर्बुजाले जिल्लाका दुर्गम क्षेत्रमा सडक सञ्जाल, विद्युतीकरणसहित अति आवश्यक पूर्वाधारका लागि निरन्तर बजेट माग गरिएको बताए। ‘कुईनेमा जोडिएको सडकले धेरै सुविधा थपिएको छ, अन्य समस्याका बारेमा समेत सम्बन्धित निकायमा पुग्नेछु,’ सभापति गर्बुजाले भने। उनले रघुगंगा र घवलागिरी गाउँपालिका जोड्ने सडक सञ्जालसमेत प्राथमिकतामा रहेको बताए।

सोही अवसरमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले सडकलाई स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन गर्न मिल्ने बनाउने बताए। ‘हिमपात र बर्खाको समयमा हुने समस्या समाधानका लागि प्रतिबद्ध छौं, गाउँलेको चाहना र पालिकाको सपना पूरा भएको छ,’ अध्यक्ष भण्डारीले भने।

सडक सञ्जाल जोडिएपछि गाउँमा उत्पादन हुने कृषिजन्य वस्तुको बजारीकरणमा समेत सहज भएको बताए। उनले आगामी वर्ष गाउँसम्म केन्द्रीय विद्युत प्रशारण लाइनमासमेत गरिने बताए। सडकमा स्थानीय र सहयोगदाताको योगदान अतुलनीय रहेको छ। ‘हामीलाई अब सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न सहज भएको छ,’ अध्यक्ष छन्त्यालले भने।

सोही अवसरमा सडक विस्तारमा १२ लाख ६० हजार सहयोग गर्ने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र ४ लाख ५० हजार, चित्रमान छन्त्याल ३ लाख ५० हजार सहयोग गर्ने थमबहादुर छन्त्याललाई सम्मान गरि सम्मानपत्र प्रदान गरिएको थियो। सडक बनेपछि स्थानीयलाई आवतजावतका साथै कृषि उपजलगायत उत्पादन निर्यात तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा सहजका साथै बिरामीलाई उपचारमा निकै राहत मिलेको स्थानीयको भनाइ छ।

सडक गाउँमा पुगेको खुसीयालीमा स्थानीयवासीले नाचगानसमेत गरेका थिए। सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई १ दिन लाग्ने सडक ५ घण्टामा छोट्टिएको छ। सदरमुकाम बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ। बाटो निर्माण समिति अध्यक्ष छन्त्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षाप्रेमी खिममाया छन्त्यालले स्वागत र  पूर्ण छन्त्यालले सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.