|

काठमाडौं : नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशहरू राजदूतविहीन भएको ७ महिना पुग्यो। लामो समयदेखि २० देशमा राजदूत नियुक्त हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो। फिर्ता बोलाएको ७ महिना पुग्दा पनि ती देशमा नयाँ राजदूत नियुक्त गर्न सकेको छैन। राजदूत नियुक्त नहुँदा कूटनीतिक पहल, श्रम सम्झौता, श्रमिकका समस्या समाधान गर्न कठिन भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

अलपत्र परेकाहरूको उद्धार, कामदारका समस्या समाधान, रोजगारीका क्रममा ज्यान गुमाएकाको शव ल्याउन तथा बिरामी भएकाको उद्धार गर्ने निर्णय गर्नसमेत समस्या हुने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। 

यी हुन् राजदूतविहीन देश 

परराष्ट्र मन्त्रालयका अनुसार ३३ देशमा नियोग र नेपाली दूतावास रहेका छन्। जसमा २० देशमा राजदूत रिक्त रहेका छन्। अस्ट्रेलिया, बंगलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमन, कतार, रुस, श्रीलंका, साउथ अफ्रिका, स्पेन, साउदी अरेबिया, दक्षिण कोरिया, अष्ट्रियामा राजदूत नियुक्ति हुन नसकेको मन्त्रालयले जनाएको छ।

यसरी लामो समयदेखि राजदूत नहुँदा विभिन्न समस्या देखिएको  परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उनले भनिन्, ‘राजदूत नियुक्तिको विषय हामीले धेरै अगाडिदेखि उठाउँदै आएका छौं। सरकारले त्यस विषयलाई गम्भीरताका साथ लिएन।’

राजदूत नहुँदा कुनै कूटनीतिक पहल हुन नसकेको र विदेशमा रहेका नेपाली श्रमिकका विषय उठाउन नसकेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार कुवेतमा दुर्गाप्रसाद भण्डारी र युएईमा कृष्णप्रसाद ढकाल राजदूत छन्। ढकाल र भण्डारी परराष्ट्र मन्त्रालयका उपसचिव हुन्। उनीहरू सरकारी कर्मचारी भएका कारण फिर्ता नबोलाइएको मन्त्रालय बताउँछ।

कतार, जापान, मलेसिया, इजरायल, बहराइन र ओमानका राजदूतलाई ५ असोजमा सरकारले फिर्ता बोलाएको थियो। साउदी अरबमा पनि राजदूत नियुक्त हुन सकेको छैन। गत असारमै साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह आफ्नो कार्यकाल सकिएपछि स्वदेश फर्किएका थिए। त्यसयता नयाँ नियुक्ति हुन नसकेको हो। 

२ वर्षदेखि राजदूतविहीन श्रम गन्तव्य मुलुक

नेपालीको आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरियामा २ वर्षदेखि राजदूत नियुक्त हुन सकेको छैन। मलेसिया, कतार, ओमान, बहराइन, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकालगायत देशमा नेपाली कामदार रोजगारीका लागि जाने गरेका छन्।

साउदी अरब र मलेसियामा समेत राजदूत नहुँदा कामदारका समस्या समाधान गर्न मुस्किल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। राजदूत नियुक्ति नहुँदा विदेशमा पुगेर विभिन्न समस्यामा परेका नेपाली उद्धारका लागि सरकारको निर्णय कुर्नुपर्ने अवस्था आएको छ। 

अन्य विभिन्न देशमा समस्या 

सरकारले राजदूत नियुक्तिमा ढिलाइ गर्दा मलेसिया, इजरायल, कोरियालगायत देशमा समस्या देखिएको छ। लामो समयदेखि रोकिएको मलेसिया सरकारले विदेशी कामदार लिने निर्णय गरेको छ। 

राजदूत नहुँदा कामदारका सेवा सुविधा, सामाजिक सुरक्षा कोषका साथै अन्य विषयमा समेत छलफल हुन सकेको छैन। केयरगिभरका लागि दुई चरणमा नेपालीहरू इजरायल रोजगारीमा गएका छन्। पछिल्लो समय श्रमिक आन्दोलन चलेका कारण विदेशी कामदारलाई रोक लगाएको छ। सरकारले पहल नगर्दा नेपाली जान पाएका छैनन्। कोरियामा मौसमी कामदार पठाउने, भाषा परीक्षा सञ्चालन गर्नमा समस्या देखिएको छ।

सरकारसँगै राजदूत पनि फेरिँदा समस्या

राजदूत नियुक्तिमा सरकारले ढिलासुस्ती गरेको वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ बताउँछन्। सरकार परिवर्तन हुँदा राजदूत पनि फेर्ने प्रचलनका कारण यस्तो समस्या देखिएको उनको भनाइ छ। 'सरकारले राजनीतिकभन्दा पनि जनताको पक्षमा काम गर्नु पर्छ,' उनले भने, ‘राजदूत नहुँदा श्रम रोजगारीमा त समस्या हुन्छ नै त्यसबाहेक अनुदान, नेपालसँग कूटनीतिक तथा नीतिगत समस्या हुन्छ।’

रोजगारदाता देशमा राजदूत नहुँदा योजनाकेन्द्रित छलफल गर्न समस्या भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए। सो विषयमा  पटक-पटक छलफल भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.