विश्लेषक भन्छन् : मधेशी दल अस्थिर भए, स्वार्थ हावी भइरह्यो

|

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि शीर्ष दलहरूको चुनावी दौड बढिरहेको छ। चुनावको मिति नजिकिँदै गर्दा ठूला राजनीतिक दलका नेताहरूको आकर्षण मधेश प्रदेशमा पर्न थालेको छ। 

मधेश केन्द्रित दलहरू तितरबितर भएको मौका छोपेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीलगायत सबै दलको ध्यान मधेश प्रदेशमै देखिएको हो। 

वैकल्पिक शक्तिको रूपमा स्थापित हुँदै गरेको मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि ठूला राजनीतिक दल मधेशमा केन्द्रित भएका हुन्। उपेन्द्र यादव र महन्थ ठाकुरबीचको टकरावका कारण राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता टिक्न सकेन। 

जसपा विभाजित भएपछि पनि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवाद उस्तै छ। यस्तै जसपाबाट विद्रोह गरेर महन्थ ठाकुर नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा पनि वरिष्ठ नेता राजेन्द्र महतोसँग कुरा मिल्न सकेको छैन। 

निर्वाचनको मुखमा मधेशी दलका नेताहरूको अस्थिर स्वभावकै कारणले ठूला दलहरूको 'क्रेज' बढेको छ। मधेशमा कमजोर जनमत भएकाले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट ‘विद्रोह’ गरेर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरू हरेक दिनजसो मधेशमै चुनाव केन्द्रित कार्यक्रममा सरिक भइरहेका हुन्छन्। 

एमालेले पर्साको वीरगञ्जमा आयोजना गरेको कार्यक्रम

ठूला दलको होडबाजी 

मधेशका बासिन्दालाई आफ्नो पार्टीमा भित्र्याउनका लागि ओली निरन्तर मधेश झरिरहेका छन्। चुनाव लक्षित गरेर ओली मधेशमा आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। मधेशी दलका नेताहरूलाई चुनावमा टिकटको आश्वासन दिँदै ओलीले पछिल्लो समय ठूलो संख्यामा अरू दलका जनप्रतिनिधि नै पार्टीमा भित्र्याइरहेका छन्। 

ओलीले वीरगञ्ज महानगरका मेयर विजय सरावगीसहित पछिल्ला दिनमा पार्टी प्रवेशको लहर नै चलाएका छन्। उनले मधेश केन्द्रित दलका नेताहरू पार्टीमा भित्र्याउँदै भनेका थिए, ‘जय मधेशवाला नारा बोक्ने एक मात्र पार्टी नै अब एमाले हो। मधेशको विकासमा सही बाटो देखाउने नेता र पार्टी अरू असफल भइसके।'

अब जय मधेश भन्ने नै एमालेले भएको उनको भनाइ थियो। आगामी निर्वाचनमा मधेश प्रदेशबाट एमाले पहिलो दल बन्ने समेत दाबी उनले गर्दै आइरहेका छन्। 

एमालेले मधेश आफ्नो बलियो बन्दै गएको दाबी गर्दैगर्दा माओवादी केन्द्रका नेता मातृका यादव माओवादीसँग एमालेले प्रतिस्पर्धा गर्नै नसक्ने दाबी गर्छन्।  

उनी भन्छन्, ‘मधेशको पहिलो पार्टी माओवादी हो। यहाँ एमालेसँग तुलना गर्न मिल्दैन। हामीले ०७४ को निर्वाचनमा पनि राम्रो स्थान ल्याएका थियौँ।’ प्रभु शाहले पार्टी छाडे पनि मधेशमा माओवादीको प्रभाव नबिग्रिएको उनले दाबी गरे। 

सिरहा मिर्चैयामा आयोजित कार्यक्रममा प्रचण्ड 

यस्तै, एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले पनि मधेशमा आफ्नो पार्टीको जनलहर बढेको दाबी गर्छन्। 

उनी भन्छन्, ‘प्रदेशमा अहिले पनि हाम्रो एमालेको भन्दा धेरै सांसद हुनुहुन्छ। अहिले एमालेको भन्दा हाम्रो राम्रो छाप छ। त्यसलै आगामी निर्वाचनमा एमालेभन्दा राम्रो नतिजा ल्याउन सक्छौँ।’ 

मधेशका सबै जिल्लामा वडा तहसम्म कमिटी गठन भइसकेकाले पार्टीको जनाधार बलियो बनेको उनको भनाइ छ। निर्वाचनमा गठबन्धन गर्ने सहमतिअनुसार कार्यान्वयन गरे अझ राम्रो नतिजा आउने उनको विश्वास छ। 

मधेशमा जसपाको विकल्प छैन : मनीष सुमन

'प्रत्येक जिल्लामा गठबन्धनको बैठक बसिरहेको छ। पालिकाको उम्मेदवार सिफारिस, वडामा उम्मेदवार चयनको काम पनि भइरहेको छ। चुनावलाई लक्षित गरेर हामीले देशभर संगठन विस्तारको काम गरिरहेका छौँ।' उनले भने, 'हामी उत्साही भएर निर्वाचनको माहोल आफ्नो पक्षमा ल्याउँदै छौँ।' 

स्थानीय निर्वाचनमा हुने परिणामको पूर्व घोषणा भएकाले आफूहरू आक्रामक रूपमा अघि बढेको उनको भनाइ छ।

'नेता कार्यकर्ता सबै हाम्रो पार्टीमा आउन चाहिरहेका छन्। अन्य पार्टीमा जनमतसहित ठूला नेताहरू हाम्रो पार्टीमा आइरहेका छन्। त्यसले आगामी निर्वाचनपछि जनता समाजवादीको मत परिणामलाई निर्देशित गरेको छ। स्थानीय तहको निर्वाचनमा त मधेश प्रदेशको १३६ पालिकामध्ये अधिकांश जित्न सक्ने आधार बनेको छ। अन्य प्रदेशमा पनि उल्लेख्य संख्यामा हाम्रो उपस्थिति रहन्छ भन्नेमा ढुक्क छौँ।' उनले भने। 

 पार्टी विभाजनको प्रभाव पर्दैन?

पार्टी विभाजनको प्रभाव अलिकति पनि परेको छैन। हामी निर्वाचनको मुखमा आएर विभाजन भएको भए हुनसक्यो। तर, धेरै पहिले भएकाले त्यसको कुनै असर पार्टीमा देखिएको छैन। उनले थाहाखबरसँग भने, 'उहाँहरू पार्टीबाट बाहिरिएपछि त नेता कार्यकर्तालाई झन् अनुशासित बनाएको छ। क्षतिबाट हामी रोक्न सक्षम भयौँ। त्यसले निर्वाचनमा पार्टी विभाजनको असर देखिँदैन।' 

तपाईंहरूको पार्टीका नेता कार्यकर्ता ठूला दलले तानिरहेका छन् नि भन्ने प्रश्नमा उनी थप्छन्, 'स्वार्थमा लाग्ने जतिलाई उनीहरूले तानेका छन्। अहिले पार्टीमा जति नेता कार्यकर्ता छन्। उनीहरू इमान्दार ढंगले पार्टीमै लागेका छन्। अब तान्न सक्दैनन्।'

बरु कांग्रेस एमाले छाडेर जसपामा आउनेको ओइरो लागेको उनको दाबी छ। 'आउन धेरै आकांक्षी पनि छन्। तर, हामी हाम्रो पार्टीमा छलफल गरिरहेका छौँ। कसैलाई पार्टी प्रवेश गराउँदा त्यहाँको साथीहरूसँग छलफल नगरी भित्र्याउँदैनौँ।' सुमनले भने, 'त्यसैले हामीले सबैलाई प्रवेश दिएका छैनौँ। हामीले पार्टी प्रवेशको लागि खुला गर्ने भए अधिकांश हाम्रोमा आउन तयार छन्। प्रायको मुख्य लक्ष्य निर्वाचनको टिकट हुन्छ। त्यसैले स्थानीय साथीहरूसँग सल्लाह नगरी हामीले मात्रै निर्णय दिन सक्दैनौँ। 

‘मधेश राजनीतिको शक्तिकेन्द्र हाे’

मधेशको राजनीतिले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याउन सक्ने भएकाले पछिल्लो समय ठूला राजनीतिक दल मधेश केन्द्रित भएको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन्। 

उनी भन्छन्, ‘नेपालको राजनीतिमा जहिले पनि मधेशको राजनीतिक, रणनीति, निर्वाचनीय महत्व रहेको छ। यही कारण हो हिजोका दिनमा पनि महेन्द्र शाहले ‘कु’ गर्दाखेरी मधेशमै पुगे, ज्ञानेन्द्र शाह पनि ‘कु’ गरेपछि मधेशमै घुमे। अहिले पनि ठूला दलहरू मधेशमै सघन रूपमा लागेका छन्।’

मधेशमा जनसंख्या ठूलो भएकाले शक्ति प्रदर्शन गर्न सहज हुने उनको भनाइ छ। 

उनले भने, ‘मधेशमा ३०/५० हजार मान्छे सहजै बाहिर ल्याउन सकिन्छ। त्यो कुरा ओखलढुंगा र इलाममा सम्भव छैन। निर्वाचन भनेको शक्ति प्रदर्शन पनि हो। त्यसकारण बढीभन्दा बढी मान्छेलाई म्यासेज दिनु पनि हो। निर्वाचन भनेको प्रतिस्पर्धाको आधारमा जनताबीच जानु पनि हो।’

चन्द्रकिशोरको भनाइ जस्ताको जस्तैः

नेपालको राजनीतिमा जहिले पनि मधेशको राजनीतिक, रणनीतिक, निर्वाचनीय महत्व रहेको छ। यही कारण हो हिजोका दिनमा पनि महेन्द्र शाहले ‘कु’ गर्दाखेरी मधेशमै पुगे, ज्ञानेन्द्र शाह पनि ‘कु’ गरेपछि मधेशमै घुमे। अहिले पनि ठूला दलहरू मधेशमै सघन रूपमा लागेका छन्। 

पछिल्लो तथ्यांकलाई हेर्दा मधेशमा ठूलो जनसंख्या देखियो। तराईमा शक्ति प्रदर्शन गर्न सहज पनि हुन्छ। ३०/५० हजार मान्छे सहजै बाहिर ल्याउन सकिन्छ। त्यो कुरा ओखलढुंगा र इलाममा सम्भव छैन। निर्वाचन भनेको शक्ति प्रदर्शन पनि हो। त्यसकारण बढीभन्दा बढी मान्छेलाई म्यासेज दिनु पनि हो। निर्वाचन भनेको प्रतिस्पर्धाको आधारमा जनताबीच जानु पनि हो। त्यो सबै सेवा सुविधा मधेशमा सहजै हुने भएकाले ठूला दलहरूको मधेशप्रति आकर्षण बढेको हो।

सँगसँगै पूरक कारण के हो भने मधेश आन्दोलनपश्चात् मधेशले पुराना दलहरूको स्थान लिएको थियो। अर्थात् कांग्रेस र एमालेको ठाउँ ओगटेको थियो। अहिले मधेशका दलहरू कमजोर हुँदै जाँदा त्यो आयतनमा आफ्नो प्रभाव पार्ने अवसरको रूपमा लिएका छन्। 

दल बदल गर्ने प्रवृत्ति अहिले मात्रै होइन। पहिला पनि हुन्थ्यो। मधेशका दलमा हिजोका दिनमा कांग्रेस, एमाले र माओवादीका नेताहरू मधेशी दलमा आएका थिए। आज उनीहरू आ-आफ्नो दलमा फर्किरहेका छन्। अहिलेको परिस्थितिमा कांग्रेस र एमाले नै ‘पावर स्पेश’को रुपमा देखिएको छ। उनीहरू शक्तिशाली छन्। 

गाउँको एउटा इन्स्पेक्टर, जिल्लाको एउटा न्यायाधीश, अख्तियारको कर्मचारी समेत चिनिन्छन्। जिल्लामा सिडियो र एसपी कांग्रेसको छ कि एमालेको छ भनेर चिनिन्छ। जिल्लाको कुनै व्यक्तिले न्यायाधीश वा अख्तियारको कर्मचारी मधेशी दलको वा महन्थ ठाकुरको मान्छे र उपेन्द्रको मान्छे भनेर चिनिँदैनन्। कार्यकर्ता जब चुनावी र सत्ताको राजनीतिमा जान्छन् उनीहरूले पावर कोसँग छ भनेर त्योसँग टाँसिन खोज्छ। अहिले कांग्रेस र एमालेको संरक्षणमा जान खोजिरहेका छन्।

मधेश आन्दोलनका वेला किन कांग्रेस र एमाले छाडे भने त्यतिखेर आफ्नो अधिकार र पहिचानको कुरा थियो। आन्दोलनका वेला मान्छेले समर्पण गर्छ तर चुनावका वेला आफूलाई सुरक्षित बनाउन चाहन्छन्।

कांग्रेस र एमाले सरकारमा जो भए पनि पावरमा उनीहरूकै हात छ। उनीहरूको वर्चस्व छ। त्यसैले उनीहरूको ओत लाग्न खोजिरहेका छन्। अब रह्यो कांग्रेसमा हाउस फुल छ। 

अहिले खुला दरबाजा एमालेको छ। एमालेमा मधेशको ब्राण्ड छैन। रामचन्द्र झाहरू थिए। अहिले छैनन्। पावर कांग्रेस एमालेले कब्जा गरेर बसेको छ। बिचरा मधेशी दलहरूले गाउँको एउटा प्रहरी चौकी त संरक्षण गर्न सक्दैन। 

मधेशको परिप्रेक्ष्यमा मान्छे चोरी गरेर आउँछ र इन्स्पेक्टरलाई भन्छ ऊ एमाले वा कांग्रेसको छ भने जोगिन्छ। मधेशी दल मात्रै नभएर ठूला दलहरू पनि एकै ठाउँमा बस्न सकेका छैनन्।

माधव नेपाल र खड्गप्रसाद एउटै पार्टीमा टिक्न सकेनन्। हिजो मातृकाप्रसाद कोइराला र विपी कोइराला एकै पार्टीमा टिक्न सकेनन्। नेपालमा व्यक्ति केन्द्रित राजनीति हुन्छ। नेपालमा राजनीतिक प्रक्रिया शुरु भएको भर्खरै त सात दशक भएको छ। 

मधेशी दलहरू त १५ वर्ष मात्रै त भयो नि ! हेर्नुस् न एकैठाउँमबस्दा कस्तो हुन्छ ? छुट्टिएर गएपछि कस्तो कस्तो शब्द प्रयोग गर्दा रहेछन्। दलीय अभ्यासको परिपक्वता हाम्रोमा अभाव देखियो। दल भनेको गुट हो। एमालेमा हेर्नुस्, कांग्रेसमा हेर्नुस्। समानान्तर गतिविधि गरेको छ। आफ्नो भागमा ४०/५० प्रतिशत चाहियो भनेर भागबण्डा खोजेको छ। उनीहरूको भनाइ नै एउटै आउँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.