|

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ गराएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्समसहित सदस्यहरूलाई शपथ गराएका हुन्।

आज उपाध्यक्ष लक्समसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। उक्त अवसरमा नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई मुख्यमन्त्री राईले नियुक्तिपत्र पनि प्रदान गरे।

चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार उनीहरू प्रदेश योजना आयोगमा नियुक्त भएका हुन्। शपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, कर्मचारी, पत्रकारसहित योजना आयोगका नवनियुक्त पदाधिकारीका आफन्त उपस्थित थिए।

यसैबीच शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री राईले आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूलाई बधाई दिए। उनले संसद् र सरकारको समयावधि अब छोटो भएकाले सम्पूर्ण क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्न आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई आग्रह गरे।

मुख्यमन्त्री राईले संघीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको संसद्, झण्डै सोही प्रकारको सरकारका सामु थुप्रै चुनौती रहेको स्मरण गर्दै यस प्रणालीप्रति जनतालाई निराश हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.