|

काठमाडौं : चैते दशैँ मनाउने तरिका र यसको रौनकमा कमी आएको धेरैले महसुस गरेका छन्। अचेल कतिलाई चैते दशैंको हेक्का नै छैन। क्यालेन्डर हेक्का नराख्ने हो भने चैते दशैँको ज्ञात कमैलाई हुने गरेको छ।

ललितपुर गोदावरीका २७ वर्षीय सौरभ शर्मालाई चैते दशैँबारे ज्ञान नभएको सुनाउँछन्। 'यो दशैं चैतमा पर्छ भन्ने थाहा छ, तर यसको महत्त्व ,विधिविधानबारे मेरो ज्ञान छैन', उनी सुनाउँछन्, ' खासै तामझाम पनि केही हुँदैन, यो चाडबारे त्यत्ति रुची भएजस्तो लाग्दैन।'

 चैते दशैँ मनाउने तरिकामा पनि परिवर्तन आएको धेरैले महशुस गरेका छन्। पहिला पहिला सबैतिर चहलपहल हुन्थ्यो, अहिले यसप्रति मानिसहरुको मोह घटेको छ।

शुक्रबार  माइत जान भनेर लगनखेलमा गाडी कुरिरहेकी आकृति बस्याललाई माइत , मामाघर तथा आफन्तकोमा जानेहरुको भिड र रौनक नभएको महशुस भएको सुनाइन्। राता टिका निधारमा लगाएर हिँडेको दृश्य पनि पछिल्लो समय अलि कम नै देखिन थालेको उनले बताइन्।

 'पहिले पहिले यो दशैं महत्व थियो। घर, गाँउ र समाजमा चैते दशैँलाई प्राथमिकता दिइन्थ्यो',उनले भनिन्, 'अहिले मानिसहरु ब्यस्त भएका छन्। संस्कार र संस्कृतिमा उनीहरूको चासो कम देखिएको छ।'

महाङ्काल गाउँपालिकाका विजय बरामले पहिले चैते दशैँ भन्नेबित्तिकै अर्को दशैँकै झझल्को आउने गर्थ्यो, उमङ्ग हुने गरेको अनुभव सुनाउँछन्।

'हामी मामाघर जान्थ्यौ, गाँउ घरमा खसी काट्थे, टिका टालो हुन्थ्यो', उनी अनुभव सुनाउँछन्। ललितपुर महानगरपालिकाका सुरेश थापा मगरले सरकारले समेत यसलाई प्राथमिकतामा नराखेको सुनाउँछन्। 

संस्कृतिविद् डाक्टर वीणा पौडेलले पनि चैते दशैँ प्रतिको उत्साह घटेको बताइन्। डाक्टर पौडेलले विदा पाउनु मात्रै ठूलो कुरा नभए पनि चैते दशैं जस्तो पर्वमा विदा भए संस्कृतिको सम्मान हुने तर्क गरिन्।   'बिदा नै सबैथोक होइन , तर आवश्यक पर्ने समुदायलाई बिदा दिनु राम्रो हो', उनले भनिन्।

उनका अनुसार चैते दशैं पनि सनातन धर्मावलम्बीका लागि बडा दशैं जस्तै महत्व बोकेको पर्व हो। चैत शुक्ल अष्टमीमा भवानी दुर्गाको उत्पत्ति भएको र नवमीमा रामको कथासँगै अवतारवादको सन्दर्भसहित चैते दशैं मनाइने गरेको उनले स्पष्ट पारिन्।  बडा दशैंमा जस्तो सामाजिक माहौलको सिर्जना नभए पनि कतै कतै अनुष्ठान गरेर मान्नेहरुले चैते दशैंमा घटस्थापना गरी, जमरा राखेर, हनुमान चालिसा तथा चण्डी पाठ गरेर, बली चढाइ मनाउने चलन रहेको संस्कृतिविद् डाक्टर पौडेलले स्पष्ट पारिन्।

यसैविच , मिठो मसिनो खाँदै शनिबार चैते दशैँ मनाईदै छ। हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने परम्परा छ। चैते दशैँका दिन बिहान देखी घरघरमा देवीको पुजा आजा गरि टिकाटालो गर्ने चलन छ । यस दिन आफ्ना मामाघर , माइत ,ससुराली लगायत आफन्तको घरमा गएर मान्यजनको हातबाट टिका थाप्ने चलन छ। अशोजको दशैँमा जस्तो यो दशैँमा पहेँलो जमराको भने प्रयोग हुँदैन। चैते दशैँमा विगत केही वर्ष यता सरकारले सार्वजनिक विदा भने दिएको छैन।

घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, चण्डी , कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ। चैते दसैंलाई महत्व दिने व्यक्तिले भगवतीका मन्दिरमा पूजापाठका साथै पशु बलि पनि चढाउँछन्।

वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ। शक्ति स्वरूप भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवी भागवत, कालिका पुराण आदिमा उल्लेख छ। चैत दशैंको दिन अशोकको फूल खानाले रोग आदि नास हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख छ। असोजमा र चैतमा गरी वर्षमा दुईवटा दशैँ मान्ने गरिन्छ।

दुई फरक समयमा दशैँ मान्ने भएपनि दुवैमा शक्ति स्वरुप भगवतीको पूजा गरिने चलन छ। दशैँ विजयको प्रतीकको रुपमा लिने गरिएको छ। आसुरी शक्तिमाथि दैवी शक्तिको जित तथा असत्यमाथि सत्यको विजयको रुपमा लिइने चैते दशैँको आफ्नै महत्व रहेको छ।

असोजमा पर्ने दशैँ पहिले पहिले चैतमै मनाउने गरिएको किम्बदन्ती छ। चैतमा मनाउने दशैँका क्रममा विभिन्न खानाका परिकार खाँदा स्वास्थ्यमा खराबी आएको भन्दै असोजमा सारिएको भन्ने बूढापाकाको भनाइ छ।

चैते दशैँका दिन शनिबार काठमाडौं उपत्यकाका शक्तिपीठहरु गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, , श्वेतकाली, नक्साल भगवती, बज्रयोगिनी , इन्द्रावती , कालिकास्थान, सङ्कटा, मैतीदेवी, नरदेवी,  विजेश्वरी,  बज्रबाराही लगायतका मन्दिरहरूमा बिहानैदेखि अघिपछि भन्दा दर्शनार्थीको संख्या बढेको छ। चैते दशैँलाई महत्व दिनेहरुले भगवतीका मन्दिरमा पूजा पाठका साथै पशु बलि पनि चढाउँछन्। चैते दशैँका दिन सप्तशती , चण्डी , दुर्गा स्तोत्र आदि पाठ गर्ने गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.