प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने मजदुरको माग

|

धनगढी : केही दिनअगाडि भारतीय प्रहरीले पंजाबमा नगदसहित केही सामान चोरेको आरोपमा त्यहीँ मजदुरी गर्ने डोटीका ४ जनालाई पक्राउ गर्‍यो। चोरीको घटना सत्य भए पनि पक्राउ परेकाहरू भने उक्त चोरीमा संलग्न भएका थिएनन्। उक्त चोरीमा संलग्न भएका ४ जना भारतीय पनि त्यहाँबाट भागेर नेपालमा नै पसिसकेका थिए।

२ लाखभन्दा बढी नगदसहित अन्य सामान चोरेर चोरहरू फरार भएपछि निर्दोष नेपाली मजदुर भारतीय प्रहरीको फन्दामा पर्ने गरेको भारतमा मजदुरी गर्दै आएका सिद्धराज बमले बताए। ‘ती चोरहरूका कारण हामीजस्ता इमान्दार मजदुरी गरी खानेलाई दुःख छ,’ उनले भने, ‘यहाँको प्रहरी प्रशासनले हाम्रो कुरा सुन्दै सुन्दैन।’

उक्त चोरीको घटनामा संलग्न भएकालाई कैलाली प्रहरीले पक्राउ गरिसकेको छ। तर भारतमा पक्राउ परेका नेपालीहरू भने अझै भारतीय प्रहरीको हिरासतबाट छुटेका छैनन्। चोरीमा संलग्नमध्ये नेपाली पनि भएकै कारण भारतीय प्रहरीले डोटीका सोझा ४ जना मजदुरलाई पक्राउ गरेको भारतमै मजदुरी गर्दै आएका कविराज बमले बताए। ‘हामीलाई यहाँको कानूनबारे पनि केही थाहा छैन,’ उनले भने, ‘नेपाल प्रहरीसँग हामीलाई सहयोग गर्न आग्रह गर्दछु।’

चैत पहिलो साता ससुरालीबाट अपहरणमा परेका भनिएका कैलालीका एक पुरुष भारतीय प्रहरीको हिरासतमा फेला परे। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरका मीनबहादुर शाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ स्थित ससुराली घरबाट नेपालीले नै भारतीय प्रहरीको हिरासतमा पुर्‍याएको खुल्यो।

अनुसन्धान गर्दै जाँदा शाह पनि भारतमा चोरीमा संलग्न रहेको खुलेको कञ्चनपुर प्रहरीले जनाएको छ। चोरी गरेर शाह फरार भएपछि भारतीय प्रहरीले त्यहाँ रहेका अन्य नेपालीलाई पक्राउ गरेको थियो। तीनै नेपालीका आफन्तले शाहलाई पनि भारतीय प्रहरीको हिरासतमा पुर्‍याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए। ‘अन्य नेपालीलाई पनि त्यो घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘चोरी गर्नेहरूका कारण अन्यलाई समेत समस्या हुने गरेको छ।’

भारतमा चोरी गर्ने नेपालीलाई दुवै देशको कानूनबारे समेत ज्ञान हुने हुँदा उनीहरू भाग्न सफल हुने गरेका छन्। कतिपय घटनामा संलग्नहरू मात्रै पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ।

तर चोरीका घटनाले इमान्दारिपूर्वक काम गर्ने नेपाली मजदुरलाई भने समस्यामा पार्न थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘यसरी चोरी गर्नेहरू व्यावसायिक रुपमा नै लागेका छन्। उनीहरूलाई दुवै देशको कानूनको बारेमा पनि जानकारी हुन्छ। तर अन्य मजदुरी गर्नेलाई भने यसले गर्दा मर्का पर्ने गरेको छ,’ उनले भने।

भारतमा चोरी गर्ने केही नेपालीका कारण अन्य मजदुर भारतीय प्रहरीको नियन्त्रणमा पुग्नुपर्ने बाध्यता छ। यो प्रवृत्ति अन्त्यका लागि नेपाली प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने माग भारतमा मजदुरी गर्दै आएका नेपालीको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.