|

विश्वभर फैलिएको कोरोना महामारीका करिब दुई वर्ष नेपालको पर्यटन क्षेत्र प्राय ठप्प रह्यो। जसले पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो। पछिल्लो समय कोरोनाको संक्रमण घट्दै गएपछि पर्यटन क्षेत्रले बिस्तारै गति लिएको छ। नेपालमा पर्यटक आगमन बढ्दै गएको छ।

महामारीले पर्यटन क्षेत्रमा कस्तो असर पर्‍यो? अहिले कस्तो अवस्था छ? पुरानै अवस्थामा पुग्न कति समय लाग्छ? यसै सेरोफेरोमा नेपाल पर्वतारोहण संघका  अध्यक्ष सन्तवीर लामासँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी : 

कोरोना संक्रमण दरमा कमी आएसँगै पर्यटन क्षेत्र लयमा फर्केको हो?  

कोरोना महामारीका कारण करिब दुई वर्ष थला परेको पर्यटन क्षेत्रमा अहिले सुधारको संकेत देखिएको छ। विदेशी पर्यटक नेपाल आउने प्रक्रिया सुरु भएको छ। यद्यपि‚ पूर्ण रुपमा सुधार भइसकेको छैन। महामारीअघिकै अवस्थामा फर्किन अझै केही समय लाग्छ। विश्वमा कोरोना संक्रमण पूर्ण रुपमा हराएपछि त्यो अवस्था आउँला।

अहिले पर्यटन क्षेत्रको अवस्था कस्तो छ?

अहिले पर्यटन क्षेत्र आशा लाग्दो भएको छ। गत वर्षको तुलनामा पर्यटक आगमन बढेको छ। अहिले हिमाल आरोहणको सिजन भएकाले आरोहीका साथै ट्रेकिङमा जानेको आगमन बढेको छ। तर, अहिले नै संख्यामा भन्न सक्ने अवस्था छैन। सगरमाथा आरोहणका लागि ३०० जनाले अनुमति लिइसकेका छन्। यो संख्या सिजनको अन्त्यसम्म बढ्ने देखिन्छ। गत वर्ष यो ४०० जनाले आरोहण गरेका थिए। कञ्चनजंगा, धौलागिरि, मकालु, अन्नपूर्णलगायतका हिमाल आरोहण गर्ने विभिन्न टोली छन्।

हिमाल आरोहणको सिजन एक, दुई महिना मात्र हो। अहिले चित्त बुझ्दो अवस्था छ। वर्षा लागेपछि व्यवसाय ठप्प नै हुन्छ। 

नेपाल पर्वतारोहण संघले आरोहीलाई कस्तो सहयोग गर्छ

संघले दुई प्रकारको सहयोग गर्दै आएको छ। २७ वटा हिमाल आरोहणको स्वीकृति संघले दिँदै आएको छ। ठूलो हिमाल आरोहण गर्नका लागि पर्यटन विभागले स्वीकृति दिने गरेको छ। संघले आरोहीलाई बेसिकदेखि एड्भान्ससम्मका तालिम दिँदै आएको छ। धेरै कीर्तिमानी आरोहीहरू संघबाट तालिम लिने नै छन्। यस्तै‚ संघले हिमाल सरसफाइकर्मीलाई आर्थिक सहयोग गर्दै आएको छ। नेपाली सेनाले गर्ने हिमाल सरसफाइलाई पनि सहयोग गर्दै आएका छौं। संघले ५ लाख रूपैयाँ ‍दिएको छ।

पर्यटन क्षेत्रमा कोरोनाले कस्तो असर पार्‍यो

कोरोना महामारीले विभिन्न मुलुकमा सबै क्षेत्रलाई ठप्प पार्‍यो। त्यसबाट नेपाल अछुतो रहने अवस्था रहेन। कोभिडको संक्रमण कम भएसँगै अन्य क्षेत्र चलायमान हुन थालिहाल्यो। तर, पर्यटन क्षेत्र लामो समयसम्म सञ्चालनमा आएन। पर्यटन क्षेत्र विदेशी पाहुनाको आगमनले चल्ने व्यवसाय हो। विदेशी पर्यटक नेपाल आउन विभिन्न मापदण्ड पूरा गर्नुपर्ने साथै कोरोनाका कारण विश्वको अर्थतन्त्रमा ह्रास आएकाले विदेशी पर्यटन आगमनमा कमी आयो। जसका कारण नेपालले उक्त समयमा ठूलो क्षति बेहोर्नु पर्‍यो। पर्यटन क्षेत्र शून्यको अवस्थामा पुग्यो। 

कति क्षति भयो? कतिले रोजगारी गुमाए? 

होटल, रेष्टुराँ, विमान सेवा, ट्राभल एण्ड टुर्स तथा ट्रेकिङ लगायत क्षेत्र ठप्प भए। केही संघ संस्थाको अध्ययनअनुसार कोरोनाका कारण ४७३ वटा साना तथा ठूला होटल बन्द भए।

३ हजार ७४३ ट्राभल एजेन्सी, २ हजार ७९७ ट्रेकिङ एजेन्सी, ४ हजार २४१ टुर अपरेटर ठप्प भए। जसका कारण पर्यटन क्षेत्रलाई मुख्य पेशा बनाएका ८० प्रतिशत मजदुर बेरोजगार भएका थिए। कोरोना महामारीअघि यस क्षेत्रमा २ लाख ८३ हजारले रोजगारी पाएका थिए।

आर्थिक रूपमा यति क्षति भयो भन्ने यकिन तथ्यांक त छैन। तर‚ महामारीका कारण ६० प्रतिशत व्यवसायीले पलाएन भएका थिए। पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार करिब ३ खर्ब रूपैयाँ हाराहारी आर्थिक क्षति भएको छ।

पर्यटन क्षेत्रलाई महामारीअगाडिकै अवस्थामा फर्काउन कति समय लाग्ला

कारोना महामारीका कारण विश्व आर्थिक चपेटामा परेको छ। जसका कारण पर्यटक आगमनमा कमी आउन सक्छ। त्यसैले थालिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारको भूमिका महत्त्पूर्ण हुन्छ। सरकारले व्यवसायीलाई सहयोग गर्नु पर्छ। नेपालमा हिमाल छ त्यसैले पर्यटक आउँछन् भन्ने सोचेर बस्नु हुँदैन। पर्यटन आउने वातावरण सिर्जना गर्नु पर्छ।

पर्यटन क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारको भूमिका कस्तो हुनु पर्छ

पहिलो कुरा पर्यटन क्षेत्रलाई सुधार गर्न सरकारले विदेशी पर्यटक सहज रुपमा नेपाल आउने वातावरण सिर्जना गर्नु पर्छ। हवाईमार्ग र सडकमार्गलाई सहज बनाउनुपर्छ। विगतमा हिमाल चढ्ने व्यक्ति अहिले बुढा भइसेको हुन्छन्। उनीहरू नेपाल बस्न चाहन्छन्, परिवार नेपाल आउन चाहन्छन्। उनीहरूलाई ‘लङ स्टे भिसा’ दिनुपर्ने हुन्छ। त्यसो गर्दा विदेशी मुद्रा आर्जनमा पनि टेवा पुग्छ। बाह्रै महिना पर्यटक आउने वातावरण बन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.