धनकुटा : धनकुटामा हावाहुरीले १८ लाख रूपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका-८ सान्ताङका ११ घरमा क्षति हुँदा १७ लाख १५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। क्षति पुगेका सबै घरका छाना उडाएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।
चौबिसे गाउँपालिकाको मौनाबुधुकमा ३ वटा कृषि फर्ममा क्षति हुँदा २८ हजार रूपैयाँ बराबरको क्षति भएको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिए। क्षतिको विवरण संकलन गर्न घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको जानकारी श्रेष्ठले दिए। धनकुटामा हावाहुरीका कारण मानवीय क्षति भएको छैन।
हावाहुरीका कारण मौनाबुधुकबाट तल्लो हमेला जाने विद्युतको पोल भाँचिएकाले विद्युत अवरुद्ध भएको छ। करिब आधा दर्जन पोल भाँचिएकाले मर्मत हुन केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण धनकुटाले जनाएको छ।
पोल ढुवानीमा समस्या भएकाले मर्मत हुन केही दिन लाग्ने विद्युत प्राधिकरण धनकुटाका कर्मचारी हेमचन्द्र थापाले बताए। हावाहुरीका कारण धनकुटा नगरपालिकाको सान्ताङ, टेकुनाला साँगुरीगढीको बुढीमोरङलगायत स्थानमा पोल भाँचिएको जानकारी उनले दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।