धमाधम उम्मेदवार टुंगो लगाउँदै एमाले

|

हेटौंडा : स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै मकवानपुरमा नेकपा (एमाले)ले धमाधम उम्मेदवारको टुंगो लगाउँदैछ। चुनावी मैदानमा एक्लै होमिने तयारी गरिरहेको एमालेले स्थानीय तहका अधिकांश वडाहरूमा उम्मेदवारको टुंगो लगाइसकेको छ। केही वडाहरूमा भने सिफारिस भएर आएकाबाट टुंगो लगाउने चरणमा छ। 

मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये केहीमा एमालेले सर्वसम्मतबाट प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाइसकेको छ। हेटौंडा उपमहानगरपालिकासहित केही स्थानीय तहमा भने उम्मेदवार चयनमा हम्मेहम्मे परिरहेको छ। यद्यपि‚ छिट्टै उम्मेदवार टुंगो लगाइसक्ने एमालेले जनाएको छ।

तर‚ पाँच दल आवद्ध गठबन्धन भने उम्मेदवार चयनमा अलमलमै छ। २०७४ सालको स्थानीइ तह निर्वाचनअनुसार मकवानपुरको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी) पार्टीसहित दुई साना दललाई साथमा लिएर सबै स्थानीय तहमा विजयी हुने महत्वाकांक्षी योजना बुने पनि हालसम्म भागबण्डा मिलाउन सकेको छैन। जसका कारण उम्मेदवार छनोट हुन सकेको छैन। 

भागबण्डा मिलाउन आइतवार र सोमवार बसेको प्रदेशस्तरीय  गठबन्धनको  बैठक सहमति  नजिक पुगेको बताइएको छ। तर‚ सहमित भने गर्न सकेका छैनन्। निर्वाचनको मिति नजिकिएसँगै आ–आफ्नो पार्टीका उम्मेदवार टुंगो लगाउन नसक्दा गठबन्धनलाई प्राविधिक असर पुग्ने जानकारहरू बताउँछन्। गठबन्धनमा भागबण्डा मिलाउन ढिला भए पनि आकांक्षीहरू भने आ–आफ्ननो ढंगले  चुनावी अभियानमा होमिएका छन्।

मकवानपुरका १० वटा स्थानीय तहमा भागबण्डा मिलाउन पाँच दलीय गठबन्धन दैनिकजसो बैठक बसिरहेको छ। १० स्थानीय तह र १०२ वडामध्ये गठबन्धनमा सबैभन्दा ठूलो दलको  रूपमा रहेको कांग्रेसले ६ वटा स्थानीय तह र ६० देखि ६५ वटा वडामा दाबी गरेको छ।

कांग्रेसले हेटौंडा उपमहानगरसहित राक्सिराङ, बकैया, मवानपुरगढी, कैलाश र मनहरी गाउँपालिकामा दाबी गरेको छ। २०७४ को निर्वाचनमा कांग्रेसले राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष, बकैयामा अध्यक्ष र थाहा नगरपालिकामा उपप्रमुख जितेको थियो।

यसरीगरी एकीकृत समाजवादीले हेटौंडा उपमहानगरसहित दुई गाउँपालिका र ३० वटा वडामा अध्यक्ष दाबी गरेको बताइएको छ। एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले हेटौंडामा उपमहानगर, कैलाश र इन्द्रसरोवर गाउँपालिकामा दाबी गरेको बताए। यी तीनवटै स्थानीय तहमा गत निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए। जसमध्ये कैलाश र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्षले एकीकृत समाजवादी रोजिसकेका छन्। हेटौंडाकी उपप्रमुख मीनाकुमारी लामा पनि एकीकृत समाजवादीमा समाहित भएकी छन्। लामा गठबन्धनभित्र भागबण्डा हुँदा हेटौंडा एकीकृत समाजवादीले पाए प्रमुखको उम्मेदवारी बन्ने तयारीमा छिन्।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले एउटा वडा र जनमोर्चाले दुई वटा वडा अध्यक्ष र केही वडा सदस्यमा दाबी गरेको जनाइएको छ। गठबन्धनका नेताहरूका अनुसार माओवादी र समाजवादीले दाबी गरेको स्थानीय तह पाउन मुस्किल छ। 

कांग्रेसले बहुमत सिट दाबी गरेपछि माओवादीले ३ देखि ४ र एकीकृत समाजवादीले १ देखि दुई स्थानीय तह पाउने कांग्रेस मकवानपुरका एक पदाधिकारीले बताए।

सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमध्ये दुई दलले हेटौंडा उपमहानगरपालिका आफूले पाउनुपर्ने दाबी गरिरहेका छन्। गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र एकीकृत समाजवादीको हेटौंडामा दाबी छ। यी दुई दल कुनै पनि हालतमा हेटौंडा उपमहानगर आफ्नो भागमा पार्ने दाउमा छन्।

२०७४ को निर्वाचनमा एमालेले जितेकाले एकीकृत समाजवादी हेटौंडा उपमहानगर आफूले पाउनुपर्ने अडानमा छ। तर‚ ठूलो दल भएकाले बागमती प्रदेशकै एक मात्र उपमहानगर रहेको हेटौंडा आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ।

अघिल्लो निर्वाचनमा एमालेसँग हेटौंडा उपमहानगरमा पराजित भएको कांग्रेस आगामी निर्वाचनमा जित्दै इतिहास रच्न चाहन्छ भने एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी एमालेको ‘लाल किल्ला’मा एमालेलाई हराएर विजयी सुरुवात गर्ने दाउमा छ। त्यसैले गठबन्धनमा हेटौंडा उपमहानगरको भागबण्डा पेचिलो बनेको छ।

उम्मेदवार चयनमा चुनौती

हेटौंडा उपमहानगर आफ्नो पोल्टामा पारे पनि कांग्रेस र एकीकृत समाजवादीलाई उम्मेदवार चयन गर्न समस्या हुने देखिएको छ। अघिल्लो निर्वाचनमा एमालेबाट उपप्रमुखमा निर्वाचित एकीकृत समाजवादीको उपाध्यक्ष मीना लामा प्रमुख बन्ने दौडमा छिन्। त्यस्तैगरी पार्टिको जिल्ला अध्यक्ष श्रीधर पोखरेल पनि उम्मेदवारका दाबेदार हुन्।

उपमहानगरमा पाँच वर्षको अनुभव लिइसकेकाले प्रमुखको टिकट आफूले पाउनुपर्ने लामाको  दाबी छ। तर, महिला भएकाले आफूले टिकट नपाउने हो कि भन्नेमा उनी सशंकित पनि छन्। पार्टी अध्यक्ष पोखरेल पनि सिनियर नेता भएकाले टिकट आफूले पाउनुपर्ने पक्षमा छन्।

गठबन्धनको प्रमुख घटक कांग्रेसलाई पनि उम्मेदवार टुंग्याउन सकस छ। कांग्रेसबाट प्रमुखका आकांक्षी धेरै छन्। तर‚ आनन्दराम पराजुली र प्रभात दाहाल प्रमुख दावेदार हुन्। २०७४ को निर्वाचनमा प्रमुखमा एमालेसँग पराजित पराजुली संस्थापन पक्षका हुन्  भने दाहाल संस्थापनइत्तरका हुन्। पराजुली पार्टीको जिल्ला सभापतिमा पहिलो चरणको निर्वाचनमा होमिए पनि  दोस्रो चरणको निर्वाचनमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भन्दै पछि हटेका थिए।

त्यतिबेला नै उनलाई प्रमुखको टिकट दिने भन्दै दोस्रो चरणको निर्वाचनमा जानबाट पछि हटाएको चर्चा थियो। उसो त उनी २०७४ निर्वाचनमा पराजित भएदेखि नै पुनः उम्मेदवार हुन सक्रिय भएर लागेका थिए। संस्थापनइत्तरका दाहाल कुनै पनि हालतमा टिकट हात पार्न दौडधुपमा छन्। उनले केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.