|

हेटौंडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ सिमलटारस्थित श्री प्राथमिक विद्यालयमा पछिल्लो समय चेपाङ बालबालिकाको आकर्षण बढेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था भएसँगै पछिल्लो समय चेपाङ बालबालिकाको विद्यालयप्रति आकर्षण बढेको हो।​

विद्यालयकी प्रधानाध्यापक मिठु लामिछानेका अनुसार एक वर्ष अघिसम्म विद्यालय आउन बालबालिकालाई घर-घरमा बोलाउन जानु पर्थ्यो। तर त्यति गर्दा पनि स्कुल आउने विद्यार्थीको संख्या निकै न्यून हुने गर्थ्यो। गत वर्षदेखि स्कुलमा सरकारले व्यवस्था गरेको निःशुल्क दिवा खाजासँगै विद्यालय आउने विद्यार्थीको संख्या ६९ पुगेको छ।

सधैं भोकमरी र गरिबीको चपेटामा पर्ने राक्सिराङ गाउँपालिकाका बालबालिका एक छाक खानैका लागि भएपनि विद्यालय धाउन थालेको प्रधानाध्यापक लामिछानेको भनाइ छ। 'दिवा खाजाले धेरै राम्रो प्रभाव पारेको छ। खाजा खानैका लागि भएपनि बालबालिका विद्यालय आउन थालेका छन्’,उनले भनिन्।

उनले प्रत्येक दिन एकजनालाई १५ रूपैयाँ बराबरको खाजा स्कुलमा नै बनाएर खुवाउने गरेको बताइन्। तर ५ कक्षासम्म मात्रै सरकारले खाजाको व्यवस्था गरेको हुनाले ५ कक्षाभन्दा माथिका कक्षामा न्यून विद्यार्थी मात्र हुने गरेका छन्।

अशिक्षा र गरिबीको रेखामुनि रहेका राक्सिराङ चेपाङ समुदायको प्राथमिकतामा शिक्षा पर्दैन। त्यहाँका अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय पठाउनु पर्ने विषयलाई गम्भीर रुपमा लिँदैनन् भने बालबालिका पनि विद्यालय जान रुचाएको पाइँदैन।

 तर सरकारले स्कुलमा दिवा खाजाको व्यवस्था गरेसँगै भोकमरीमा रहने चेपाङ समुदायका बालबालिका खाजा खाने निहुँले भएपनि विद्यालय पुग्न थालेका छन्।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.