|

काठमाडौं : मेलम्चीको पानी मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पठाइएको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार १ नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर मेलम्चीको पानी आयोजनाको सुरुङमा पठाएर उद्घाटन गरे। 

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुगेको थियो। क्षति मर्मतको काम भएपछि सुरुङमा पानी पठाइएको हो। यही चैत मसान्तभित्र काठमाडौं उपत्यकामा पानी पुर्‍याउने सरकारले घोषणा गरेको थियो। तर आज सुरुङमा भरिएको पानी उपत्यकामा आइपुग्न अझै दुई साता लाग्नसक्ने खानेपानी विकास समितिले जनाएको छ।

विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालका अनुसार सुरुङमा प्रति सेकेन्ड २ सय ६५ लिटर पानी हालिएको छ। आयोजना शुरु भएको दुई दशकपछि गत चैत १५ मा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिएको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार अहिले उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। तर बोरिङ, कुवालगायत स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर मात्र पानी आपूर्ति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.