|

काठमाडौं : वि.सं. २०५० पछि शुरु भएको नेपाली हिपहप संगीतलाई गिरीश खतिवडा, प्रनिल तिमल्सेना, मानस घले, यम बुद्धलगायत कलाकारको उदयले अझ फराकिलो बनायो। नेपाली हिपहपले आफ्नो छुट्टै नाम नेपहप पायो। नेपहप अहिलेको अवस्थामा आइपुग्न दश वर्षअघि आयोजित रअ बार्ज र्‍याप ब्याटललाई कोसेढुंगो मानिन्छ। रअ बार्जबाटै चर्चामा आएका लाउरे, युनिक पोएट, बालेन, साकार आदि अहिले नेपहपमा स्थापित नाम हुन्। 

संगीतको एउटा विधाको रूपमा स्वीकार नहुँदाको वेलादेखि अहिले मूलधारमा प्रवेश गरिरहँदा नेपाली हिपहप संगीतले धेरै उतारचढाव देखेको छ। त्यस्तै उतारचढावका कारण वर्ष २०७८ नेपहपका लागि महत्त्वपूर्ण रह्यो। यो वर्ष केही यस्ता घटना भए; जो नेपहपको इतिहासमा सधैँ स्मरणीय रहनेछन्। 

डोङ न्यास्टी बिफ

सन् १९८४ मा रोक्सेन सेन्ट र मार्ली मार्लले हिपहप ट्रायो युटिएफओ विरुद्धमा सार्वजनिक गरेको रोक्सेन्स रिभेन्जलाई हिपहपको पहिलो डिस ट्रयाक मानिन्छ। रोक्सेन वार्सको नामले चिनिने उक्त बिफ नै विश्व हिपहप इतिहासको अभिलेखमा रहेको पहिलो बिफ हो।

हिपहपमा बिफलाई युद्धको रूपमा हेरिन्छ। जहाँ दुवै पक्षले आफ्ना असन्तुष्टि, आक्रोश र्‍यापबाटै पोख्ने गर्छन्। युद्धजस्तै हिपहपमा बिफ पनि कमै हुने गर्छ। २०७८ को शुरुमै भएको नेपाली र्‍यापर डोङ र न्यास्टीको बिफ नेपहपको इतिहासमा सबैभन्दा ठूला बिफमध्येको एक हो।

डोङले रावण बोलको र्‍याप सार्वजनिक गरेपछि न्यास्टीले डिस ट्रयाकको रूपमा सोध हाम्रोबारे बोलको र्‍याप सार्वजनिक गरेका थिए। त्यसपछि छेडिएको बिफमा डोङले न्यास्टीलाई होच्याउँदै ड्रिलसट, इन्डसट लगायतका र्‍याप सार्वजनिक गरेका थिए भने न्यास्टीका तर्फबाट पनि र्‍याप सार्वजनिक भएका थिए। 

प्रत्यक्ष रूपमा एक हप्ता चलेको बिफ अप्रत्यक्ष रूपमा भने लामो समय चलेको थियो। उक्त बिफका कारण केही र्‍यापरहरूको व्यक्तिगत सम्बन्धमा दरार आएको थियो भने युट्युबमा दुवै र्‍यापरका सब्स्क्राइबरमा पनि उछाल आएको थियो। 

ब्रेक बार्जको उपाधि डिमृतीलाई

ब्रेक स्टेशनले आयोजना गरेको पहिलो ब्रेक बार्ज र्‍याप ब्याटलको उपाधि डिमृतीले जित्नु नेपहपका लागि यो वर्षको अर्को ठूलो घटना हो। नेपहपको इतिहास साढे दुई दशक लामो भए पनि महिला र्‍यापरहरू उल्लेख्य रूपमा बाहिर आउन सकेका छैनन्। यस्तोमा डिमृतीले उपाधि जित्नुलाई उदाहरणीय रूपमा हेरिएको छ। 

प्रतियोगितामा सहभागी दुई महिला र्‍यापरमध्ये फिनिक्स पहिलो राउण्डमा डिमृतीसँगै पराजित भएकी थिइन्। त्यसपछिका ब्याटलमा येनजेन र कुशलाई हराउँदै फाइनल प्रवेश गरेकी डिमृतीले फाइनलमा स्वप्निललाई हराएकी थिइन्। उपाधि जितेपछि उनको फिमेल र्‍यापर नामक गीत सार्वजनिक भइसकेको छ भने अन्य गीतको तयारीमा उनी रहेकी छिन्। 

मेनस्ट्रिम मिडियामा र्‍याप

हिपहपका लागि व्यक्तिगत प्रयासमा सानो क्षेत्र समेटिने गरी कार्यक्रम भइरहेका वेला यसै वर्षदेखि ठूलो क्षेत्रलाई समेट्दै नेपहपको श्रीपेच नामक र्‍याप रियालिटी शो टेलिभिजनमा प्रसारण भइरहेको छ। देशका विभिन्न ठाउँबाट अडिसन राउण्ड पास गरेर आएका कलाकारले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

नेपहपको श्रीपेचबाहेक ब्रेक स्टेसनको ब्रेक बार्ज र अल नेपाल थग फेमिली(एएनटिएफ)को हुडबाजी र्‍याप ब्याटल र रअ बार्जको नयाँ सिजनबाट पनि यो वर्ष सयौँ नव कलाकार नेपहपमा भित्रिएका छन्। एकै वर्ष र्‍यापसम्बन्धी यति धेरै कार्यक्रम आयोजना भएको यो पहिलो पटक हो।

नेपहपको क्षेत्रफल फैलँदै गर्दा यसै वर्ष प्लाटफर्म प्लाटफर्म बीचमा पनि केही विवाद देखियो। नेपालको पहिलो र्‍याप ब्याटलको रूपमा चिनिएको रअ बार्ज र एएनटिएफबीच कार्यक्रमको फर्म्याटलाई लिएर विवाद छेडिएको हो। 

काठमाडौंका मेयरमा बालेनको उम्मेदवारी

चर्चित र्‍यापर बालेनको काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा पनि यो वर्षको चर्चित विषय बन्यो। नेताहरूलाई गाली गर्दा गर्दा आजित भएर उम्मेदवारी दिने घोषणा गरेका बालेन यति वेला स्थानीय चुनावको तयारीमा छन्।

बालेनको पक्षमा सिंगो नेपहप एकजुट भएको छ भने युवालाई पालो दिनुपर्ने भन्दै धेरै कलाकारले आफूहरूको समर्थन बालेनलाई रहेको जनाइरहेका छन्। बालेन यति वेला जारी रियालिटी शो नेपहपको श्रीपेचको जजमा पनि रहेका छन्। 

ब्राउन सुगर केसमा लाउरे

नेपालका सर्वाधिक सफल र्‍यापर लाउरेलाई यसै वर्ष ब्राउन सुगर केसमा प्रहरीले समात्यो। उनका साथीको कोठाबाट साढे १२ ग्राम ब्राउन सुगर फेला परेपछि लाउरे पनि उक्त केसमा मुछिएका थिए। पुस १४ मा पोखराबाट समातिएका लाउरे फागुन दोस्रो हप्ता ५० हजार धरौटीमा छुटेका थिए। 

ब्राउन सुगर केसमा परेपछि लाउरे यति वेला भूमिगतजस्तै छन्। उनको कुनै नयाँ गीत आएको छैन भने सामाजिक सञ्जालमा पनि उनी निष्क्रिय छन्। केहीले यहाँबाट लाउरेको करिअर ओरालो लाग्ने अनुमान गरेका छन् भने केहीले उनको करिअरमा खासै असर नपर्ने बताइरहेका छन्। 

जी बबको उदय

एएनटिएफको हुडबाजीबाट चिनिएका जी बबको उदय यो वर्षका महत्त्वपूर्ण घटनामध्येको एक हो। माइलासँगको र्‍याप ब्याटलबाट चर्चामा आएका जी बबले थोरै समयमा अन्तरराष्ट्रिय रूपमा ख्याति कमाएका छन्। हुडबाजीमा मात्र चारवटा ब्याटल खेलेका जी बब युट्युब भ्यूजका आधारमा नेपालको सबैभन्दा सफल ब्याटल र्‍यापर बनेका छन्।

हुडबाजीको सेमिफाइनलमा पुगेर पनि सहभागी नभएका जी बबले भर्खरै प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'ए मेरो हजुर ४' का लागि प्रवर्द्धनात्मक गीत गाएका छन् भने यति वेला उनी अष्ट्रेलिया भ्रमणमा छन्। अष्ट्रेलियापछि जी बब अमेरिका, युरोप तथा नेपालका पनि विभिन्न ठाउँको भ्रमणमा जाने बताइएको छ।

ब्याटल र्‍यापबाटै यो स्तरको चर्चा कमाएका २० वर्षीय जी बबलाई नेपाली हिपहप संगीतको भविष्य पनि मान्न थालिएको छ। एएनटिएफको अफिसियल च्यानलमा मात्रै जी बबका चार ब्याटलमा जम्माजम्मी ३ करोड ३३ लाखभन्दा बढी भ्युज रहेको छ भने अन्य भिडियोमा पनि लाखौँ भ्युज रहेका छन्। 

उनको सबैभन्दा बढी हेरिएको भिडियो माइलासँगको ब्याटलमा जसलाई १ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ। उक्त ब्याटल नेपहपको इतिहासमा लाउरे र युनिक पोएटको ब्याटलपछि सबैभन्दा बढी हेरिएको ब्याटल हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.