कञ्चनपुर : सत्तारुढ दल नेपाली कांग्रेससँग चुनावी तालमेलमा दूरी बढेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवार चयन गर्न थालेका छन्।
कांग्रेसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय लिए पछि यी दुई दल तालमेल अनुसार उम्मेदवार चयन गर्ने मनस्थितिमा थिए।
कांग्रेसका पालिका समितिले तालमेल गर्ने आवश्यकता नरहेको भन्दै घोषणा गर्न थालेपछि सत्तारुढ गठबन्धन आबद्ध चार दलबीच अनौपचारिक छलफल समेत रोकिएको छ।
यस अघि चैत २१ गते सत्ता साझेदार चार दलको बैठक कांग्रेस पार्टी कार्यालयमा बसेर अघि बढ्ने निर्णय भएकाे थियो।
त्यसपछि २३ गते बस्ने भनिएको बैठक बस्न नसकेपछि सत्ता साझेदार दलहरु आ–आफ्नै तयारीमा जुटेका छन्।
कांग्रेस त्यस अघिदेखि नै उम्मेदवारका आकांक्षी छनौट र चुनावी प्रचारमा थियो। अहिले कांग्रेसले सबै पालिकामा उम्मेदवारका आकांक्षीको नाम संकलन गरिसकेकाे छ।
सत्तारुढ कांग्रेसले तालमेल नगरी चुनावी प्रचार थालेपछि साझेदार धोका हुने आशंका बोकेर तयारीमा लागेका छन्।
सत्ता साझेदार माओवादी केन्द्र र समाजवादी दुबै उम्मेदवार चयनमा लागेका छन्।
माओवादी केन्द्रले वडा र पालिकाका उम्मेदवारका आकांक्षीको नामावली संकलन गरिरहेको छ। यसैगरी समाजवादीले पनि उम्मेदवार चयन प्रक्रियालाई अघि बढाएको छ।
‘तालमेल हुने भनेपछि त्यसैको आशामा बस्यौँ, कांग्रेस एक्लै अघि बढिसकेपछि हामी पनि तयारीमा लागेका छौँ,' नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. ३ का संयोजक कृष्णदत्त जोशी बोक्सरले भने,‘केन्द्रको सर्कुलर अनुसार सबै पालिका र वडामा उम्मेदवार छनौट सुरु गरि सकेका छौँ।’
माओवादी केन्द्रले यस अघि चुनावी तयारीका लागि पालिका र वडा स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो। केही पालिकामा माओवादीले चुनावी तयारीका लागि संगठन बनाएको छ।
नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विनोद नेपालीले केन्द्रको निर्देशन अनुसार उम्मेदवार छनौट सुरु गरिएको बताए। ‘वडाहरुमा उम्मेदवारी चयन सुरु गरिएको छ, पालिकामा पनि जान्छौँ, उनले भने।
समाजवादीको मंगलबार बेदकोटमा गरिएको नगर स्तरीय भेलाले पनि चुनावी तयारीमा जाने निर्णय गरेको छ।
कांग्रेसले भीमदत्त नगरपालिका सहित पाँच स्थानीय तहमा तालमेल नगर्ने औपचारिक निर्णय गरेपछि यी दुई दल पनि आपसी तालमेलका अनौपचारिक छलफलमा लागेका छन्।
माओवादी केन्द्रका केही नेताहरु भने समाजवादी भन्दा एमालेसित तालमेल गरी जाने पक्षमा देखिएका छन्।
कांग्रेसले तालमेल आवश्यकता नरहेको अडान लिएपछि सत्ता साझेदार दल कांग्रेससित झस्किएका छन्।
माओवादी केन्द्रले गठबन्धनमा चार पालिका प्रमुख र चार पालिकाको उप प्रमुख पाउनु पर्ने अडान अनौपचारिक रुपमा सार्वजनिक गरेको छ।
माग अनुसार नपाए माओवादी केन्द्रलाई तालमेल गर्न नहुने दबाव पर्न थालेको छ।
‘कांग्रेससित वर्ग पनि मिल्दैन, सरकारमा भएकाले ल जाऔँ भनेका हौँ, त्यसैमा पनि कांग्रेसमा ठूलो घमण्ड देखियो’ माओवादी केन्द्रका एक नेताले भने,‘कांग्रेसले नाई भने पनि केही छैन, एक्ला एक्लै पनि चुनाव लड्छौँ।’
सत्ता साझेदार यी दुई दल कांग्रेसका पालिका समितिले केन्द्रको निर्णय मान्ने आश भने मारेका छैनन्।
समाजवादीका नेता लोक बिक्रम थापाले केन्द्रको सहमति अनुसार तालमेल हुने भएकाले कांग्रेसले चाहेर पनि पछि हट्न नसक्ने बताए।
‘पार्टी निर्णय मान्नु पर्छ, त्यसमा कसैको केही लाग्दैन’ उनले भने,‘अहिले दबाव दिन पनि मान्दैनौँ भनेको हुन सक्छ।’
भागबण्डाका लागि दवाव दिँदै माओवादी
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा आफ्नो भागबण्डाका लागि अनौपचारिक दबाव दिन थालेको छ। माओवादी केन्द्रका नेताहरुले फेसबुकबाट सत्तारुढ गठबन्धनमा आफूले पाउनु पर्ने हिस्सा खोज्न थालेका छन्।
सत्तारुढ कांग्रेसका केही पालिका समितिले चुनावी तालमेल नगर्ने घोषणा गरेपछि चुनावी तालमेल जटिल मोडमा पुगेको छ।
तालमेल जटिल मोडमा पुगेपछि सत्ता साझेदार माओवादी केन्द्रले भागबण्डामा दाबी गरेको हो।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रचार समिति संयोजक गोकर्ण भट्टले फेसबुकबाट चुनावी तालमेलमा माओवादी केन्द्रलाई चार पालिकाको प्रमुख र चार पालिकाको उप प्रमुख चाहिने अडान अघि सारेका छन्।
उनले अघि सारेको भागबण्डामा सहमति नभएपछि एक्लै चुनाव लड्नु पर्ने सार्वजनिक गरेका छन्।
माओवादी केन्द्रले बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाको प्रमुख दिनु पर्ने अडान लिएको छ। भीमदत्त नगरपालिका सहित बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा उप प्रमुख खोजेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।