|

काठमाडौं :  ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शिर्षकमा १४ वैशाखदेखि एक महिना कला प्रदर्शनी हुने भएको छ। विकल्प आर्ट सेन्टरको प्रस्तुतिको रुपमा सरोज महतोले क्युरेट गरेको प्रदर्शनी वैशाख १४ मा शुरु हुनेछ।

६० को दशकदेखि हालसम्म नेपालमा चलिआएको कलाका विभिन्न शैलीमा आधारित चित्रहरू देखाइने प्रदर्शनी काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँमा हुँदैछ। क्युरेटर महतोका अनुसार आधुनिक समयमा विगतको कला अवलोकन गर्न उत्पत्ति र विविधताका साथै आधुनिक सन्दर्भसँग कलालाई जोडिनेछ। प्रदर्शनीमा विभिन्न विधामा ४५ जना कलाकारको चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ र फोटोग्राफीजस्ता सिर्जनाहरूलाई राखिने महतोले बताए।

प्रदर्शनीमा इन्स्टलेशन, भिडियो प्रोजेक्शन, साउण्ड र लाइट इन्स्टलेशनजस्ता फरक-फरक किसिमका कला प्रदर्शनीहरू १० जना कलाकारले प्रस्तुत गर्नेछन्। तीन साता चल्ने प्रदर्शनीमा ५ जना परर्फमेन्स आर्टिष्ट तथा समूहहरूले आफ्नो प्रस्तुति दिनेछन्। सँगै सांगीतिक प्रस्तुति पनि रहेको छ। प्रदर्शनी उपत्यकाका विभिन्न ४ ठाउँमा हुँदै छ।

पुल्चोकस्थित विकल्प आर्ट सेन्टरसँगै पाटनस्थित पार्क ग्यालरी, ठमेलस्थित ग्यालरी अफ क्रिएटिभ र ठमेलस्थित विद्रोह ग्यालरीमा प्रदर्शनी राखिनेछ। प्रदर्शनीका क्रममा ६० को दशकदेखि ९० को दशकसम्म नेपाली चित्रकलामा योगदान दिएका कलाकारहरूका चित्र प्रदर्शनी हुनेछ।

दिग्गज कलाकार स्व. लैनसिंह बाङ्गदेल, स्व. आरएन जोशी र स्व. इन्द्र प्रधानसँगै अग्रज कलाकार स्व. शशिविक्रम शाह, वत्सगोपाल वैद्य, वीरेन्द्रप्रताप सिंहलगायतका कलाकारको चित्रकलालाई पनि प्रदर्शनीमा राखिने क्युरेटर महतो बताउँछन्।

‘प्रदर्शनीमा यसको उदेश्य अनुसारका कलाकार र उनीहरूको सिर्जनालाई समेट्ने प्रयास गरेका छौं,’ महतो भन्छन्, ‘प्रदर्शनीमा नेपाली कला क्षेत्रमा असाधारण योगदान दिने स्थापित दिग्गज कलाकारदेखि कला क्षेत्रमा आफ्नो पहिचान खोजिरहेका कलाकारहरूसम्म रहेका छन्।'

‘विगतदेखि वर्तमानसम्मका नेपाली कलाको उत्सवको रुपमा हामीले प्रदर्शनी आयोजना गरेका छौं,’ वैशाख १४ गते शुरु हुने प्रदर्शनी एक महिना चल्ने महतो बताउँछन्। प्रदर्शनीमा चित्रकला, सांगीतिक प्रस्तुति, इन्स्टलेशन, कविता वाचनलगायत कार्यक्रमसँगै समसामयिक कलाकारिताको विषयमा पनि विमर्शका कार्यक्रमहरू रहेका छन्। सन् २०१३ मा स्थापना भएको ‘विकल्प आर्ट सेन्टर’ले करिब एक दशकयता नेपाली कला क्षेत्रमा काम गर्दै आएको छ।

समय समयमा स्वतन्त्र कलाकारहरूको चित्रकला तथा अन्य सिर्जनाहरूको प्रदर्शनी गर्नेदेखि फिल्म, परर्फमेन्स आर्ट, संगीतजस्ता कलाका विविध माध्यमहरूमा काम गरिरहेको विकल्पले समसामयिक कला क्षेत्रमा संघर्ष गरिरहेकालाई स्थान दिने र स्थापित कलाकारहरूको सिर्जनालाई वर्तमान समुदायसमक्ष चिनाउने काम गरिरहेको महतो बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.