काठमाण्डाैं : नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ।
नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको हो।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यसबारे जानकारी दिएकी हुन्।
यो सँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ।
प्रवक्ता लम्सालले रुस र युक्रेन बीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएका प्रस्तावहरू माथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन्।
उनले भनिन्, ‘पछिल्लो समय रुस र युक्रेनबीच जोडिएका विषयहरु पनि धेरै आएका छन्। हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसाबले अहिले यू एनमा इमर्जेन्सी स्पेशल सेसन चलिरहेको छ। त्यसमा विभिन्न विषयमा छलफल पनि भइरहेको छ। महत्वका आधारमा ४ ठाउँमा हामीले युक्रेनको पक्षमा भोट गरेका छौँ।'
प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताइन्।
प्रवक्ता लम्सालले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको समेत जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।