'प्रमुखमा दाबी गर्दैनौँ, उपप्रमुख छोड्दैनौँ'

|

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने दलहरूले चुनावी तालमेलको निर्णय गर्दै तयारीलाई तीव्र पारेका छन्।

पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गरेर एमालेविरुद्ध लड्ने चुनौती दिइरहेका बेला राप्रपा नेपाल नेपालले एमालेकै चिह्न लिएर चुनाव लड्ने सहमति गरेको छ।

यस सन्दर्भमा थाहा सञ्चार नेटवर्कका जगत भडारीले राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरू सूर्य चिह्न लिएरै चुनावमा लड्ने हुनुभयो है न त?

हाम्रो चुनाव चिह्न तीर हो। हाम्रो पार्टी भर्खरै ब्युँतिएको र चुनाव चिह्न पनि नयाँ भएकाले र नेकपा एमालेसँग चुनावी तालमेल भएकाले सूर्य चिह्नबाटै चुनाव लड्ने भएका हौँ।

चुनावी तालमेल त हुन्छ तर तपाईंहरूको चुनाव चिह्नमा एमालेहरूले भोट हाल्दैनन् कि भनेर सूर्य चिह्नबाटै लड्न लाग्नुभएको हो? 

त्यस्तो होइन। नयाँ चुनाव चिह्न भएको र मतपत्र पनि निर्वाचन आयोगले अस्ति नै छापिसकेको हुनाले यस्तो निर्णय गरेका हौँ। एमालेसँग तालमेल गरेर जाँदाखेरि लहरै सूर्यमा भोट हालेकाहरूले तल पट्टी तीर चुनाव चिह्न हेर्न प्राविधिक रूपमा पनि असजिलो हुने र सामान्य मतदातालाई बुझाउन गाह्रो पर्ने भएकाले अप्ठेरो नहोस् भन्ने हिसाब मात्र हो। यसको मतलब भोलि पूरै पार्टी एमालेकरण हुन्छ भन्ने होइन। 

देशभर कति सिट जित्नुहुन्छ त?

स्थानीय तहको निर्वाचनको लागि जति तयारी हुनुपर्ने त्यो तयारी गर्ने हामीलाई समय भएन। त्यसकारण हामी राष्ट्रव्यापी रुपमा उम्मेदवार खडा गर्दै छैनौँ। जहाँ जहाँ गठबन्धन गरेर उम्मेदवार बनाउँछौँ त्यहाँ जित हासिल गर्ने गरी नै गर्छौं।

हामीले धेरै ठूलो अपेक्षा पनि गरेका छैनौँ। यो चुनावलाई जनतामाझ जाने माध्यमको रूपमा मात्रै लिएका छौँ। यस चुनावमार्फत हामी पार्टीलाई स्थापित गराउने सोचिरहेका छौँ।

कतिवटा स्थानीय तहमा उम्मेदवार बनाउने तयारीमा हुनुहुन्छ ?

त्यति धेरै उम्मेदवार हुँदैनन्। एमालेसँगको गठबन्धनमा जहाँ जित सुनिश्चित छ त्यहाँ मात्र उम्मेदवारी दिन्छौ। त्यो भनेको २–४ सयसम्म हुनसक्छ। 

तपाईहरूको प्रतिस्पर्धा राप्रपासँग हो र? त्यसो होइन भने त सैद्धान्तिकता राप्रपासँगै तपाईहरूको तालमेल हुनुपर्ने नि होइन ?

हाम्रो प्रतिस्पर्धा जति दल चुनावमा सहभागी हुँदै छन् ती सबै हुन्।  

हामी लामो बाटोको यात्रामा छौँ। हामीले सही बाटो समातेका छौँ। त्यसैले हाम्रो सुदूर भविष्य निकै सुन्दर छ। त्यसैले हाम्रो विश्वास हिजो हामीसँग भएका साथीहरू सबै एकै ठाउँमा हुने दिन आउनेछ भन्नेमा म ढुक्क छु। 

राप्रपासँग तालमेल हुन किन सकेन?

सैद्धान्तिक हिसाबले राष्ट्रिय प्रजातन्त्र नेपालले सनातन धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, सुशासन र समुन्नतिको नारा तय गरेको कारण राप्रपासँग हाम्रो मतान्तर देखियो। त्यसैले ऊसँग हुन सकेन। 

राजाले माया गर्नेबेलासम्म राजतन्त्रबादी माया गर्न छाडेपछि ठिक उल्टो गणतन्त्रबादी हुनुभयो है?

माया र मोह भन्ने कुरा सधैँ भइरहने कुरा होइन। राजनीतिमा परिस्थिति बदलिरहन्छ। मुलुकको वस्तुगत परिस्थितिलाई ध्यान दिएर जनताको अपेक्षा हेरेर कुनै पनि पार्टीले आफ्ना नीति, विचार र सिद्धान्तलाई परिमार्जन गर्दै लैजानुपर्छ। 

तपाईहरूले एउटा राजासहितको प्रजातन्त्र छोडेपछि सबैभन्दा ठूलो पार्टी बन्छौँ भन्ने आकांक्षा पालिरहनु भएको छ है?

त्यसो नभएको भए त यी एजेन्डा जनताको बीचमा लिएर जाने नै थिएनौँ नि। 

तपाईंको पार्टीको विचार जनतालाई बुझाउन नसकेको हो कि? जनताले नरुचाएका हुन्?

हाम्रो पार्टी पुनर्जागृत भइसके पछि पहिलोपटक चुनावमा जाँदैछौँ। अहिले त हामी टेष्टेट भइसकेका छैनौँ नि। जब जनताको बीचमा जान्छौँ तब थाहा हुने कुरा हो यो त। 

संघीय चुनावसम्मै एमालेसँग तालमेल गर्नुहुन्छ कि बदलिन्छ?

त्यो त परिस्थिति हेरेर हुन्छ। 

भोलि अर्काको बाछो चाटेर मुखभरि रौँ हुने अवस्था आयो भने?

सबै परिस्थितिको मूल्याङ्कन गरेर पार्टीभित्र प्रशस्त छलफल गरेर निर्णय गरेको हुनाले अथवा विचार पुर्‍याएर विश्वासको साथ अघि बढेकाले त्यस्तो अवस्था आउला भन्ने मलाई लाग्दैन। 

तपाईंहरूले महानगर, उपमहानगर र नगरपालिकामा जित्ने सम्भावना छ र?

हामीले प्रमुखमा त त्यति ध्यान दिएका छैनौँ तर हामी उपप्रमुख लिन्छौँ। अर्को कुरा एमालेसँगको छलफल र भागबन्डामा भर पर्छ। यसमा स्थानीय स्तरदेखि पनि तालमेलको लागि निर्णय हुन्छ उहाँहरूको सिफारिसको आधारमा पनि हुन सक्छ। 

घोषणा पत्र छुट्टै सार्वजनिक गर्नुभएको छ। त्यसमा के समेट्नु भएको छ

लोक कल्याणकारी राज्य स्थापनाका लागि हामी अगाडी बढेका हौँ। धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट। त्यसमा सुशासन समुन्नतिहिन्दुराष्ट्र पर्छ। अर्को कुरा आम नागरिकमा दिनप्रतिदिन पर्ने आवश्यकता स्वास्थ्य, शिक्षा, रोजगारी र प्रविधिलगायत विकासका पूर्वाधार निमार्ण गर्ने भन्ने कुरा छन्।

त्यसैगरी, देशलाई आर्थिक रूपमा सम्पन्न गर्ने, उदारवादी अर्थतन्त्रलाई कसरी मजबुद पारेर अघि बढ्ने भन्नेमा हाम्रो सोच छ।  

अहिलेको निर्वाचन प्रणालीबारे तपाईंको धारणा के छ?

जुन किसिमले अहिले पार्टीगत आधारमा स्थानीय निर्वाचन हुँदैछ यो गलत छ यो मेरो व्यक्तिगत विचार हो। यो चुनाव स्वतन्त्र रूपमा भएको भए राम्रो हुन्थ्यो। 

भनेको निर्वाचन प्रणाली नै बदल्नुपर्छ भन्ने तपाईंको मान्यता हो?

कि निर्दलीय कि स्वतन्त्र रूपमा चुनाव भइदिएको भए यसमा इमान्दार र क्षमतावान मानिस नेतृत्वमा हुने थिए।  

यति महँगो निर्वाचन लड्ने पैसा कहाँ बाट आउँछ नेतालाई?

त्यसैले त भ्रष्टाचार भइरहेको छ नि, जसले इमान्दारीसाथ राजनीति गरेका छन्। जसले राजनीतिमै जीवन समर्पण गरेका छन् उनीहरूलाई टिकट दियो भने भागेर हिँड्नुपर्ने अवस्था आइसक्यो। पैसाजति भ्रष्टाचारी, बेविचारी, ठेकेदार र मेनपावरवालासग मात्रै छ। अनि इमानदार र राम्रा मानिसले कसरी चुनाव लड्न सक्छ? 

राप्रपा नेपालभन्दा राजेन्द्र लिङ्देनले नेतृत्व गरिरहनुभएको राप्रपामा जनलहर बढेको छ यो त सत्य हो नि है न?

नयाँ व्यक्ति अध्यक्ष भएर आउनुभएको छ त्यो के के न हो भनेर होला। हाटबजारमा पनि मान्छे जम्मा हुन्छन् नि त्यस्तै हो। साँझ परेपछि सबै आ आफ्नो घरतिर लाग्छन्। किनभने कुनै पनि नेपाली जनता स्वतन्त्र छैनन्।

पार्टीको ह्वीप लागेपछि आ-आफ्नो बाटो लाग्छन्। त्यो त लिङ्देनजीलाई पनि थाहा छ, हामीले सुरुसुरुमा राप्रपा नेपाल खोल्दा पनि त्यस्तै मान्छे जम्मा हुन्थे। त्यस्ता भिडको भरमा हुँदैन। मैले बुझेको देखेको परिस्थिति त्यो हो। 

राप्रपाको पछिल्लो महाधिवेशनमा कमल थापा प्यानलमा रहेकाहरू कहिले आउनुहुन्छ

हामीले कुनै दबाब दिने काम गरेका छैनौँ। यो उनीहरूको चाहनामा भर पर्ने कुरा हो। हामीकहाँ जता शक्ति उतै जाने चलन छ। भोलि कमल थापा बलियो भए यता आउँछन्। उता बलियो देखे उतै बस्छन्। के भन्न सकिन्छ र?

हामी लामो बाटोको यात्रामा छौँ। हामीले सही बाटो समातेका छौँ। त्यसैले हाम्रो सुदूर भविष्य निकै सुन्दर छ। त्यसैले हाम्रो विश्वास हिजो हामीसँग भएका साथीहरू सबै एकै ठाउँमा हुने दिन आउनेछ भन्नेमा म ढुक्क छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.