पटक–पटक एउटै खानेपानी आयोजनाको उद्घाटन

|

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी जब गत चैत्र १५ गते काठमाडौं उपत्यकामा वितरण थालियो, उपत्यकावासीमा खुशी छाएको थियो। पानी आउने मिति पटक–पटक सर्दा सर्दा पनि नआउँदा एउटा कथा नै भएको ठानेका उपभोक्ताले अन्ततः आयोजना शुरु भएको दुई दशकपछि पानी पिउन पाएका थिए।

तर, यहाँ झरेको पानी उनीहरूले २ महिना पनि राम्रोसँग खान पाएनन्। गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति पुगेको ९ महिनापछि मर्मत गरी हिजो (मंगलबार) पुनः आयोजनाको सुरुङमा पानी हालिएको छ।

तर अस्थायी रूपमा मात्रै पानी उपत्यकामा आउनेछ। सुरुङमा भरिएको अस्थायी रुपको पानी उपत्यकावासीले पिउन अझै दुई साता लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

पानी आएपछि मात्रै तीनपटक उद्घाटन

उपत्यकाभित्र पानी झरेपछि मेलम्ची खानेपानीको तीनपटक उद्घाटन भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको थियो।

​त्यही पानी ०७७ चैत १५ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का निर्देशक मिलन शाक्य, काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा लगायतले एकसाथ चुच्चेपाटीको महाँकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्व) खोलेर वितरण शुभारम्भ गरे। 

फेरि सोही आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ चैत २० गते भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर औपचारिक उद्घाटन गरिन्। उपत्यकाभित्र पानी झरेपछि मात्रै तीनपटक उद्घाटन भएको हो। यसअघि आयोजनाको मुखमा पनि धेरै पटक उद्घाटन भयो।

​क्षति मर्मतपछि पनि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले पानीको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको थियो तर मिलेन। त्यसपछि खानेपानीमन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरणको उद्घाटन गरे। एउटै खानेपानी आयोजनाको जसरी पटक-पटक उद्घाटन भयो, त्यसैगरी दीर्घकालीन व्यवस्थापन कहिल्यै हुन सकेन।

अस्थायी रूपमा यसरी वितरण हुनेछ पानी

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले अस्थायी रूपमा ल्याइँदै गरेको खानेपानी कसरी उपत्यकाभित्र वितरण गर्ने भनी अध्ययन भइरहेको जानकारी दिए। उनले भने, ‘नयाँ पाइप लाइन जडान गरिएका छन्, त्यसमा पनि टेस्टिङ हुन सक्छ, पहिला जस्तै गरी पनि वितरण हुनसक्छ, यसका लागि अहिले अध्ययन गरिरहेका छौँ।’ 

मेलम्चीको पानी आएपछि धेरै सहजता मिल्ने उनले बताए। गत चैत १५ मा उपत्यकाभित्र मेलम्ची खानेपानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिएको थियो।

​बाढीले पुर्‍याएकाे क्षतिपछि पनि दैनिक १७ करोड लिटर नै पानी ल्याउने योजना रहेको प्रवक्ता राईले बताए। उनका अनुसार अहिले उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। तर बोरिङ, कुवालगायत स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर मात्र पानी आपूर्ति भएको छ। ‘अस्थायी रूपमा मात्रै पानी ल्याए पनि यसले यहाँ धेरै सहजता मिल्ने छ,’ उनले भने। उनले पानी खानयोग्य हुने बताए।

निरन्तर पानी कहिले आउँछ?

मेलम्ची खानेपानी विकास समितिका प्रमुख वासुदेव पौड्यालका अनुसार अस्थायी रूपमा मात्रै अहिले पानी ल्याइनेछ। वर्षातको समयमा फेरि पानी बन्द गरिनेछ। यस हिसाबले उपत्यकावासीले बढीमा २ महिनामात्र उपभोग गर्न पाउने छन्। स्थायी रूपमा पानी नआएसम्म उपत्यकामा समस्या हुने केयुकेएलका प्रवक्ता राई बताउँछन्।

उनी भन्छन्, ‘मेलम्ची पानी नआएपछि त समस्या भइहाल्छ, तैपनि सक्दो अरू स्रोत खोजेर पानी दिन्छौँ।’ केयुकेयलका ग्राहक करिब २ लाख छन्।

कहिलेदेखि मेलम्चीको पानी उपत्यकामा निरन्तर आउँछ भन्ने प्रश्नमा खानेपानी विकास समितिका प्रमुख पौड्याल अहिले अध्ययन भइरहेकाले समय भन्न नसकिने बताउँछन्।

​उनले भने, ‘पहिरोबारे अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूले अध्ययन गरिरहेका छन्, ती अध्ययन हामीकहाँ आएपछि हेर्छौं। त्यसपछि मात्रै कहिलेसम्म स्थायी रूपमा पानी पठाउन सकिन्छ भनेर भन्न सकिन्छ।’

मेलम्ची योजनाको इतिहास

सन् २००१ मा ३७ अर्ब रुपैयाँ बजेट विनियोजन गरी यो आयोजना निर्माण आधिकारिक रूपमा शुरु भएको थियो। देशमा निर्दलीय पञ्चायत व्यवस्था भएकै वेला २०४५ मा बिन्नी एन्ड पाटनर्स युकेले खानेपानी समस्या समाधानका लागि २० आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखिएको थियो।

२०४७ मा स्टेनले एन्ड एसोसिएशनले मेलम्चीबारे थप अध्ययन गरेको थियो भने २०४९ को अस्ट्रेलियाली कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहरसमेत गरेको थियो। खानेपानी आयोजना निर्माणका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो ग्रुप कर्पोरेसन र सिआरसिसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो।

सम्झौताअनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मा सरकारले सम्झौता तोड्यो। त्यसपछि ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियाली कम्पनीको अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो।

मार्च २०१८ अन्तिम समयसीमा तोकिएको सिएमसीले लक्ष्यअनुसारकै मितिमा काम सम्पन्न गरेमा बोनस उपलब्ध गराइने घोषणासमेत गरिएको थियो।

२०४७ पछि र गणतन्त्र आएपछिका सरकारले पटक–पटक कहिले दशैँका वेला त कहिले नयाँ वर्षमा उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने भनी आश्वासन दियो। मेलम्चीको पानी ल्याउन सफल त भयाे सरकार तर दीर्घकालीन व्यवस्थापन गर्न सकेन। अहिले भने चिनियाँ कम्पनी सिनो हाइड्रोले क्षति मर्मतको काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.