|

काठमाडौं :  फर्केर हेर्दा  २०७८ साल खेलकुदका हिसाबले नेपालका लागि सुखद नै रह्यो। लामो समयसम्म अन्य क्षेत्रसँगै कोभिडले थलिएको खेलकुदले वर्षको सुरुदेखि नै माथि उठ्ने प्रयास गर्‍यो।

विशेषगरी क्रिकेट कहिले विवादमा रह्यो त कहिले क्रिकेटले नेपाली साख जोगाउन मद्दत गर्‍यो। वर्षको सुरुवातदेखि अन्त्यसम्म नै क्रिकेटको नतिजाले नेपालको शिर उचो राख्यो। नेपालले वर्षको पहिलो महिनामै घरेलु भूमिमा नेदरल्यान्डलाई १ सय ४२ रनले पराजित गर्दै मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको थियो। वर्षको अन्त्यतिर मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित टी–२० सिरिजमा पनि नेपाल च्याम्पियन बन्यो।

टि-ट्वान्टी र एकदिवसीय फर्माटमा उस्तै उस्तै खेल्ने नेपालले कप्तानका रुपमा ज्ञानेन्द्र मल्लको स्थानमा यसवर्ष बलर सन्दीप लामिछानेलाई नियुक्त गरियो। अलराउण्डर र नेपाली क्रिजमा राम्रो रन बनाएर विपक्षीलाई थर्काउने पारसले पनि यसै वर्ष अन्र्तराष्ट्रिय क्रिकेटबाटै सन्यास लिए। उनको सन्यासले गर्दा विश्वकप छनौटका खेलमा उनको अभाव प्रष्टै देखिएको छ।

पारसले टिम छाड्दा पुराना प्रशिक्षक पुवुदु दासानायकेको फेरी आगमन भएको छ। अहिलेसम्म १ हजार ६६ रन बनाएर १५ विकेट लिइसकेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी वर्षको अन्त्यतिर आईसीसी टी–२० वरीयताको अलराउण्डरतर्फ शिर्ष १० मा परेका छन्। वर्षको अन्यतिर आईसीसीले जारी गरेको नयाँ वरीयता अनुसार दीपेन्द्र शीर्ष १० भित्र पर्न सफल भएका हुन्।

उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।आइसिसी विश्व कप लिग–२ क्रिकेटमा पनि नेपालको प्रदर्शन त्यत्ति राम्रो हुन सकेन। क्रिकेटका एभरेष्ट प्रिमियर लिग इपिएल , प्रधानमन्त्री कप लगायतका अन्य प्रतियोगिताहरु पनि सम्पन्न भए। इपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनटाइगर्सले जितेको छ। 

फुटबलका पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरु दशरथ रंगशालामा सम्पन्न भए। दक्षिणी एशियाली राष्ट्रहरुको फुटबलको मेला साफ च्याम्पियन्ससीपमा यसपाली पनि नेपालले भारतको दबदबा तोड्न सकेन। पाकिस्तान र भुटान बाहेकका अन्य ५ मुलुकले खेलेको प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग ३ गोलले हार्‍यो। माल्दिभ्समा भएको यो प्रतियोगितामा पनि अफगानिस्तानले भाग लिएन।

घरेलु मैदानमा मोरिसस विरुद्ध मैत्रीपूर्ण फुटबलमा जित हाँसिल गर्दा थाइल्याण्डसँग उसैको भूमिमा भने नेपाल पराजित भयो। भदौमा दशरथ रंगशालामा भारत विरुद्धका २ खेलमा एकमा बराबरी र अर्कोमा हार भोग्यो। असोजमा उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाटै नेपाल बाहिरिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद प्रकरण सतहमा आयो। नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले घुर्की देखाएपनि फेरी नेपाली टिम सम्हाल्न थाले। बंगलादेशमा सम्पन्न साफ १९ वर्ष मुनिको महिला च्याम्पियनसीपमा नेपालले तेस्रो स्थान हाँसिल गर्‍यो। ए डिभिजन लिगमा लगातार दोस्रोपटक मच्छिन्द्रले उपाधि जित्दा नवप्रवेशी सातदोबाटोले चौथो स्थानमा रहेर लिग टुङ्गायो। च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परे।

कहिले राष्ट्रिय खेलकुद परिषद् त कहिले अखिल नेपाल फुटबल संघ अनि कहिले नेपाल क्रिकेट संघ क्यान पनि विवाद र झमेलामा परे। सरकारको नेतृत्व परिवर्तन भएसँगै परिषदको सदस्य सचिवमा गठबन्धनको सरकारले टंकलाल घिसिङलाई अगाडी सार्दा रमेश सिलवाललाई पछाडी धकेल्यो। सिलवालले सर्वोच्चको ढोका ढकढकाएपनि अन्तत घिसिङले नै राखेप जाने बाटो पाए।

खेलाडी ग्रेडिङका विषयमा ज्ञानेन्द्र मल्ल, सोमपाल कामी , दीपेन्द्र सिंह ऐरी लगायतका खेलाडीले असन्तुष्टि जनाएपछि नेपाल क्रिकेट एसोसियसन क्यान कारबाही गर्ने तर्फ अगाडी बढेपनि पछि सहमती कायम भयो। नेपाल सुपर लिग फुटबलको पहिलो संस्करण यसपाली देखी नै सुरु भयो। जसको पहिलो उपाधीको स्वाद काठमाडौं रेजर्सले चाख्यो। आगामी जेठ २२ गतेदेखी २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने मिती वर्षको अन्त्यमा घोषणा भएको छ। वर्षको अन्त्यतिर किर्किस्तानमा सम्पन्न एएफसी फुटसल एसियन कप छनोटमा अफगानिस्तान, उज्वेकिस्तान र ताजिकिस्तानसँग हार्दै अर्को चरणमा जानबाट बञ्चित भयो। 

जापानको टोकियोमा साउन महिनामा आयोजित ३२ औँ गृष्मकालिन ओलम्पिकमा नेपालको तर्फबाट ५ खेलाडीले सहभागिता जनाए। पौडीका गौरीका सिंह र (एलेक्स )एलेक्जाण्डर ग्याडिमाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सुनीया भट्ट तथा एथ्लेटिक्सका सरस्वती चौधरी ओलम्पिकमा सहभागिता जनाएपनि खासै राम्रो प्रदर्शन भएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.