|

सुर्खेत : कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान-आउनका लागि स्थलमार्ग र हवाईमार्गबाट खर्च बराबर लागेपछि यात्रुहरु मर्कामा परेका छन्।

लुम्बिनी प्रदेशको नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ भने फर्कंदा ५ हजार रकम भाडा कायम गरिएको छ। जान र आउन मात्र हवाई मार्गबाट १४ हजार खर्च हुने गरेको यात्रुहरु बताउँछन्।

त्यही पनि भनेको समयमा टिकट नपाउने समस्या रहेको छ। करिब १७ मिनेटको उडान रहने गर्दछ। स्थलमार्गबाट डोल्पा जानका लागि पनि योभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणहरु बताउँछन्।

सुर्खेतबाट जाजरकोट ८ सय, जाजरकोटबाट तल्लुसम्म ७ सय, अनाहबाट खदाङ रु १ हजार,  खदाङबाट त्रिपुरोकाट रु ५००  र सुपानीबाट दुनै ४ सय भाडा तिनुपर्ने बाध्यता रहेको छ।

खाना खर्च, बाटोमा सामग्री नदीपार गराउँदा छुट्टै शुल्क लाग्ने भएपछि जहाजमा जस्तै खर्च लाग्ने डोल्पा त्रिपुरासुन्दरी– ३ का रामबहादुर धरालाले बताए।

तोकिएको समयमा भेरी करिडोरभित्र पुल निर्माण नहुँदा सधैँ सर्वसाधारणले सास्ती भोग्नु परेको उनले बताए। भेरी करिडोरभित्र १३ वटा पुल निर्माण कार्य जारी रहे पनि असार मसान्तभित्र निर्माण कार्य सम्पन्न हुने कुरामा शंका रहेको यात्रुहरू बताउँछन्।

निजी प्रदायक कम्पनीका जहाजले मात्र डोल्पामा उडान भर्दा हवाई भाडासमेत चर्को रहेको छ। उसो त कर्णालीको हुम्ला र मुगुमा समेत चर्को भाडा रहेको छ।

यी हिमाली जिल्लामा जहाजको यात्रा गर्न लाग्ने बजेटले विदेशमा घुमेर आउन सकिने पत्रकार प्रभात चलाउने बताउँछन्।

हुम्लामा जहाज उडानका लागि मन्त्रीदेखि सांसद सम्मले भनसुन गर्नुपर्ने देखि केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउने सम्मका कामहरु गर्नुपरेको छ।

चार दिनअघि मात्र हुम्लामा जहान नियमित बनाउन माग गर्दै कर्णालीका  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले ध्यानाकर्षण पत्र पठाएका थिए।

डोल्पाका सांसद वीरबहादुर शाहीले ६ महिनाअघि मात्र नेपाल वायु सेवा निगमको जहाजद्वारा डोल्पामा उडान भर्नुपर्ने भन्दै ज्ञापनपत्र नै बुझाएका थिए।

जहाजका लागि ज्ञापनपत्रसम्म बुझाउने नेता तथा सांसदहरुले सडक सञ्जाललाई व्यवस्थित बनाई सबैको पहुँचमा सडक बनाएको भए भारी खर्च गरेर यात्रा गर्नुपर्ने बाध्यता कसैलाईइ नहुने सर्वसाधारण बताउँछन्।

हिमाली जिल्लामा टिकटका लागि सधैँ दशैं र तिहारका जस्तै दबाब र पालो कुर्नुपर्ने बाध्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.