|

विराटनगर : स्थानीय निर्वाचनको मिति नजिकिएसँगै यतिबेला देशैभर चुनावी सरगर्मी बढेको छ।

कुन दलको कुन नेताले नेतृत्व सम्हाल्नका लागि टिकट पाउने हो भन्ने बहसको बिषय बनेको छ।

टिकट पाइहाले पनि कुन दलले जीत हाँसिल गर्ने हो, भन्ने चासोको विषय बनेको छ।

देशैभर चलेको बहस र छलफल यतिबेला प्रदेश १ मा रहेको दुई उपमहानगरपालिकामा पनि नेतृत्वको भाग कसले पाउने हो भन्ने चासो बढ्दै गएको छ।

२० वटा वडा रहेको इटहरी उपमहानगरमा अघिल्लाे निर्वाचनमा १२ जना वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट जीत हाँसिल गरेका थिए भने ८ जना वडाध्यक्षले एमालेबाट जितेका थिए।

१२ वटा वडामा जित्न सफल भएको नेपाली कांग्रेसले इटहरी उपमहानगरको प्रमुख पदमा भने हार बेहोर्नु परेको थियो।

मेयर पदमा एमालेका द्वारिकालाल चौधरीसँग २ हजार ७ सय ४ मत अन्तरले नेपाली कांग्रेसका रोहित प्रसाईंले हार बेहोर्नु परेको थियो।

चौधरीले  २२,६८९ मत ल्याउँदा  प्रसाईंले १९,९८५ मत ल्याएका थिए।

त्यसैगरी, उप मेयरमा एमालेकी लक्ष्मी गौतमले २१ हजार ८ सय ४२ मत ल्याउँदा काङ्ग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत ल्याइन्।

२०७४ सालको निर्वाचनमा मेयर र उपमेयरमा पराजित भएको कांग्रेसले आउने  निर्वाचनको मैदानमा कसरी उत्रिन्छ भन्ने सबैको चासो छ।

त्यसमा पनि २०७४ सालको निर्वाचन यता एमालेको राजनीतिक परिस्थिति फेरिएको छ।

एमाले पार्टी भित्रको आन्तरिक समस्या पछि फुटको छिटा इटहरीमा राम्रैसँग परेको स्थानीयहरु बताउँछन्।

गठबन्धन भित्रै प्रतिस्पर्धा

देशभर गठबन्धनमा रहेर चुनाव लड्ने  सत्ता पक्षीयको योजना छ।

जसको प्रभाव इटहरीमा पनि देखिन थालेको छ।

यसले गर्दा हिजो एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेस यतिबेला  राजनीतिक रूपमा  चुनावी मैदानमा एक्लै छैन।

तर, इटहरी उपमहानगरको नेतृत्वको बागडोर सम्हाल्न गठबन्धन भित्रैका दल बीच प्रतिस्पर्धा चलेको छ।

पछिल्लो समय इटहरीमा मेयर र उपमेयर पदका लागि गठबन्धन भित्रको दुई दल काँग्रेस र एकीकृत समाजवादी बीच प्रतिस्पर्धा हुने देखिएको छ।

यसैले पनि   इटहरीमा काँग्रेस र नेकपा एस बीच कसले गठबन्धनबाट मेयरको टिकट पाउला भन्ने चर्चा चुलिएको छ।

कांग्रेसमा मेयर पदका लागि हेमकर्ण पौडेल, रोहित प्रसाईं र भीम पौडेलको मुख्य दावेदारी देखिएको छ।

तर, इटहरी उपमहानगरको प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादीले पाउनु पर्ने माग रहेको नेकपा एसका इटहरी उपमहानगर कमिटी अध्यक्ष गणेश बुढाथोकी बताउँछन्।

पार्टीले मेयर पदका लागि दावी गरेको बताउँदै उनले भने,‘प्राप्त गर्ने नगर्ने भन्ने केन्द्रको कुरा हो।’ इटहरीमा सांगठानिक हिसाबले बलियो भएकाले उम्मेदवार दिने निर्णय गरेको उनी बताउँछन्।

संगठनको हिसाबले प्रदेश नम्बर १ मा उत्कृष्ट इटहरी रहेकाले उपमहानगर प्रमुखको दावी जायज रहेको उनले बताए।

एकीकृत समाजवादीमा उपमहानगर प्रमुखका लागि  केशवकुमार विष्ट चर्चामा रहेका छन्।

राष्ट्रिय खेलकुद परिषद्को पूर्व सदस्य सचिव समेत रहेका विष्ट अहिले नेकपा एसको केन्द्रीय सदस्य सहित खेलकुद विभागको इन्चार्ज हुन्।

गठबन्धनको विषयमा अन्तिम धारणा बनेको छैन

गठबन्धन संयन्त्रमा रहेका इटहरी काङ्ग्रेस सभापति हेमकर्ण पौडेलले गठबन्धनको विषयमा अन्तिम धारणा तत्काल बनी नसकेको बताए।

उनले उपमहानगरको प्रमुख र उपप्रमुखको हकमा केन्द्रिय संयन्त्रले निर्णय गर्ने भन्ने पार्टीले परिपत्र गरेकाले यो विषयमा आफूहरुले केही प्रतिक्रिया दिन नसकेको बताए।

इटहरी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको हकमा केन्द्रिय संयन्त्रले निर्णय गर्ने भनेर हामीलाई पार्टीले परिपत्र गरेकोले यो विषयमा हामी केही भन्न सक्दैनौ,’उनले भने,‘केन्द्रको संयन्त्रले उपमहानगरको नेतृत्व, माओवादी, कांग्रेस, एकीकृत समाजवादीलाई दिए पनि यो संयन्त्रको निर्णय मान्ने हाम्रो दायित्व हो।’

गठबन्धनको नेतृत्व आफ्नै पार्टीले गरेको भएकाले केन्द्रको निर्णय प्रति आफूहरु मान्ने उनले बताउँदै गठबन्धनका दल बैठक बसेर कुन वडामा कसरी जाने भन्ने छलफल भईरहेको समेत जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.