काठमाडौं : करिब २ वर्षअघि अमृत ढकालले ६७ वटा गीतलाई संग्रहित गरेर 'लजालु पहाडहरू’ सार्वजनिक गरे।
यसका अलवा नेपाली साहित्यका विभिन्न विधामध्ये विशेष गरेर गीत, गजल, कविता तथा कथाको स्तर वृद्धिका लागि कैयौं साहित्यिक पत्रिकामा सम्पादक भएर काम गरे। गीत लेखनको अलवा उनी कविता लेखन र समालोचनामा सक्रिय छन्।
नेपालगञ्जमा बसेर गीत लेखनमा संक्रिय ढकालको हालसम्म कुनै गीत भने रेकर्ड भएका छैनन्। यस मानेमा उनलाई गुपचुप गीतकारका रुपमा अर्थ्याउन सान्दर्भिक हुन्छ।
संग्रह सार्वजनिकीकरण कार्यक्रममा साहित्यकार नादिरले ढकालमा गोपाल योञ्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरू लेख्ने क्षमता रहेको बताएका थिए।
उनले भनेका थिए, 'जसले जिन्दगीको लक्षित उचाइमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरू सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नुपर्छ।' तर, निष्कर्षमा भन्ने हो भने ढकाल आफूलाई एक पाठकका रूपमा मात्र अर्थ्याउँछन्।
उनले गीत लेखे, संग्रह निकाले तर, रेकर्ड किन गरेनन्? भन्ने प्रश्न त छँदैछ। यसैबीच गीतबारे खुद्रा प्रश्न र उनको पुस्तक अध्ययनबारे थाहाखबरकर्मी राजु पौडेलले पुस्तक वार्ताका लागि ढकालसँग कुराकानी गरेका छन्।
एक वाक्यांशबाट कुराकानी सुरु गर्छु। 'म दुखेको बेला रुन्छु। रुन नमिल्ने गरेर दुखेको खण्डमा गीत लेख्छु', तपाईंले गीत लेखनको सन्दर्भमा औपचारिक तथा अनौपचारिक भेटमा व्यक्त गर्ने कुरा हो। गीतले त स्वर खोज्छ। तर, तपाईंले गीतलाई पुस्तकमा मात्र बन्धक बनाउनुभयो। कहीँ न कहीँ गीतप्रति अन्याय भएन र भन्या?
गीतलाई संगीत र स्वरभन्दा पहिले अक्षरमा अभिव्यक्त गर्नुपर्ने मेरो बाध्यता हो। आजको गीत बजारले खोजेको 'आर्थिक उत्तेजना' मसँग नभएकोले गीतप्रति अन्याय गर्न अभिशप्त छु। तपाईंले प्रश्न सोधेर न्याय गरे जत्तिकै संगीतकार र गायकले पनि मेरा गीतलाई न्याय गरिदिन सक्नुहुन्छ।
एक गुपचुप गीतकारले देखेको नेपाली सांगीतिक क्षेत्रको गुणस्तर मापन गर्दा सकारात्मक देखिन्छ कि नकारात्मक?
हामी बाँचिरहेको समय घोर निराशाको समय हो। निराशाको झरी ओढेपछि भिजिने पनि निराशाले रहेछ। आजको समय निराशाले निथ्रुक्क छ। यस्तो बेला उभिएर गीतलाई हेर्यो भने त्यहाँ पनि उज्यालो देखिँदैन। अपवादबाहेक आजका गीत भावनाको सस्तो पुराना वृत्ति हुन्।
'खुद पकालेती है, खुद खालेती है' को अवस्थामा छ हाम्रो गीतकारिता। अभिव्यक्तिमा नयाँपन मौलिकता र गहिराइ खोज्न थाल्यौँ भने हामी सबै लगभग 'गीतकार' भइजाने अवस्था छ।
आजसम्म कति गीत लेख्नुभयो?
मेरो लेखन सुरुवात गीतबाट भयो। झण्डै दुई दशकको अवधिका लेखेँ भन्न मिल्ने गरी त्यस्तै, २\४ दर्जन लेखेँ हुँला! अरू त सबै उत्पादनका लागि उत्पादन मात्र गरियो जस्तो लाग्छ।
पहिलोचोटि सुनेको गीत कस्तो थियो?
म सानो छँदा बुबासँग सुत्थेँ। बुबा रामायणका संस्कृत श्लोकहरू लयबद्ध सुनाउनुहुन्थ्यो। माधवप्रसाद घिमिरेद्वारा लिखित 'गौरी' खण्डकाव्यका केही श्लोकहरू पनि सुनाउनुहुन्थ्यो। कहिलेकाहीँ बुबा रक्सी पिएर मुडमा हुँदा गीत गाउनुहुन्थ्यो। ती प्राय देउडा, लोकभाका र नारायण गोपालद्वारा स्वरबद्ध गीत हुन्थे। आमासँग खटपट हुँदा सुनाउनुहुन्थ्यो :
'साइमले धोई खाने भयो मैले गाई दिएँ र
पिर्तीकी लडेली भई के पिर्ती लाइदिएँ र'
गीत सुन्न पाइने भनेकै बुबाले रक्सी पिएको बेला थियो। अघिपछि चै रामायण महाभारतका उपकथाहरू, केही लोक कथाहरू र आफ्नै जीवनका घटनाहरूलाई थपथाप पारेर सुनाउनुहुन्थ्यो। रेकर्डेड गीतको रुपमा चैँ कार्की अंकलले ल्याउनु भएका 'टेप' बाट सुनेको गीत जुन मेरो मनमा बसेको थियो। उक्त गीत थियो :
'गैराबारी लसुन सँगै बसौँ न
गाउँघरकाले चाल पाए डाँडै काटौँ न'
पहिलोपटक लेखेको गीत कस्तो थियो?
आफैँले लेखेको पहिलो गीत चाहिँ यस्तो थियो :
'तिमी फूल भएर फूल्यौ म काँडा भएरै हेरिरहेँ
चाहिनँ तिम्रो मुटुमा बिझ्न टाढा भएरै हेरिरहेँ'
यी त भए गीतका कुरा। तपाईंलाई चिन्ने साथी सर्कलले अध्ययनशील व्यक्तिका रूपमा चित्रण गर्छन्। अब पुस्तकका कुरा गरौँ। अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ?
म पढ्न 'पाएको वा सकेको भए' भन्ने हुटहुटी बोकेको मान्छे चैँ हुँ। मलाई भर्खरै प्रकाशित पुस्तक सबैभन्दा पहिले पढ्ने 'उत्ताउलो रहर' ले सताउँछ।
लामो समयदेखि मेरो पठन कर्म अस्तव्यस्त बनेको छ। पढ्न सुरु गरेको केही दिनमै जापान यात्रामा निस्कन परेकोले गंगा कार्की 'विश्व'द्वारा लिखित 'दुःसाध्य जनयुद्ध' सक्न पाएको छैन। अहिले त्यही पढिरहेको छु।
पुस्तक छनोटका सीमाहरू के के हुन्?
आत्म विज्ञापन गर्न लेखिएका पुस्तकहरू पढ्न नपरोस् भन्ने लाग्छ। अध्ययनशील साथीहरूले सजेस्ट गरेका पुस्तकहरू नै अलि बढी पढ्छु।
बाल्यकाल‚ किशोर र युवा अवस्थामा कुन कुन ‘जनरा’का पुस्तकले आकर्षित गरे वा गरिरहेका छन्?
नढाँटी भन्ने हो भने माध्यमिक तहसम्म मैले 'आउट अफ कोर्स' पढ्दै पढिनँ। क्याम्पस प्रवेशसँगै पढ्ने रहर पलाउन थाल्यो। सुरु सुरुमा गजलका पुस्तकहरू पढियो। तसलिमा नसरिन, ओशो साहित्य पनि पढियो। त्यो बेलामा पनि मैले धनी कसरी बन्ने? बेजोड भाषण कसरी गर्ने टाइपका पुस्तक चाहिँ पढिनँ है।
पढ्ने विषयमा थिग्रिँदै जाँदा छनोटका आधार निर्माण हुँदा रहेछन्।
हिजो आज चाहिँ समाजलाई मसिनो तरिकाले गरी केलाएका पुस्तक पढ्न पाए भन्ने लाग्छ।
तपाईंको हकमा पुस्तक के हो अथवा के होइन?
मेरा लागि पुस्तक सबैथोक चैँ होइन। फिल्म, यात्रा, राजनीतिक सक्रियता जस्तै पुस्तक पनि जीवनको एउटा विशिष्ट आयाम भने अवश्य हो। मलाई पुस्तक बिनाको घर रित्तो रित्तो लाग्छ। साथीहरूको भव्य घरमा पस्दै गर्दा पनि मनमनै पुस्तकालयको कल्पना गरिरहेको हुन्छु। जब त्यहाँ पुस्तकालय वा पुस्तकले भरिएका र्याकहरू देख्दिनँ, त्यतिबेला मलाई त्यो घर मात्र होइन साथी नै अपूर्ण लाग्छ।
उमेर र क्षेत्रअनुसार पुस्तकको रुचि फरक हुन सक्छ। तर, अहिलेको पुस्ताले पढ्नैपर्ने पुस्तकको सूची भन्नुपर्यो भने कुन कुन पुस्तक दिमागमा आउँछन्?
अवश्य! भिन्न भिन्न परिस्थितिमा अध्ययनको छनोट भिन्न हुन सक्छ। म नेपाली हिन्दी र थारू भाषाका पुस्तकको पाठक हुँ। त्यसका आधारमा मेरो पठनको पनि सीमा छ। अनुवाद पनि पढ्ने गरेको छु। त्यस्ता कैयौँ किताब छन् जो पढ्दा मजा आउँछ।
लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, शंकर लामिछाने, भूपि शेरचन, पारिजातहरूलाई सम्पूर्ण पढ्दा राम्रो। बिपीको आत्मवृत्तान्त, माधवि, अन्तर्मनको यात्रा, पानीको घाम, लु, मोक्षान्त काठमाडौं फिभर, तलास, ल्याम्पोष्टबाट खसेको जुन, महारानी…. बहुत पो छ न त।
अरू त नपढ्दा पनि हुन्छ। तर, महाभारत पढिएन, हेरिएन, बुझिएन भने चैँ जिन्दगी व्यर्थै छ भन्ने लाग्छ।
जीवनको पहिलो पुस्तक कुन थियो? जसले पठन यात्राको ढोका खोलिदियो?
ठ्याक्कै सम्झना छैन। सायद खगेन्द्र गिरी कोपिलाले दिएको गजल विशेष गजल संग्रह थियो। आज पनि बिर्सन नसकिने गरी बसेको पुस्तक चाहिँ पारिजातको 'शिरिषको फूल' नै हो। जसलाई मैले जीवनको प्रारम्भिक चरणमै पढेको थिएँ।
रोजाइमा कुन विधा?
विधा यही भन्ने त छैन। तर, व्यक्तिको साँचो अनुभूतिद्वारा गरिएको समाज र जीवनको व्याख्या समेटिएका पुस्तक मनपर्छ।
पुस्तक न पढेकाले पनि एक बारको जीवन चलाइरहेका छन्। तपाईंको हकमा पुस्तक नभएको भए पनि जीवन चल्थ्यो कि अरू केही हुन्थ्यो?
गाँस बास कपासलाई अनिवार्य आवश्यकता हुन् भनी पढ्दै हुर्केको हाम्रा लागि पुस्तक अतिरिक्त शौख भएपछि जीवन नचल्ने त कुरै भएन। तर, म त्यस्तो निरस जीवनको कल्पना गर्न सक्दिनँ। बाँच्नका लागि मात्रै जीवनमा पुस्तक चाहिँदैन। तर, जीवन सिक्नका लागि पनि हो भने चाहिँ पुस्तक नभई हुँदैन।
अन्त्यमा अहिले गरिने पुस्तक समीक्षामा समीक्षक इमान्दार छन् कि पाठक झुक्याउने अस्त्रका रूपमा प्रयोग भइरहेका छन्?
हरेक पाठकका अनुभव आ-आफ्नै हुने भएकाले पुस्तकमाथि एक समीक्षकले निर्माण गरेको धारणालाई नै बटमलाइन बनाएर हेरिनु चाहिँ मलाई काइदाको कुरा लाग्दैन। पुस्तक नपढी समीक्षा पढ्ने बानी नभएकाले पनि हुन सक्छ। म समीक्षकहरूलाई खासै ध्यानमा राख्दिनँ। आफूले पनि पुस्तक पढिसकेपछि भने त्यसमाथि पूर्ववर्ती पाठक/ समीक्षकले लेखेका सामग्री पढ्ने गर्छु।
लेख्दा मलामीको संख्या घट्ने सम्मको जोखिम मोल्न सक्ने केही धारिला समीक्षकहरू पनि छन्। बाँकी त सब 'प्रशंसा-विनिमय' हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।