|

काठमाडाैं : २०७९ साल चुनावी वर्षका रुपमा रहने भएको छ।

वर्षको पहिलो महिनामै स्थानीय तहको चुनाव सकिएपछि यसै वर्षको कात्तिक मंसिरमा प्रदेश र संघको पनि चुनाव गर्नुपर्ने देखिएको छ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि तयारी गरिरहँदा दलहरुले पनि आ आफ्नै तयारी गरिरहेका छन्।

तीनै तहका ५ वर्षे कार्यकाल यही वर्ष पूरा हुँदैछ।

बैशाख ३० गते स्थानीय तह चुनावको मिति नजिकिँदै गएपनि कहिलेकाहीँ  चुनाव नहुने विषयमा विभिन्न टिका टिप्पणी पनि आउने गर्छन्।

यद्यपी दलहरु चुनावी वर्षका रुपमा २०७९ साललाई मान्न तयार छन्।

नेकपा एमाले अरु दलभन्दा पनि बढी हौसिएर चुनावको तयारीमा होमिएको छ।

जनतामा निराशाको सन्देश गएको वर्ष २०७८ बाट सिकेर यो वर्ष ३ वटै तहको चुनाव सम्पन्न गरी जनताका हक अधिकार सुनिश्चित गरिने अठोट लिएको एमाले उपाध्यक्ष सुवास नेम्बाङले बताए।

'विभिन्न समस्या भएपनि हामी चुनावी माहोलमा आइपुगेका छौँ', उनले भने,'२०७९ सालमा हुने ३ वटै तहको चुनावले जनताको हक अधिकार सुनिश्चित गर्नेछ। दोस्रो पटक ३ वटै तहको चुनावमा जुटिरहेका बेला यसले लोकतन्त्रलाई थप बलियो बनाउनेमा दलहरूको कुनै फरक मत छैन।'

गठबन्धनको नेतृत्व गरिरहेको सत्ताधारी दल कांग्रेसले पनि २०७९ साललाई चुनावी वर्षकै रुपमा हेरेको छ।

यो वर्ष हुने चुनावले गाउँ गाउँमा सिंहदरबारको नारालाई ब्यबहारमा स्थापित गर्न थप बल पुग्ने तर्क कांग्रेस नेता मिनेन्द्र रिजालको छ। 'दोस्रो पल्ट हामी तीनै तहको निर्वाचनमा जुट्दै छौँ, राज्यका सबै अंगहरु नचल्ने हो कि भन्ने चिन्ता उब्जिएको छ',उनले भने, 'ती चिन्ता चुनावबाट नै निराकरण हुनेछन्।'

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित गर्न पनि यो वर्ष हुने ३ वटै तहको चुनाव महत्वपूर्ण रहेको माओवादी केन्द्रका नेता एवं वर्तमान शिक्षा मन्त्री देवेन्द्र पौडेलले बताए।

'३ तहको चुनाव पछि सबै नेपालीलाई विचार, समृद्धि र सुशासनको माध्यमबाट अगाडि बढ्न मद्दत पुग्नेछ', उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि पनि ३ तहकै निर्वाचनको विकल्प छैन।'

संविधान र लोकतन्त्रमाथिको खतरालाई पार गरेको बताउदै एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब निर्वाचनले छान्ने नयाँ नेतृत्वबाट मुलुक नयाँ उचाइमा जाने विश्वास व्यक्त गरे।

'अघिल्लो वर्ष विभिन्न समस्या भएपनि २०७९ सालले निर्वाचन मार्फत आशा जगाएको छ', खनालले भने, 'नेपालीले संविधान र लोकतन्त्रमाथिको खतरालाई पार गरेका छौँ।'

आवधिक निर्वाचन नगरे लोकतन्त्र टिक्न नसक्ने तर्क लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले गरे।

उनले जीत र हारका कारणले निर्वाचन सार्न या रोक्न नहुने स्पष्ट धारणा राखे। 'निर्वाचन सार्ने या रोक्ने हल्ला आएको छ', उनले भने, 'केवल जीत र हारको स्वार्थले निर्वाचनलाई चलाउन हुँदैन।'

जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल , राष्ट्रिय जनमोर्चा लगायतका अन्य दलले पनि २०७९ साललाई चुनावी वर्ष भनिरहेका छन्।

आम नेपालीले भने चुनावसँगै चुनावी प्रतिवद्धता पनि पूरा गरेको हेर्न चाहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.