|

म्याग्दी :  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई उम्मेदवार छनोट गर्नै सकस भएको छ।

कतिपय गाउँ कमिटी र नगरकमिटीले आ-आफ्नो स्थानीय तहमा उम्मेदवार छनोट गर्न नसक्दा जिल्ला कार्य समितिमा सिफारिस गरिएको छ। यहाँसम्म कि कैयौं स्थानीय तहले वडाध्यक्षको समेत टुंगो लगाउन सकेका छैनन्।

नेपाली कांग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयरका लागि १० जना र नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ।

बिहीबार साँझ (हिजो) बसेको नेपाली कांग्रेस नगर कार्य समितिको बैठकले मेयरका लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव भरतबहादुर रकाल, पूर्व उपसभापति नेत्रबहादुर महत, निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी, क्या. मीनबहादुर कार्की, नगर सभापति रवीन्द्र कार्की (रवि), महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, दुर्गाराम सुवेदी, विमला गौचन, मनोजकुमार कार्की र हरिप्रसाद पौडेलको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको हो।

त्यस्तै उपमेयरका लागि अमृतदेवि बानियाँ, संगीता श्रेष्ठ र सुजता खत्रीको नाम सिफारिस गरेको छ।

नगर कार्य समितिको बैठकमा मेयरका आकांक्षी बढी देखिएको र आन्तरिक रूपमा छलफल गर्दा समेत टुङ्गो नलाग्ने देखिएपछि जिल्ला कार्य समितिमा पठाउने निर्णय गरेको नगर उपसभापति हरिप्रसाद पौडेलले जानकारी दिए। मेयरका आकांक्षी सबैलाई राखेर पार्टीमा पुनः छलफल गरेर सहमतिमा नै उम्मेदवारको टुङ्गो लगाउने पार्टी सभापति खमबहादुर गर्बुजाले बताए।

एमालेबाट ४ जना सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदको उम्मेदवारका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ।  एमाले नगर कमिटीको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिए।

मेयरमा सिफारिस गरिएकाहरूमध्ये श्रेष्ठ अघिल्लो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका थिए। यस्तै रावल युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष तथा पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने  केसी जिल्ला कमिटी सचिव र जिसी नगर कमिटी अध्यक्ष हुन्।

त्यसैगरी बेनी नगरपालिकाको उपमेयर पदका लागि कांग्रेसबाट अमृतदेवी बानियाँ, संगीता श्रेष्ठ र सुजता खत्रीको नाम सिफारिस भएको छ भने  नेकपा एमालेबाट पशुपति शाही, विष्णु गुरुङ, भावना पौडेल र गौरी थापा गरी चारजनाको नाम सिफारिस गरिएको छ।

मेयर र उपमेयरमा सहमति नजुटेपछि आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको दुवै दलले जनाएका छन्। स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकाबाट उम्मेदवारको टुंगो लगाएको छ।

 बुधवार सम्पन्न पार्टीको गाउँपालिका कमिटीको बैठकबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदका उम्मेदवारमा दीपक कार्की (प्रेमबहादुर) र उपाध्यक्षमा यामकुमारी गर्जाबुलाई चयन गरेको हो।

रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र सोही वडाको मौवाफाँट निवासी गर्बुजालाई उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिए। अध्यक्षका उम्मेदवार कार्की एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार गर्बुजा गाउँपालिका कमिटीका उपसचिव हुन्।

उक्त बैठकले वडाध्यक्ष सहित वडा सदस्यहरूको समेत उम्मेदवारहरूको टुंगो लगाएको छ। म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले पुनः बेगप्रसाद गबुर्जालाई छनौट गरेको छ।

मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो। मालिका गाउँपालिका-७ निवासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन्। गर्बुजा २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत मालिकाको अध्यक्ष पदका लागि एमालेबाट उम्मेदवार बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.