|

कञ्चनपुर : पर्यटन प्रवर्द्धन गर्न भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ। नगरपालिकाले ५ वर्षमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै केही नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको छ।

‘पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागमन बढाएका छौं,’ नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘नगर पर्यटन विकास समिति गठन गरि पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्‍याएका छौं।’ उनका अनुसार ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी गड्डाचौकी नाकामा ७७ फिट अग्लो स्तम्भमा नेपालको झण्डाको स्थापना गरी पार्क निर्माण गरिएको छ।

नगरपालिकाको १९ वटै वडाको प्रतिनिधित्व हुने गरी वडा नं १ स्थित रौटेलाधाममा १९ फिट लामो त्रिशुलसहित पार्क बनाइएको छ। झोलुङ्गे पुलको सौन्दर्यीकरण गर्नुका साथै सौर्य बत्ती जडान गरी रातिसमेत पर्यटकलाई पुल क्षेत्रमा हिँडडुल गर्न सहज भएको उनको भनाइ रहेको छ।

धार्मिक जनहरूलाई धार्मिक पर्यटक क्षेत्रमा पुर्‍याउन बाटो बनाइएको छ। रौटेला, विष्णुमन्दिर, भम्कनीधाम, झिलमिलालगायत क्षेत्रलाई सडक सञ्जालमा जोडिएको छ। नगरपालिकाका १९ वडा जोडन शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ।

बाह्रमासे झर्ना, कालीताल, कालो ढुङ्गा, बाउन्न कोठेद्वार, सेल्फी डाँडा, साइलेन्ट रिभर, खन्या खोला लिङगालगायत नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिएको छ। बाह्रकुण्डा क्षेत्रमा रहेका १२ वटा पुरिँदै गएका ताललाई पुरानै स्वरुपमा फर्काएर पानी भरेको नगर प्रमुख बिष्टको भनाइ रहेको छ। महाकालीको बहुउपयोग अन्तर्गत नदीमा र्‍याफ्टिङ्गको सफल परीक्षण गरेको र खल्लाका १५ जना युवालाई र्‍याफ्टिङ्गसम्बन्धी तालिम दिएको पनि उनले बताए।

‘नगरपालिकाको वडा नं ९ ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ‚’ नगर प्रमुख बिष्टले भने, ‘संग्रहालय भवन निर्माणमा सहयोग गरेका छौं। जसबाट यस क्षेत्रको रहनसहन, संस्कृति, सामाजिक परिवेश, धार्मिक कार्य बारेको आन्तरिक तथा बाह्य पर्यटकले जानकारी लिन सक्ने छन्।’

चुरे फेदीको रमणीय पर्यटकीय क्षेत्र झिलमिलामा सौर्यबत्ती र पदमार्ग निर्माण गरीएको छ। भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्तिका लागि नगरपालिकाका तर्फबाट ५० लाख रूपैयाँ आर्थिक सहयोग उपलव्ध गराईएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलो बथान रहेको बाह्रसिंगा चिनाउन प्रचारप्रसारसँगै नगरको ब्राण्ड घोषणा गरिएको छ। महाकाली किनारमा स्मार्ट शौचालय, स्मार्ट
लाइटसँगै डिजिटल सूचना बोर्डको व्यवस्था गरिएको छ।

नगरपालिका क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा रहेको बिष्णु मन्दिरदेखि राई ढुङ्गासम्म ८ किलोमिटर सडकको ट्रयाक खोलिएको छ। नगर क्षेत्रमा १ सय ७२ वटा सौर्य सडक बत्ती जडान गरिएको छ। नगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा उज्यालो भीमदत्त अभियान अन्तर्गत (स्मार्ट लाइट) महेन्द्रनगर बजारका मुख्य चोक (पुष्पलाल चोक, बसपार्क, बाह्रसिंगा चोक, झोलुङ्गे पुल, नगरपालिका कार्यालय परिसर, मदन चोक) मा मास लाइट र क्याम्पस रोडमा सौर्य बत्ती जडान भैरहेको छ।

यसै क्रममा नगर क्षेत्रका ८४ वटा मन्दिरमा पूर्वाधार संरचना निर्माण एवं मर्मतसम्भार गरिएको नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताए। उनका अनुसार ११ वटा चौतारा निर्माण गरिएको छ। २९ किलोमिटर धार्मिक पर्यटन मार्गको २ दशमलव ५ किलोमिटर कालोपत्रे गरिएको छ।

शुक्लाफाँटा पर्यटन मार्गको ५ दशमलव ०७५ किलोमिटर सडक कालोपत्रे गरिएको छ। जिल्ला र नगरलाई हवाई सेवाद्वारा जोड्न र पर्यटक भित्र्याउन मझगाउँ विमानस्थललाई संघ, प्रदेश, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सह-लगानीमा विमानस्थल पुनःनिर्माण अगाडि बढाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.