सबै फोहोर उठ्न अझै ३ दिन लाग्ने

|
बञ्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको फाइल तस्वीर

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाकाे फोहोर दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोट–धादिङ सिमानामा बनाउँदै गरेकाे बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले जग्गा अधिग्रहणको मुआब्जाबापत ११ अर्ब रूपैयाँ माग गरेका छन्।

स्थानीयले २२ सय रोपनी क्षेत्रफल अधिग्रहण गर्न माग राखेको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाकाे एक सेल ल्यान्डफिलको काम सकिएको र शहरी विकास मन्त्रालयले महानगरलाई त्यहाँ फोहोर विसर्जन गर्न पत्र पठाएको छ।

तर, तत्काल त्यहाँ फोहोर विसर्जन गर्न नसकिने उनले बताइन्। उनले भनिन्, ‘त्यहाँ फोहोर फाल्नुअघि २२ सय रोपनी जग्गा अधिग्रहण गर्न स्थानीयले माग गरेका छन्, यसका लागि राज्यले ११ अर्ब रूपैयाँ दिनुपर्ने भनेका छन्, तर त्यो स्रोत हामी दिन सक्दैनौँ, त्यसैले फोहोर विसर्जन गर्न दिएको छैन।’ उनका अनुसार बञ्चरेडाँडासम्मको सडक पनि पिच गर्नुपर्नेछ। 

सरकारले यी माग पूरा गर्नुपर्ने माग उनले गरिन्। ‘पहिला उनीहरूले ३ हजार रोपनी वरिपरिको जग्गा अधिग्रहण गर्न भनेका थिए, यसका लागि ६२ अर्ब लाग्छ भनेका थिए, अहिले भने घटाएका छन,’ उनले भनिन्।

​उनका अनुसार यो विषय मन्त्रिपरिषदमा पुगेको छ। ‘त्यहाँ पुगेपछि विभिन्न विभागलाई जिम्मेवारी दिएको छ, हाम्रो भने फोहोर कुहिने र नकुहिने छुट्याउनु भनेको छ, अधिग्रहणको कुरा पनि छिट्टै टुङ्गिएला भन्ने आशा छ,’ उनले भनिन्।

उपत्यकाको फोहोर उठ्न अझै समय लाग्ने

उपत्यकाभित्रको फोहोर उठ्न अझै केही समय लाग्ने भएको छ। तारकेश्वर नगरपालिकामा पर्ने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु-तीनपिप्ले सडकखण्डका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेर २०७८ चैत १८ गतेदेखि सडक अवरुद्ध गरेका थिए। त्यही कारण फोहोर विसर्जन गर्दै आएको सिसडोलमा फोहोर लैजान नसकेकोमा चैत २७ गतेदेखि फेरि फोहोर विसर्जन गर्न थालिएको वातावरण विभागकी प्रमुख राईले बताइन्।

‘उनीहरूको माग सम्बोधन गर्न सडक विभाग लगायतसँग समन्वय गरि अहिले फोहोर लगिएको छ, तर अझै यहाँको फोहोर उठ्न तीन/चार दिन लाग्छ,’उनले भनिन्।

उनका अनुसार आंशिक रुपमा फोहोर विसर्जन हुन थालेको ३ दिन (हिजो बिहिबार) सम्ममा जम्मा ३ सय ४० ट्रक फोहोर ल्याण्डफिल साइटमा विसर्जन भएको छ। शुक्रबार बिहान ८ बजेसम्ममा थप १ सय ७२ ट्रक फोहोर विसर्जन भएको छ।

उपत्यकाका १८ स्थानीय तहबाट दैनिक करिब १२ सय मेट्रिकटन फोहोर सिसडोलमा अवरोधकै बीच विसर्जन हुने गरेको छ। जसमध्ये काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ५ सय ४५ मेट्रिकटन फोहोर विसर्जन हुने विभागका प्रमुख राईले जानकारी दिइन्।

‘फागुन महिना लागेयता मात्र ३ पटक स्थानीयले अवरोध गरे, जसकारण ३३ दिन काठमाडौंको फोहोर विसर्जन हुन सकेन,’ उनले भनिन्। सडक विभागअन्तर्गत समयमा सडक नबन्दा फोहोर लैजान समस्या पर्ने र यसको दोष भने महानगरपालिकाले बेहोर्दै आएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.