वायोमिथानेसन प्लान्ट निजीलाई दिने महानगरको तयारी

|

काठमाडौं :  पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडक अवरुद्ध भएका कारण उपत्यकाको फोहोर पूरा उठ्न सकेको छैन। सडकको चोक–चोकमै फोहोर थुप्रिएका छन्। तारकेश्वर नगरपालिकामा पर्ने पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका बासिन्दाले २०७८ चैत्र १८ देखि  २६ गतेसम्म सडक अवरुद्ध गर्दा फोहोर व्यवस्थापनमा समस्या भएको हो। 

काठमाडौं महानगरपालिकाका अनुसार गत चैत २७ गतेदेखि फोहोर स्थानीयले सिसडोलमा लग्न दिएका छन्। तर,पहिलेजस्तो फोहोरको गाडी जान सकेको छैन।

अहिले नै यहाँ फोहोर व्यवस्थापन नभएकाले यसपटकको बर्खा याममा फोहोर व्यवस्थापनमा झनै समस्या हुने देखिएको महानगरपालिकाले जनाएको छ। यसअघिका वर्षमा पनि व्यवस्थापनमा समस्या भएको नै थियो।

नुवाकोटको साविकको ओखरपौवा हालको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा १७ वर्षदेखि काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर व्यवस्थापन हुँदै आएको छ। तर,वर्षात् सुरु भएपछि त्यहाँसम्म फोहोरको गाडी नै जान सक्दैन। वैकल्पिक बाटोको व्यवस्था भएको छैन।

‘वर्षातको समयमा फोहोर माथिको बाटो फोहोरको गाडी उक्लिन सक्दैन। बर्खाअगावै बाटो लगायत पूर्वाधार नबने यस पटक झन् धेरै समस्या आउने देखिन्छ’, कामपा वातावरण विभागकी प्रमुख सरिता राईले भनिन्। सिसडोलका बासिन्दाले विभिन्न माग राखेर हडताल गरी फोहोर फाल्न नदिँदा पनि समस्या हुने गरेको उनले बताइन्।

सिसडोलमा ११ करोड बढी खर्चियो,भएन व्यवस्थापन

महानगरपालिकाले चालु आव २०७८/७९ मा सिसडोलको फोहोर व्यवस्थापन गर्न अति प्रभावित र प्रभावित क्षेत्रका बासिन्दाका लागि मात्रै ११ करोड ७९ लाख ३३ हजार खर्च गरेको छ।

वातावरण विभागकी प्रमुख राईका अनुसार ककनी गाउँपालिकाको विकास निर्माणका लागि ३ करोड अनुदान,सिसडोल क्षेत्रको फोहोरमैला प्रभावितका लागि स्वास्थ्य बिमा कार्यक्रममा १ करोड, प्रभावित तथा विद्यार्थीलाई क्षतिपूर्तिस्वरूप छात्रवृत्ति पाँच लाख सहयोग गरेको छ। 

सिसडोल स्वास्थ्य चौकी सञ्चालन खर्च ५० लाख, बाली,टहरा तथा घर जग्गाको क्षतिपूर्ति ६५ लाख, प्रभावित क्षेत्रका विद्यालयलाई शिक्षक दरबन्दीका लागि एक करोड २२ लाख ८१ हजार खर्चेको छ।

त्यस्तै, महानगरपालिकाले नगमार खोल्सी पहिरो नियन्त्रणमा १० लाख लगायत विभिन्न शीर्षकमा ११ करोड बढी खर्चेको छ। तर,अझै पनि त्यहाँ फोहोर व्यवस्थापन समस्या हुँदै आएको छ।

स्थानीयवासीको मागले बञ्चरेडाँडामा फोहोर फाल्न समस्या

सरकारले हाल सिसडोलमा फ्याँकिरहेको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न नुवाकोट–धादिङ सिमानामा रहेको बञ्चरेडाँडामा ल्यान्डफिल्ड साइट बनाइरहेको छ। शहरी विकास मन्त्रालयका अनुसार  दुई सेल (फोहोर फाल्ने खाल्डो) मध्ये एक सेलको काम सकिएको छ। अर्को सेल निर्माण भइरहेको छ।

तर,बञ्चरे डाँडाका स्थानीयले विभिन्न माग राखेकै कारण उक्त सेलमा फोहोर फाल्न नसकिएको कामपा वातावरण विभागकी प्रमुख राईले बताइन्। ‘२२ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ’, उनले भनिन्, ’यसका लागि राज्यले ११ अर्ब मुआब्जा दिनुपर्छ भन्छन्, अधिग्रहण नगरी फोहोर फाल्दा फेरि समस्या निम्तिन्छ। त्यसैले यसका लागि सरकारको सहयोग चाहिन्छ।

सरकारले फोहोर लैजाने मुड्खु–तीनपिप्ले सडक पिच,मुआब्जा विवाद लगायत माग पूरा नगरेसम्म उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या हुने उनको भनाइ छ। ​

अलपत्र परेको पाँच वर्षपछि बायोमिथानेसन प्लान्ट निजीलाई दिने तयारी

कामपा महानगरपालिकाले ०७३ सालमै राजधानीमा उत्पादित फोहोरबाट बिजुली र बायोग्यास निकाल्ने भन्दै टेकुमा ‘बायोमिथानेसन प्लान्ट’ सञ्चालनमा ल्याएको थियो। कामपाको २० प्रतिशत लगानी र यूरोपेली युनियनको ८० प्रतिशत साझेदारीमा करिब दुई करोड लागत खर्चिएको सो मेसिनले दैनिक ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेसन गर्ने  भनिएको थियो।

प्लान्टले दैनिक १४ किलोवाट बिजुली, तीन सय केजी मल, ९६ केजी ग्यास, १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी महानगरले गरेको थियो। तर,सञ्चालन भने एक वर्ष पनि राम्रोसँग प्लान्ट भएन। पाँच वर्ष अलपत्र नै पर्‍याे। अहिले भने महानगरपालिकाले निजीलाई सञ्चालन गर्न तयारी गरेको छ।

                                                                           अलपत्र परेका बायोमिथानेसन प्लान्ट

‘अब उक्त प्लान्ट ब्युँताउन खोजेका छौँ। निजीलाई दिएर सञ्चालन गर्ने कि भन्ने पनि छलफल चलेको छ’, वातावरण विभागकी प्रमुख राईले भनिन्। यो प्लान्ट सञ्चालन आएमा धेरै फोहोर व्यवस्थापन हुने उनले बताइन्।

उपत्यकाका १८ स्थानीय तहबाट दैनिक करिब १२ सय मेट्रिक टन फोहोर सिसडोलमा बिसर्जन हुने गरेको छ, जसमध्ये काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ५ सय ४५ मेट्रिकटन फोहोर निस्किने उनले जानकारी दिइन्।

नदीमा मिसिन थाल्यो फोहोर, रोग फैलिने जोखिम

उपत्यकाका सडक, चोकमा थुप्रिएको फोहोर बाग्मती विष्णुमतीलगायत नदीमा सिधै मिसिन थालेको छ। धुलिखेल अस्पतालका डा.रोशन पोखरेल गर्मी बढ्दै गएकाले फोहोरबाट महामारी फैलिने सक्ने बताउँछन्। 

वातावरणविद् भूषण तुलाधर राज्यले समयमा फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा धेरै वातावरणमा असर पुगेको बताउँछन्। ‘फोहोरले जल प्रदूषण भएको छ। विभिन्न प्रकारका रोग फैलिएको छ’,उनले भने। 

उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय तीन तहकै सरकारले फोहोरको पुनर्प्रयोग गर्नेतर्फ ध्यान दिएका छैनन्। ‘उपत्यकाबाट निस्किएको दुई तिहाइ फोहोरबाट बायोग्यास निकाल्न सकिन्छ। कम्पोष्ट मल बनाउन सकिन्छ, प्लाष्टिक र सिसा पुनः प्रयोग गर्न सकिन्छ’, उनी भन्छन्, ‘करिब १० प्रतिशत मात्र फोहोर फाल्ने खालको निस्किन्छ।’ 

मन्त्रालय भन्छ : वर्षात् अघि नै सडक संरचना बनाउने योजना छ

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ०७८ फागुन २६ गते शहरी विकास मन्त्रीको संयोजकत्वमा बञ्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको थियो। उक्त समितिको टोली नै त्यही स्थलगत अनुगमन गरिसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए।

‘सडक पिच गर्न,आवश्यक पूर्वाधार निर्माण,सडक मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौँ’,उनले भने, ‘छिटै काम थालेर यो वर्षात् शुरु हुनुअगावै सबै काम सक्ने भनेका छौँ। सकेसम्म यसपटक फोहोर व्यवस्थापनमा समस्या नल्याउने गरि काम गर्ने भनेका छौँ।’ उनका अनुसार तिनपिप्ले–सिसडोल–बञ्चरेडाडाँको सडक निर्माण गरिने छ। 

र यो पनि

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.