०७४ को चुनावमा कुन पार्टीको कस्तो थियाे अवस्था ?

|

काठमाडौं : ‘बालुवाटारमा बैठक बसेको थियो। पोखरामा एकीकृत समाजवादीले दाबा गरेको भन्ने कुरा उठेपछि कसैले नकारात्मक टिप्पणी गरेछ। मैले सुनेँ। मैले पोखराका एक-एक तथ्य अगाडि सारेँ। पोखरामा मात्रै ८ हजार सदस्य संगठित छन्। जनवर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता मात्रै छन्। भोटर होइनन्,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पोखरा महानगरपालिकामाथि दाबी गर्दै शनिबार भएको एउटा कार्यक्रममा यसरी प्रस्तुत भए। 

पोखरामा समाजवादीले आफ्नो दाबी गर्दै गर्दा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरूसँगको बैठकमा एकीकृत समाजवादीले ठूलो भाग खोजेको आरोप लगाएका थिए। 

‘एकीकृत समाजवादीले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या भइरहेको छ। आफूलाई अझै पनि एमाले नै देख्ने र सानो पार्टीको अध्यक्ष हुँ भन्ने कुरा हेक्का नराख्ने प्रवृत्ति देखियो’ प्रचण्डको भनाइ थियो।

पाँचदलीय गठबन्धनलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म तालमेल गरेर लाने प्रयासमा नेताको भनाइले विवाद प्रष्टै देखिन्छ। विवाद नै भए पनि उनीहरू सबैको एउटै रणनीति छ- बरु भागबण्डामा खुम्चिएर जाने तर एमालेलाई जसरी भए पनि हराउने। 

स्थानीय निर्वाचनमा देशव्यापी गठबन्धनबीच तालमेलको प्रयास भइरहे पनि शीर्ष तहमै ६ वटा महानगरको भागबण्डा मिलाउन समस्या परेको छ। आजै बसेको गठबन्धनको शीर्ष नेताको बैठकले महानगरको भागबण्डा सोमबारसम्म टुंग्याउने सहमति गरेको छ। तर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) आ-आफ्ना अडानबाट पछि हट्न भने अझै तयार छैनन्। 

बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर र ११ उपमहानगरको भागबण्डाको टुंगो लगाउनुका साथै बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। 

गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनाएको थियो। बैठकमा तल्लो तहबाट आएको प्रतिवेदनकाआधारमा भागबण्डाको सहमति हुने भएको छ। महानगर र उपमहानगरको भागबण्डाबारे गठबन्धनको कार्यदलले गृहकार्य गरिरहेको छ। 

भागबण्डाबारे छलफल चलिरहेको हुनाले निर्णय हुन एक/दुई दिन लाग्नसक्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। भोलिको गठबन्धनको बैठकमा आवश्यक छलफल हुने उनको भनाइ छ। 

कहाँ क-कसको दाबी?

गठबन्धनमा रहेका जनमोर्चाबाहेक अन्य ४ दलले महानगरमा दाबी गरिरहेका छन्। ०७४ को निर्वाचनमा ६ मध्ये २ महानगर जितेको कांग्रेस अहिले कुन महानगर छाड्ने भन्नेमा अलमलमा छ। 

गएको निर्वाचनमा कांग्रेसले ५ वटा महानगरमा दोस्रो मत प्राप्त गरेको थियो। अहिलेको परिस्थितिमा कांग्रेसले गठबन्धनबाट भरतपुर महानगरमा माओवादी केन्द्र, वीरगञ्ज जसपा, पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने स्थिति देखिएको छ। 

तर कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएपनि पार्टीका तल्ला तहबाट कुनै पनि महानगर नछाड्न चर्को दबाब परिरहेको छ। केन्द्रबाट निर्णय लादे तल्लो तहबाट विद्रोह हुनसक्ने चेतावनीसमेत उनीहरूले कांग्रेसका शीर्ष नेतालाई दिइसकेका छन्। 

गठबन्धनको मुख्य सकस चितवनको भरतपुर महानगरमा पर्ने देखिएको छ। भरतपुर ०७४ सालको निर्वाचनमा पनि कांग्रेसले सघाउँदा समेत प्रचण्डकी छोरी रेणु दाहाल झिनो मतले विजयी भएकी थिइन्। अहिले प्रचण्ड फेरि रेणुलाई नै दोहोर्‍याउने प्रयासमा छन्। 

तर प्रचण्डको प्रयासमा चितवन कांग्रेस बाधक भएपनि देउवा सकारात्मक छन्। केन्द्रले निर्णय गरेर पठाए पनि जिताउने र हराउने भनेको तल्लो तहबाटै हुने हो भन्छन् कांग्रेस केन्द्रीय सदस्य तथा चितवनका कांग्रेस नेता दिनेश कोइराला। 

०७४ सालको निर्वाचनमा कांग्रेसले विराटनगर र ललितपुर महानगर जितेको थियो। कांग्रेस वृत्तमा भरतपुर महानगरमा चर्को विवाद भइरहे पनि प्रचण्डले माथिबाटै निर्णय गरेर आउने बताउँदै आइरहेका छन्। 

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा देउवाले भरतपुर महानगर माओवादीलाई छाड्ने संकेत गरिसकेका छन्। माओवादीले भरतपुर महानगरबाहेक अन्य महानगरमा खुलेर दाबी गर्न सकेको छैन। ०७४ सालको निर्वाचनकै आधारमा पनि महानगरमा माओवादीको उपस्थिति दाबी गर्न लायक छैन।

यता, एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेले जितेका ठाउँमा आफ्नो दाबीलाई स्वाभाविक रुपमा प्रस्तुत गरिरहेको छ। गत निर्वाचनमा एमालेले  काठमाडौं र पोखरा महानगर जितेको थियो। 

काठमाडौंमा देउवाले नछाड्ने मनस्थिति बनाएपछि समाजवादीले पोखरा महानगर नछाड्ने रणनीति बनाएको छ। त्यसो त माधव नेपालले गठबन्धनका बैठकमा तथ्यसहित आफ्ना दाबी प्रस्तुत गरिरहेका छन्। 

यस्तै, ०७४ मा वीरगञ्ज महानगर जितेको जसपाले वीरगञ्ज र विराटनगर गरि २ महानगरमा दाबी गरेको जसपाका नेता महोम्मद इस्तियाक राईले बताउँछन्। 

उनी भन्छन्, ‘वीरगञ्ज र विराटनगर महानगरमा हाम्रो स्वाभाविक दाबी रहन्छ। वीरगञ्ज हामीले गएको निर्वाचनमा पनि जितेको हौँ। विराटनगरमा दोस्रो स्थान हासिल गरेको थियौँ।’

०७४ मा यस्तो थियो अवस्था

काठमाडौं

संघीय राजधानी काठमाडौं महानगरमा ०७४ को निर्वाचनमा एमालेबाट विद्यासुन्दर शाक्य विजयी भएका थिए। उनले ६४ हजार ९ सय १३ मत ल्याएका थिए भने कांग्रेसका राजुराज जोशी नेपालीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए।

काठमाडौंमा एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस नै थियो। काठमाडौंमा माओवादीका उम्मेदवार सर्वोत्तममान डंगोलले ७ हजार ९ सय ६ मत मात्रै ल्याएका थिए।

साविक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका तर्फबाट पवित्र बज्राचार्यले ६ हजार ५० मत मात्रै ल्याएका थिए भने नयाँ जोशका साथ आएको विवेकशील नेपाल दलकी रञ्जु न्यौपाने दर्शनाले २३ हजार ४ सय ३९ लोभलाग्दो मत ल्याएकी थिइन्। स्वतन्त्र उम्मेदवार किशोर थापाले पनि १८ हजार ४ सय ९६ मत ल्याएका थिए।

ललितपुर 

०७४ को मत परिणाम हेर्दा मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै थिए। कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए भने एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ३ सय १६ मत ल्याएर झिनो मतान्तरले पराजित भएका थिए। 

माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत मात्रै ल्याउँदा स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत ल्याएका थिए। यता, साविक बाबुराम नेतृत्वको नयाँ शक्तिका मदन महर्जनले ७ सय ७९ मत मात्र पाएका थिए। 

पोखरा 

पोखरा महानगरमा गएको निर्वाचनमा एमालेबाट मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका थिए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरुङले २ हजार २ सय ७२ मत मात्रै पाएकी थिइन् भने उपेन्द्र यादव नेतृत्वको साविक संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले ३ हजार १ सय ७० मत मात्र पाएका थिए।  

वीरगञ्ज 

वीरगञ्जमा साविक संघीय समाजवादी फोरमबाट १९ हजार ३ सय ९३ मत ल्याएर विजयकुमार सरावगी विजयी भएका थिए। अहिले उनी एमाले प्रवेश गरेका छन्। उनैलाई एमालेले फेरि उम्मेदवार बनाएको छ।

उनको मुख्य प्रतिस्पर्धी कांग्रेसका अजय द्विवेदीले १९ हजार १ सय ९७ मत पाएका थिए। मेयर राजपा तेस्रो, लोकतान्त्रिक फोरम चौथो, एमाले पाँचौं र माओवादी छैटौं बनेको थियो। 

भरतपुर

भरतपुर महानगरमा माओवादीकी रेणु दाहाल ४३ हजार १ सय २७ मत ल्याएर विजयी भइन्। उनलाई कांग्रेसले समर्थन गरेको थियो। कांग्रेसको समर्थन पाउँदा समेत उनले एमालेका उम्मेदवार देवी ज्ञवालीसँग थोरै मतले जितेको थिइन्।

एमालेका ज्ञवालीले ४१ हजार ९ सय २४ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमल्सिनाले ४ हजार ४ सय ८१ मत ल्याएका थिए।  

विराटनगर

विराटनगर महानगरमा नेपाली कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए। उनका मुख्य प्रतिस्पर्धी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रह्लादप्रसाद साहले ५ हजार ५ सय २४ मत ल्याएका थिए। संघीय समाजवादी फोरमका उमेशकुमार यादव १४ हजार ९ सय ५८ मत ल्याएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.