काठमाडौं : विभिन्न बहानामा श्रमजीवी पत्रकार निष्काशन गर्ने, दबाब दिएर बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, जथाभावी सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेलगायत सञ्चार गृहहरूका गतिविधिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गरेर सोमबारदेखि विभिन्न सञ्चार गृहमा धर्नालगायत आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो।
पत्रकारहरूको छाता संगठन महासंघले आज (आइतबार) यसबारे विज्ञप्तिसमेत जारी गरेको छ। वैशाख ५ र ६ गते राजधानीको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनमा धर्ना दिने तय भएको पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए। यसैगरी वैशाख ७ र ८ गते राजधानीको सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा धर्ना दिने जानकारी पनि वरिष्ठ उपाध्यक्ष विष्टले बताए।
महासंघमा परेका श्रमसम्बन्धी करिब ५ सय मुद्दामध्ये ३ सयभन्दा बढी मुद्दा महासंघको पहलमा समाधान भएको उल्लेख गर्दै महासंघका महासचिव रोशन पुरीले कर्पोरेट मिडियाहरूले पत्रकारलाई न्यूनतम पारिश्रमिक पनि नदिएर श्रम शोषण गरिरहेको आरोप लगाए।
श्रमजीवी पत्रकारविरुद्धका यस्ता कामविरुद्ध महासंघले पटकपटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाब दिए पनि त्यसको बेवास्ता गर्दै महासंघको आग्रह र दबाबका बाबजूद केही सञ्चार गृहले समस्या समाधान गर्न बेवास्ता गरेकाले धर्नामा उत्रिनु परेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।
सञ्चार गृहले पत्रकारलाई नियुक्ति पत्र नदिने, न्यूनतम पारिश्रमिकसमेत नदिने र धेरैजसो सञ्चार गृहले पत्रकारलाई लामो समयसम्म स्ट्रिन्जरका नाममा राख्ने, प्रयोग गर्ने तर बिनाकारण हटाउने गरेको महासंघको आरोप छ। एकातिर राज्यका तर्फबाट पत्रकार महासंघकै पहलमा सहुलियतपूर्ण ऋण पनि लिने र अर्कोतिर श्रमजीवी पत्रकारको समस्या सुल्झाउन बेवास्ता गर्ने प्रवृत्तिसँग महासंघ सहमत हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।