|

हेटौंडा : भारत घर भएका ४९ वर्षीय ललनप्रसाद साह हेटौंडा बस्न थालेको ३१ वर्ष भयो। उनी ठेलामा मौसमी तरकारी तथा फलफूल बिक्री गर्छन्।

दैनिक ठेला गुडाएर जीवनयापन गर्दै आएका उनी पहिल्लो केही महिनायता अदालतको चक्कर काटिरहेका छन्। २०७४ सालमा बुबा बिरामी हुँदा ऋण लिएको ८० हजार रुपैयाँको कारण उनले पछिल्लो समय अदालत धाइरहनु परेको हो। 

घर परिवार र बालबच्चा हुर्काउन भारतमा केही काम नपाएपछि हेटौंडालाई कर्मथलो बनाएका उनका बुबा २०७४ सालमा बिरामी परे। बुबाको उपचार गर्ने पैसा नभएपछि छटपटाइरहेका उनी चिनजानका व्यक्तिमार्फत हेटौंडा–५ घर भएका दिनेश बाबा भनिने दिनेश केसीको सम्पर्कमा पुगे। 

उनीहरुको अनुसार दिनेश केसीले कुनै पनि कारोबार बैंकबाट गरेका छैनन्। उनको लेनदेन प्रक्रिया हाताहाती हुने गरेको छ। ऋण दिँदा हस्ताक्षर गर्ने सम्झौतापत्र उनले ऋणीलाई दिने गरेका छैनन्।​

जोगीको भेषमा हिँड्ने केसीले मिटर ब्याजमा ऋण लगानी गर्दै आएका थिए। बुबाको उपचार गर्ने पैसा नपाएका साहले केसीसँग दैनिक ४ सय रुपैयाँ तिर्नेगरी ८० हजार रुपैयाँ ऋण लिए। २ सय ५० दिनसम्म दैनिक ४ सय रुपैयाँ गरी एक लाख रुपैयाँ केसीलाई दिने लिखित सम्झौता गर्दै साहले पैसा लिएका थिए। ऋण लिएको भोलिपल्टदेखि नै केसी साहको ठेलामा दैनिक पैसा उठाउन आउन थाले। साहले पनि दिनभर कमाएको पैसाबाट केसीलाई ४०० रुपैयाँ बुझाउँथे। 

दैनिक पैसा बुझाउँदा एउटा डायरीमा मिति र रकम लेख्दै उनको हस्ताक्षर पनि लिने गरेका थिए। २ सय ५० दिनमा केसीलाई उनले ऋण चुक्ता गरे। तर केसीले ऋण लिँदा सम्झौता गरेको कागज पूरै रकम तिरिसक्दा पनि उनलाई दिएनन्। साहले पैसा तिरिसकेपछि सम्झौता पत्र फिर्ता गर्न भने। तर केसीले आफूले उक्त सम्झौता पत्र च्यातेर फालिसकेको भन्दै साहलाई कुनै समस्या नपर्ने आश्वासन दिए। 

२०७८ सालमा आएर केसीले आफ्नो पैसा नतिरेको भन्दै साहविरुद्ध अदालतमा मुद्दा हाले। ‘मैले प्रत्येक दिन गरेर लिएको सबै पैसा उहाँलाई तोकिएको समयभित्रै बुझाएको छु’, उनले भने, ‘तर, मैले पैसा तिरेन भन्दै उहाँले मुद्दा हाल्नु भएछ। उहाँले मलाई पैसा लिँदाको सम्झौतापत्र पनि दिनुभएको थिएन। अहिले त्यही कागज देखाएर उहाँले अदालतमा मुद्दा लडिरहनु भएको छ।’ 

साहका अनुसार अदालतले पनि केसीको पक्षमा फैसला गर्दै ६० हजार दुईसय रुपैयाँ तिर्न आदेश दिइसकेको छ। आफूले रगत पसिना चुहाएर कमाएको पैसाबाट अगाडि नै तिरिसकेको पैसा पुनः दिन नसक्ने भन्दै उनी पुनरावेदन गरेका छन्। यही वैशाख १४ गते मुद्दाको तारिख छ। साहको मुद्दा हेरिरहेका अधिवक्ता मदनकुमार दाहालले साह पीडित देखिए पनि कानुनी र प्रमाणको आधारमा दिनेश बाबा माथि रहेको बताउँछन्। ‘साहलाई नै पीडित देखेर मैले उहाँको मुद्दा निःशुल्क हेरिरहेको छु’, उनले भने, ‘तर, दिनेश बाबाले  सबै प्रमाण आफ्नो पक्षमा पारेका छन्।’ 

अधिवक्ता दाहालले शाहले केसीलाई दैनिक पैसा बुझाउँदा डायरी लेखेको विवरण र उनको हस्ताक्षरले केही राहत भने दिएको बताए। ‘उनको डायरी हेर्दा केसीले दिनँहु पैसा लगेको देखिन्छ। तर यो मात्रै प्रमाण पर्याप्त भने भएन’, उनले थपे। यो घटना साहमाथि मात्रै घटेको होइन। भारत घर भई हेटौंडामा ठेला व्यवसाय गर्न बसेका अधिकांशलाई केसीले यस्तै गरेको उनीहरूको आरोप छ। केसीबाट मिटर ब्याजमा ऋण लिएर ठगीमा परेका दुई दर्जनभन्दा बढी व्यक्तिले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी आफूहरुमाथि अन्याय भएको बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै गर्दा सन्तोषी थिङको आँखा रसाए। साहजस्तै केसीको ठगीमा परेकी उनी आत्महत्या गर्ने अवस्थामा पुगेको बताउँछिन्। २०७४ सालमा थिङ जापान जाने तयारीमा थिइन्। उनलाई पैसाको अभाव भयो। चिनेकै व्यक्तिले उनलाई केसीले मिटर ब्याजमा पैसा दिने कुरा सुनाए। उनले केसीसँग २० लाख रुपैयाँ लिइन्। 

कृष्णहरि कँडेलको ल फर्ममा उनलाई साक्षी राखेर कानुनी रूपमा सम्झौता गर्दै उनले केसीसँग ऋण लिएकी थिइन्। थिङले केसीसँग २० लाख रुपैयाँ मात्रै ऋण लिएको भए पनि सम्झौतापत्रमा भने ३० लाख रुपैयाँ उल्लेख गरिएको थियो। आफूले लिएको भन्दा १० लाख रुपैयाँ किन उल्लेख गरेको भनेर उनले सोध्दा केसीले आफ्नो कागजी ‘फर्म्याट’ मात्रै त्यस्तो भएको भन्दै समस्या नपर्ने विश्वास दिलाए। 

‘मलाई २० लाख रुपैयाँ दिएर ३० लाखको सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनले आफ्नो कागज मात्रै यस्तो भएको भने’, उनले भनिन्, ‘मलाई २० लाख रुपैयाँ भन्दा बढी तिर्नु नपर्ने आश्वासन दिएका थिए। तर,अहिले ३० लाख रुपैयाँ दिनुपर्ने भन्दै अदालतमा मुद्दा हालेका छन्।’ केसीले अहिले दिनहुँ आफूलाई मानसिक तनाव दिने गरेको उनको भनाइ छ । घर बेचेर पैसा तिर्न खोज्दा पनि बिक्री गर्न नदिएको गुनासो गरिन्। यही कारण श्रीमानसँगको सम्बन्ध पनि बिग्रिएको उनले बताइन्।
  
अनोज परियारले पनि केसीसँग दैनिक दुई हजार रुपैयाँ दिनेगरी पाँच लाख रुपैयाँ  ऋण लिएका थिए। उनले ऋण लिएको ८ दिनमा नै पाँँच लाख १६ हजार रुपैयाँ बुझाए। आफ्नो पसलमा दिनहुँ जोगीको भेषमा आएर परिवारको सदस्य जस्तै गरी बस्ने केसीसँग ऋण लिँदा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। पाँच लाख रुपैयाँ ऋण दिएर १० लाख रुपैयाँको सम्झौतापत्रमा हस्ताक्षर गराएको उनको दाबी छ। 

सम्झौतापत्रले पछि समस्या नपर्ने र आफूलाई पाँच लाख मात्रै दिए हुने भन्दै हस्ताक्षर गरेका केसीले परियारसँग नक्सा बनाइदिन्छु भन्दै जग्गाको लालपुर्जा पनि लगे। लालपुर्जा फिर्ता गर्नुको साटो उनले जग्गा नै हत्याउने प्रयास गरेको परियारको आरोप छ। ऋण लिएको ८ दिनमा नै फिर्ता गरे पनि पैसा नदिएको भन्दै सम्झौतापत्रलाई प्रमाण बनाएर दिनेश बाबाले परियारसँग १० लाख माग  गर्दै अदालतमा मुद्दा हालेका छन्।

‘मैले उहाँलाई बुवा मानेको थिएँ। उहाँले पनि मलाई छोरा भन्नुहुन्थ्यो। मैले सम्झौतापत्र फिर्ता माग्दा उहाँले मैले च्यातिसकेँ भन्नुभएको थियो तर, अहिले पैसा तिरेन भन्दै लिएको भन्दा धेरै माग दाबी गरेर मुद्दा हाल्नु भएछ’, उनले भने।  

कसरी चल्छ दिनेश बाबाको मिटर ब्याज धन्दा ?

हेटौंडा–५ घर भएका दिनेश बाबा भनेर चिनिने दिनेश केसी आफूलाई धार्मिक व्यक्तिको रूपमा चिनाउँछन्। प्रायः जोगीको पहिरनमा हिँड्ने उनले गरिब, मर्कामा परेका, अशिक्षित र  भारत तथा तराईबाट आई ठेलामा व्यापार गर्नेहरूलाई निशानामा पार्ने गरेका छन्। समस्यामा परेकाहरूको विश्वास जितेर उनले ऋण दिएभन्दा बढी पैसा लिएको प्रमाणित हुनेगरी कानुनी कागजमा नै हस्ताक्षर लिने गरेको पाइएको छ। 

कागजमा जति उल्लेख गरेको भए पनि आफूले दिएजति मात्रै फिर्ता गरे हुने भन्दै उनले हस्ताक्षर लिने गरेको पीडितको आरोप छ। उनीहरुको अनुसार केसीले कुनै पनि कारोवार बैंकबाट गरेका छैनन्। उनको लेनदेन प्रक्रिया हाताहाती हुने गरेको छ। ऋण दिँदा हस्ताक्षर गर्ने सम्झौतापत्र उनले ऋणीलाई दिने गरेका छैनन्। आफूले दिएको पैसा फिर्ता पाइसकेपछि उनले सम्झौतापत्र च्यातिसकेको र कुनै समस्या नहुने भन्दै पैसा लिनेहरूलाई आश्वासन दिने गरेका छन्। पछि सोही सम्झौतापत्रको आधारमा कानुनमा टेकेर अदालतमा मुद्दा हाल्ने उनको धन्दा नै रहेको छ। 

आफूसँग प्रमाण भएको र कानुनी रूपमा माथि भएको भन्दै धम्की दिने गरेका उनले आफ्नो कर्तुत स्वीकार गरेको अडियो रेकर्ड भए पनि अदालतले लिखित प्रमाणलाई मात्रै आधार मान्दा आफूहरू समस्यामा परेको पीडितको गुनासो छ। 

झुटो आरोप लगाइयो : दिनेश केसी

दिनेश केसी उर्फ दिनेश बाबा भने यो आरोप मान्न तयार छैनन्। पैसा लिएर नतिर्ने बहानामा आफूलाई झुटो आरोप लगाइएको उनको दाबी छ । ‘म धार्मिक मान्छे हुँ’, उनले भने, ‘पैसा लिएर नतिर्नेहरूले झुटो आरोप लगाएका हुन्।’ उनले आफूले दैनिक रूपमा नभई मासिक रूपमा पैसा संकलन गर्ने गरेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.